माटो सुहाउँदो योजना बनाउँछु , जुन भुगोल र जनचाहना मुताविक हुनेछ

1117

तपाइँ आफूलाई कसरी चिनाउनुहुन्छ ?
म आफूलाई राप्रपाको योग्य र असल सिपाहीको रुपमा चिनाउन चाहन्छु ।
राप्रपाको तपाइँको जिम्मेवारी के हो ?
हाम्रो हालै भएको पार्टीको ऐतिहासिक एकता महाधिवेशनपछि राप्रपा भक्तपुरको जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारीमा छु ।
एकता महाधिवेशपछि नै स्थानीय तहको निर्वाचन मिति तोकिएको छ, यसको तयारी जोडतोडले भइरहेको छ । यो परिवेशमा चुनावले तपाइँलाई कतिको छोएको छ ?,
बैशाख ३१ लाई मिसनको रुपमा लिएर जाने र त्यसलाई भिजन दिने अनि भिजनसहितको मिसान बनाउने गरी पार्टी लागिसकेको छ । यसका लागि पार्टी कार्यकर्तादेखि शुभचिन्तकहरुको भेला भइरहेको छ ।

बैशाख ३१को स्थानीय तहको चुनावको खास तयारी के गर्नुभएको छ ?
खासमा हामीले बैशाख ३१ गतेको चुनावलाई सफल बनाउन र आफ्नो पक्षमा पार्नका लागि हामीले विभिन्न चरणमा विभाजन गरेर त्यसअनुसारको कार्ययोजना बनाएका छौं । अहिले हामीले चोता, कोठा बैठक गरिरहेका छौं । त्यो चरण स्िकन लागेको छ । त्यसपछि भने हामी भक्तपुरका दुइवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अध्यक्षसहितको टोलीले आआफ्नो क्षेत्रमा सबै नपाको वडा, टोल र बस्तीबस्तीमा पुगेर बैठक राखेर जनता के चाहन्छन् भन्ने कुराको सर्वेक्षण गर्ने योजनामा छौं ।
सर्वेक्षण भनेको के हो ?
आफ्नो पार्टीको स्थिति के छ ?, जनताको चाहना के छ, कार्यकर्ताको मनोबल के छ, चुनाव लड्ने तौरतरिकामा जनताबाटै केही सिक्नपर्ने छ कि भन्ने कुराको खोजी गरी अध्ययन गर्छौं ।
त्यसपछिको तपाइँहरुको कार्यक्रम के हुन्छ ?
त्यसपछि हामी प्रचारात्मक कार्यक्रम अघि लिएर जान्छौं, प्रचारात्मक कार्यक्रमको क्रममा यसपालि हामी चुनाव लड्नका लागि जनताकोमा पुग्ने तरिका अलि फरक बनाएका छौं । पहिला आमी जनताकोमा पुगेर आश्वासन दिन्थ्यौं, हामी यसो गर्छौ, उसो गर्छौ भनेर भन्थ्यौं, अथवा हाम्रा राष्ट्रिय एजेण्डाहरु, भौगोलिक एजेण्डाहरु राख्थ्यौं तर यसपालि हामी फरक तरिका अपनाउँछौं ।
यसपालि पार्टीको अध्यक्ष कमल थापाले नै कार्यकर्ताहरु जनताकोमा जाँदा पहिला जनताहरुको चाहना बुझ्ने, समस्या बुझ्ने, त्यसलाई कार्यकर्ताले आफ्नो नोटबुकमा लिपिवद्द गर्ने, त्यसलाई जिल्लामा एककृत गर्ने, अद्यावधिक गरेर प्राथमिकताको आधारमा चुनाव जितेपनि, हारे पनि त्यो कामलाई निरन्तरता दिने, हिसाबबाट हामी चुनावी मैदानमा होमिदैछौं ।
भनेपछि चुनावको पूर्वतयारी अन्तर्गत तपाँइहरु जनताको अपेक्षासम्बन्धमा मत सर्वेक्षण गर्नुहुन्छ ?
जनधारणासँगसँगै पार्टी कार्यकर्ताको मनोबल, २० वर्षपछि हुन लागेको चुनाव हो, अधिकांश हुनेवाला उम्मेदवारहरुसँग अनुभव छैन, त्यसकारण जनताबाटै पो केही सिक्नुपर्ने छ कि ? त्यो कुरा पनि हामी सिक्छौं ।

