प्रतियोगितामा प्रथम भएको भन्दापनि दोश्रो भएकोमा खुशी छन युवा गायक सिडि बिजय अधिकारी

439

ए अजय भाइ, मेरो आज लघुकथा सङ्ग्रहको बिमोचन कार्यक्रम छ , यसो आएर गित गाइदेउ न ” – अजय अधिकारी ले आफू पढि रहेको ज्ञानज्योती बोर्डिङ्ग को बार्षिक कार्यक्रम मा मिठो गित प्रस्तुत गरेर सबै लाइ नचाएको मैले देखेको थिएँ । उनी मेरा फूटबल खेलका चेला र टिमको सदस्य पनि भएको हुँदा हक देखाउँदै मैले भनेँ ।
“म त त्यस्तो के गाउँथे र दाइ ? बरु काठमाडौ बाट बिजय दाजु आउनु भएको छ उहाँले गाइहाल्नु हुन्छ नि” भन्दै नजिक उभिएका आफ्ना दाइ सँग परिचय गराए उनले ।
‘ल जसै आउनु है भाइहरू, मलाई अलि हतार छ, उताको चाँजो पाँजो मिलाउनु छ, अझै अतिथिहरू आइपुगेका छैन ‘भन्दै म गाबिस भवन तिर लागेँ ।

२०६९ बैशाख १ गते लाहाचोक साहित्य सदनको आयोजनामा मेरो दोश्रो कृति ” मेरा केही लघुकथाहरू ” प्रमुख अतिथीको रुपमा पोख्रेली लघुकथाकार राम बहादुर बानिया ज्यु को हात बाट बिमोचन गरियो। यसै बिच सिडि बिजय भाइ ले आफ्ना केही गितहरू प्रस्तुत गरेर कार्यक्रमलाई रोचक बनाइदिए। मैले उनि र उनको आवाजको साक्षात्कार त्यति बेला नै गरेको हूँ ।

त्यसो त सिडि बिजय अधिकारी का अग्रजहरू बारे म बेखबर थिइन । उनका हजुर बाबा आफ्नो पालामा मीठो स्वर लयमा गित, कबिताहरू मै सवालको जवाफ दिनु हुन्थ्यो रे। उनका एउटा काका श्रीराम अधिकारी दोहोरी र भजन गायक को रुपमा परिचित हुनुहुन्छ भने ठूलो बाबा नारायण अधिकारी ले आफ्नो मिठासिलो स्वरले कुनै बेला हामीलाइ लट्ठ पार्नु भएका ती दिनहरू अझै स्मरण मा ताजै छन ।
पारिबारिक माहोल गायन तर्फ भएर होला उनी सानै देखि गित गाउँथे । उनी जहाँ जहाँ पढे, आफ्नो गायीकी को कला ले सबैको मन जिते । लाहाचोकको ज्ञान ज्योती देखि पोखरा को मदर ल्यान्ड स्कुल सम्म बाल गायक को रुप मा चिनिएपनी पृथ्वीनारायण क्याम्पस सम्म आइपुग्दा परिपक्व गायक बनी सकेका थिए । यो बिच उनले थुप्रै प्रतियोगिता मा प्रथम स्थान हासिल गरेर चर्चा बटुल्न सफल भएका थिए ।

उनको उद्देश्य त्यति मै सिमित थिएन । उनी कुनै ठूलो प्रतियोगिता जितेर आफूलाई साङ्गितिक क्षेत्रमा दर्‍याउन चाहान्थे। त्यही बेला नेपाल टेलिभिजन को दोश्रो च्यानल बाट ‘खोजी प्रतिभाको’ भाग दुईमा उनी सहभागी भए। उनको गायीकीको कलालाई निर्णायकहरूले मन पराउँदै गए। उनी टप चार भित्र पर्न सफल भए। फाइनल हुने दिन थियो । हामी गाउँबासी र उनका शुभ चिन्तकहरू सबै उनी प्रथम भएको हेर्न चाहान्थ्यौं । यसै बिच वरिष्ठ सङ्गीतकार सुरेश अधिकारीले उनलाइ दोश्रो भएको घोषणा गरे। उनी भोटिङ्गमा पछाडी परेका थिए। हामीले चाहेको ,रोजेको, मीठो मौलिक स्वर भन्दै प्रथम भएका गायकलाई सम्मान गरे । बिजय ले आफ्ना सिनियरहरू को उद्घोषणलाई सहर्ष स्विकार गरे तर कता कता उनको मन मानिरहेको थिएन , उनको भित्री मन ले भनिरहेको थियो -‘ के म मौलिक आवाज को धनी थिइन र ? ‘

उनलाइ यो कुरा भित्री मन मा गढी नै रह्यो । त्यो बिच उनी गायन कै शिलशिलामा दुबई बसे । त्यहाँ बस्दा गायन क्षेत्र मै लागेकी मनिशा राई सँग चीनजान भयो। चिनजान मात्र भएन माया प्रेम बस्यो। उनिहरू बैवाहिक जीवनमा बाँधिए अनि दुबैले आफ्नो साङ्गितिक अभियानलाई अगाडि बढाए। उनले आफ्नै म्युजिक कम्पनी खोलेका छन ।। हाल सम्म उनले एक सय पचास जति गित गाइसकेका छन भने पचास भन्दा बढी गितहरूमा सङ्गीत दिइसकेका छन । आधुनिक गित गाउन रुचाउने उनी युवापुस्ताका रोजाइमा अग्रपंक्तिमा गनिन्छन ।
उनले यहाँ सम्म आउन आफ्ना परिवारजनहरू अनि शुभचिन्तकहरू को हात रहेको बताउन कन्जुस्याइँ गर्दैनन ।
लाहाचोक स्थायी घर भइ काठमाडौ लाई कर्म स्थलो बनाएका उनी भन्छन -सायद पहिलो भएको भए पहिलो मै सिमित भएर बस्थें होला ,दोश्रो भएको हुनाले मैले आफुलाइ साङ्गितिक क्षेत्रमा केही गर्छु भन्ने ईर्ष्या जाग्यो।

आज उनको बजार राम्रो बनेको छ ,स्टेज मा पनि राम्रो माग बढिरहेको छ, उनी उचाई मा पुग्दै गरेको भए तापनी उनी आफ्ना ठूलो बाबाले रचेको एउटा गित गाउँदै भन्छन ” सगरमाथा शिखरमा पुग्नु पर्ने छ ,भर्खरै फेदिमा पुगेका छौँ ।” —