नयाँ शक्तिका ३० हजार कार्यकर्ता लिएर निर्मल भट्टराई एमालेमा फर्कँदै

374

काठमाडौं । नेकपा एमाले छाडेर माओवादी हुँदै नयाँ शक्तिमा गएका निर्मल भट्टराई समूह एमालेमै फर्कन वार्ता समिति गठन भएको छ । नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराईसँग विमति जनाउँदै अलग भएको भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले एमालेसँग पार्टी एकताका वार्ता समिति बनाएको हो ।

आइतबार बिहान बसेको पार्टीको सचिवालय बैठकले निर्मल भट्टराईको नेतृत्वमा नौ सदस्यीय वार्ता समिति बनाएको हो । समितिमा हरिराम रिमाल, मुनिन्द्र बस्नेत, चन्द्रदेव ओझा , अशोकराज ढुंगेल, कृष्ण भट्टराई, रामराज मगराती, माधव घिमिरे, सुरजध्वज थापा छन् । वार्ता समितिलाई नीति, सिद्धान्त मिल्ने राष्ट्रिय पार्टीसँग छलफल गरेर समायोजन, कार्यगत गर्ने जिम्मा दिइएको छ ।

पार्टी एकताबारे प्रमुख निर्मल भट्टराईले जनता समाचारसँग भन्नुभयो, ‘पार्टी एकताबारे  एमालेसँग कुरा धेरै अघि बढेको छ, स्थानीय तहको निर्वाचनअघि नै पार्टी एकता गर्ने गरी छलफल भइरहेको छ ।’
बाबुराम भट्टराईसँग विमति जनाउने तीस हजार भन्दा बढी सदस्य लिएर एमालेमा एकता गर्ने उहाँले बताउनु भयो । यसका लागि पार्टीका सबै संरचना त्यही रुपमा अघि बढेको भट्टराईले बताउनु भयो ।