त्यसले के फाइदा हुन्छ त?
त्यसले वास्तवमा हाम्रो वास्तविक अवस्था के छ ? भन्ने थाहा हुन्छ, हामीलाई तथ्यगत जानकारी हुन्छ र त्यही आधारमा जनताको समस्या समाधान गर्नका लागि नीति, कार्यक्रम बनाउन हामीलाई सहज हुन्छ ।

स्थानीय निर्वाचनलाई तपाइँ एक राजनीतिकर्मी भएको हिसाबबाट कसरी लिनुभएको छ ?
यसमा दलीय रुपमा आवद्ध व्यक्तिहरुको आआफ्नै चाहना हुन सक्छ तर राप्रपाको चाहना के छ भने चाहे जोसुकैले जितोस् वा हारोस्, मुलुकको लागि स्थानीय चुनाव अत्यावश्यक भैसक्यो । यसले गर्दा यो चुनावलाई जसरी भए पनि सफल बनाउनुपर्छ भन्नेमा हामी छौं । भक्तपुरको हकमा पनि सिंगो भक्तपुरवासीको चाहना पनि चुनावै छ ।

समग्र भक्तपुरमा राप्रपाको अवस्था कस्तो छ त ?
हिजो हामी दुईवटा, तीनवटा पार्टीमा विभाजित थियौं, अहिले हामीले सम्पन्न गरेको एकता महाधिवेशनबाट हामी वैचारिक रुपले पनि, सांगठनिक रुपले पनि एकठाउँमा आइसकेका छौं । अर्को, हाम्रो विगतको अवस्था पनि भक्तपुर जिल्लामा राम्रो थियो । त्यो साखलाई कायम राखेर, अभिवृद्धि गरेर राप्रपाको पक्षमा राम्रो परिणाम निकाल्न लागि परेका छौं । हामी यो कुरामा ढुक्क छौं कि हामी भक्तपुरमा केही न केही ठोस परिणाम निकाल्न आतुर छौं ।

तपाइँले देख्नुभएको सम्भाव्यतालाई अझ प्रष्ट पारिदिनुस् न ?
पछिल्लो मतपरिणाम भनेको २०७० सालमा भएको संविधानसभाको चुनावको परिणाम नै हो । त्यो बेला हामी अलगअलग पार्टी भएर लडेका थियौं, त्यसरी लड्दा पनि चाँगुनारायण नपाको हाम्रो अवस्था राम्रो थियो । अझ महाधिवेशनको स्पिरिटले कार्यकर्ताको मनोबल उच्च भएको छ । यो विगत १२÷१३ वर्षपछि कार्यकर्तामा जुन नैराश्यता थियो, पार्टी फुटिरहने कारणले कार्यकर्तामा जुन अल्छीपना थियो, अहिले त्यसको ठीक विपरीत एकताअधिवेशनले कार्यकर्ताहरुमा छुट्टै उर्जा दिएको छ । अन्य दलहरुले पनि हामीप्रति गरेको विधिव्यवहार छ, त्यसको प्रतिशोध लिनुपर्छ भन्ने ढंगले कार्यकर्ता उत्साहित भएको हामीले पाएका छौं । त्यसकारण यी तीनचारवटा ज्यादै राम्रा लक्षणका कारण हामी परिणाम निकाल्न सक्छौं भन्नेमा ढुक्क छौं ।

त्यो परिणामको लागि तपाइँहरुको चुनावी रणनीति के हुन्छ ?
पहिला हामी राष्ट्रिय एजेण्डालाई जनतामा लैजाने, त्यसपछि जनचाहना मुताविक आफ्नो भूगोल र माटो सुहाउँदो योजना बनाउने नीति बनाएका छौं । जसअन्तर्गत जनताका समस्यालाई दुई भागमा वर्गीकरण गरेका छौं । एउटा, अल्पकालीन र अर्को दीर्घकालीन । अल्पकालीन समस्यालाई हामी तुरुन्तै सम्बोधन गर्दैछौं भने दीर्घकालीन समस्याहरु जस्तै, रोजगारको कुरा, विदेश पलायन भएका युवाहरुको सम्ब्न्धमा, महिलाहरुका समस्याका कुरा, यहाँ रहेका दलित, उत्पीडित, अल्पसंख्यकहरुको कुरा, त्यसपछि नितान्त भूगोलका समस्याहरुअन्तर्गत, खानेपानी, बाटोघाटो, बिजुलीलगायतका कुरालाई हामीले स्पष्ट योजना बनाएर समाधान गर्ने नीति अवलम्बन गर्ने कुराको विश्वस्तता दिलाउँछौं ।

तपाइँ त निर्वाचनको अनुभवी व्यक्ति, यस हिसाबले आसन्न स्थानीय तहको चुनावमा तपाइँको उम्मेदवारी के हुन्छ ?
मैले चाँगुनारायण नपामा प्रतिनिधित्व गर्छु, यो नपामा थुप्रै प्रत्यासी र आकांक्षी युवाहरुको संख्या ठूलो छ । जस्तो रवीन्द्रप्रताप शाह, धनबहादुर लामा, मुकुन्द कार्की र म आफैं पनि । पार्टीले विवेकसम्वत र उपयुक्त निर्णय गर्छ, त्यो निर्णयलाई हामी अक्षरश पालना गरेर, एकतावद्द भएर दृढ आत्मविश्वासका साथ चुनाव लड्छौं र पार्टीले मेरो पक्षमा टिकट दिए पनि नदिए पनि हामी एक भएर चुनाव लड्छौं । र, यो पटक हाम्रो लक्ष्य भनेको परिणाम नै हो ।

राप्रपालाई त जनमानसले यो राजावादी, हिन्दूधर्मको मात्र वकालत गर्ने पार्टी, बुढाखाडाहरुका मात्र पार्टी भनेर भन्छन्, त्यो त तपाइँहरुको लागि ठूलो चुनौतिको विषय भयो नि हैन ?
हाम्रो पार्टीमा अहिले उम्ेदवारको आकाक्षी र प्रत्यासी सबै चालिस वरिपरिका छन् । जस्तै म आफै ४०÷४१ को छु, रवीन्द्रजी ३७, धनबहादुरजी ३८को हुनुहुन्छ । हामी सबै युवैयुवा छौं, त्यसकारण अहिलेको राप्रपा बुढाखाडाहरुको पार्टी होइन, सबै उमेर समूहको पार्टी हो । यसमा युवा, महिला, विद्यार्थी छन्, वयस्क पनि छन्, सबै छन् ।
जहाँसम्म तपाइँले उठाउनुभएको सनातन हिन्दू राष्ट्रको कुरा, राजासहितको प्रजातन्त्रको कुरा, सदृढ स्थानीय शासनको कुरा छ । त्यस सन्दर्भमा, अहिले चुनावपछि जुन स्थानीय सरकार बन्दैछ, त्यो हाम्रो पार्टीको आफ्नै एजेण्डा हो ।
कसरी राप्रपाको एजेण्डा भयो त्यो ?
हामीले २०६२÷६३को आन्दोलनपछि पार्टीको तीनवटा माग थियो, मुलुक एउटा मार्गचित्रमा हिँडेको थियो, त्यो मुलुकले गणतन्त्र, संघीयता र धर्म निरपेक्षतालाई अँगालेको थियो, तर एउटा मात्र त्यस्तो पार्टी थियो, जसले गणतन्त्रको विरुद्धमा राजासहितको प्रजातन्त्र, धर्म निरपेक्षताको विरुद्धमा सर्वधर्म समभावपूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातत हिन्दू राष्ट्र नेपाल र संघीयताको विरुद्धमा संघीयता होइन, संघीयताले मुलुकलाई धान्न सक्तैन, तर त्यसको बदलामा विकेन्द्रीकरणको सिद्धान्तलाई अवलम्बन गर्दै, सिँहदरबारमा केन्द्रीत रहेको अधिकारलाई गाउँ र वडा तहसम्म विकेन्द्रीत गरेर सुदृढ स्थानीय शासन सहितको व्यवस्था हुनुपर्छ भनेर १० वर्ष सडकबाट आवाज बुलन्द गर्यौं । त्यसअन्तर्गतको एउटा मुद्धा अहिले हुन लागेको चुनाव हो । यो हाम्रो एजेण्डा हो, त्यसकारण पनि अहिलेको चुनावलाई हाम्रो भावनात्मक समर्थन छ । हामीले खोजेको सरकारको चुनाव बैशाखमा हुँदैछ । त्यसकारण राजनीतिक सवालको सन्दर्भमा जनतामा जुन भ्रम पार्न खोजेको छ भने त्यो भ्रमलाई चिर्ने गरी हामी चुनावमा जान्छौं ।

राप्रपालाई मतदाताले भोट किन दिने ?
म्तदाताले के बुझ्नुपर्छ भने, २०६२÷६३को आन्दोलनपछि दुईपटक चुनाव भयो, त्यो चुनावमा जनताले अन्य ठूला पार्टीलाई मत दिए, त्यो मतलाई लिएर ठूला पार्टीले के गरे ? त्यो कुरा हामी जनतालाई बुझाउँछौं । ९४ प्रतिशत ओमकार परिवारको मत लिएर गएर धर्म निरपेक्षत बनाइदिए । जनताको भावना र चाहनाविपरीत मुलुकलाई संघीयतामा लगिदिए र संघीयतामा लग्नुभन्दा अघि एकपटक जनमत संग्रह गर्नुपर्छ भन्ने पनि बुझेनन्। त्यसपछि फेरि सदियौंदेखि एकताको केन्द्रबिन्दू भएर बसेको राजसंस्थालाई पाखा लगाइदिए। त्यसलाई एकपटक जनमत संग्रह गर्नुपर्छ भन्ने पनि ठानेन । जसको कारण मुलुक यो गतिमा गयो । मुलुक सुगौली सन्धीको बेलामा जसरी त्राहीमाम अवस्थामा थियो, अहिलेको अवस्था त्यस्तै देखिन्छ, हामीले हाम्रो प्रधानमन्त्री हामी आफै बनाउन नसक्ने अवस्थामा छौं । हामी हाम्रो सेनाको प्रमुख हामी आफै बनाउन सक्तैनौं । हुँदाहुँदा माइक्रोम्यानेज्मेन्ट यति बढेर गइसकेको छ, विदेशी हस्तक्षेप यति बढेर गइसकेको छ, हामी कुनै पनि निर्णय हामी आपै गर्न सक्ने अवस्थामा छैनौं । त्यसकारण यसको विकल्पको रुपमा अभिमत दिनुपर्छ, त्यसको विकल्प भनेको यो यो हो भनेर विगत दश वर्षदेखि संघर्ष गर्दै रहेको पार्टी भनेको राप्रपा हो । यी यावत कुराहरुलाई बुझाएर हामी अझै पनि ठूला दलहरुलाई भोट दिए फेरि पनि ठूलो धोका हुन्छ, त्यसकारण पूनर्विचार गर्नुस् र तपाइँको चाहनाविपरीत मत लिएर गएर तपाइँहरुलाई धोका दिने दलहरुलाई प्रतिशोध लिनका लागि राप्रपा र राप्रपाको गाई चिह्नमा मतदान गर्नुस् भनेर अनुरोध गर्छौं । साथै, हामीले जनताको विकासको चाहना, आर्थिक समृद्धिको चाहनाालाई पनि हामीले बुझेका छौं । त्यसलाई कसरी पूरा गर्ने भन्ने हामीसँग स्पष्ट खाका छ ।
वास्तवमा जनता नेता, नेताको भाषण भन्दा पनि विकास चाहिरहेका छन्, मतदाताहरु साना दलले नभएसर ठूला दलले विकास गरिदिन्छन् भन्छन् नि ?
जनताको जुन बुझाइ छ, त्यो चिर्न चाहन्छौं हामी । ठूला दलले जनताको अपेक्षा बुझेको भए, विकास गरिदिएको भए, राम्रो गरेको भए, हाम्रो उपादेयता नै रहने थिएन । जनताले त्यसरी मत प्रकट गरिसकेको हो । तर जनताको चाहना त ठूला दलबाट हुन सकेको छैन । प्रत्येक १० वर्षमा राज्यसत्ता सञ्चालन गर्ने शक्ति परिवर्तन भएको अवस्थामा अबको परिवर्तनको नेतृत्व राप्रपाले गर्छ ।

मतदातासम्म पुग्नका लागि तपाइँका स्थानीय मुद्धा के छन् ?
भक्तपुरको सन्दर्भमा राप्रपा कलासंस्कृतिको संरक्षण गर्ने पार्टी भएकोले हामीले यहाँको कला संस्कृतिलाई जीवन्त बनाउने मुद्धा हामीसँग छ, यसलाई हामीले संवद्र्धनवाद भनेका छौं । यो कुरा हामी जनतालाई बुझाउँछौं । अर्को, हामीले जनताको विकास र आर्थिक समृद्धिको चाहनालाई परिपूर्ति गर्ने गरी योजना बनाउँछौं । जनताको, भौगोलिक स्थितिको चाहना अनुसार समस्या समाधानतर्फ हामी लाग्छौं ।
भक्तपुरको विकासको लागि भक्तपुरलाई स्मार्ट सिटी बनाउने, स्याटालाइट सिटी बनाउने, युवा बेरोजगार हटाउने कुरा, सीप र रोजगार विकास गर्ने मुद्धा, महिला हिंसा न्यूनीकरणका कुरा, शान्ति सुव्यवस्थाका कुरालाई हामी घोषणापत्रैबाट क्यालेण्डर बनाएर समस्या समाधान गर्छौं ।

यो चुनावमा दलभन्दा व्यक्ति हेरिने आंकलन पनि गरिएको छ, मतदाता पनि त्यही भनिरहेका छन्, यो परिवेशमा कस्ता व्यक्तिलाई मतदाताले रुचाउँछ भन्ने तपाँइको आंकलन छ ?
एकदमै ठीक भन्नुभयो, यो स्थानीय तहको चुनावमा दलभन्दा व्यक्ति हेरिन्छ नै । आफूलाई शासन गर्ने, आफ्नो नेता पनि आफ्नै ठाउँको होस्. भन्ने मतदाताको चाहना हुन्छ । त्यसले मत संकेतमा प्रभाव पार्छ । यसअर्थमा म खुसी छु । जहाँ मतदाताहरु बढी छन्, त्यही ठाउँको प्रतिनीधित्व म गरिरहेको छु । त्यसहिसाबले जनताको चाहना पूर्ति गर्न मैले लामो समयदेखि जनताको घरआँगनमा, समस्या समाधानमा म घूलमिल छु । यसमानेमा मलाई अरुलाईभन्दा अलि सुविधा छ । जनताको अपेक्षामुताविकको नेता बन्ने कुराका सन्दर्भमा जनतालाई हानी पुग्ने काम हाम्रा कुनै पनि नेता कार्यकर्ताबाट भएको छैन । जनताले मत हाल्दै गर्दा हाम्रो नाम पनि त्यहाँ उल्लेख हुँदा उहाँहरुलाई मत हाल्न कुनै दुविधा हुनेछैन ।

आसन्न चुनावका लागि मतदातासँग तपाइँको आग्रह के छ ?
सबैभन्दा ठूलो दान जलदान, त्योभन्दा नि ठूलो दान मतदान हो । त्यसकारण तपाइँले मतदान गर्दा, सोच, विवेक पुर्याएर, राप्रपा पनि एउटा राष्ट्रवादी पार्टी हो, योसँग पनि मुलुक र समाज निर्माण गर्ने भिजन छ, त्यो भिजन प्रयोग गर्न उनीहरु पनि इमान्दारिपूर्वक संघर्षरत छन् । एकचोटि मौका दिएर आजभन्दा अगाडि आफ्नो मत लिएर गएर दुरुपयोग गर्ने शक्तिहरुलाई सदाको लागि सचेत र खबरदारी गर्नको लागि पनि राप्रपालाई र राप्रपाको गाई चिह्नमा मतदान गरिदिनुहुन अनुरोध छ ।