वरीयता विवाद अनावश्यक : उपप्रधानमन्त्री थापा

377

उप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले उपप्रधानमन्त्रीको वरीयता विवाद‘अनावश्यक’भएको टिप्पणी गरेका छन् । प्रस्ट नभने पनि वरीयताको क्रममा आफू ‘सिनियर’भएको उनको आशय थियो । उनले वरीयताको क्रममा विवाद नभएको दाबी गरे ।

शनिबार लमजुङ सदरमुकाम बेंसीसहरमा पत्रकारसंग कुरा गर्दै उनले भने,‘वरीयताको क्रममा केही विवाद छैन । यो अनावश्यक कुरा हो ।’पत्रकारहरुले राखेको जिज्ञासामा गृहमन्त्री सरकारबाट बाहिरने कुरा जानकारी नभएको उनले बताए । गृहमन्त्री बाहिरिने हल्लाले सरकार ढल्ने कुरा पनि छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘थाहा छैन, जानकारी भएन ।’

उनले वैशाख ३१ गतै नै स्थानीय तहको चुनाव हुने र यसमा आशंका र द्विविधा नभएको बताए । ‘आशंका व्यक्त गर्दा चुनावको वातावरण धमिलिन सक्छ’उनले भने, ‘निर्वाचन आयोगले युद्धस्तरमा चुनावको तयारी गरिरहेको छ, सरकारले सहयोग गरिरहेको छ ।’ २० वर्षमा हुन लागेको चुनावमा भाग लिन राजनीतिक दल क्रियाशील रहेको र जनता चुनावको प्रतीक्षामा रहेको उनले बताए । ‘परिस्थितिलाई दृष्टिगत गरेर निर्वाचन अयोगले २ वा ३ चरणमा चुनाव गर्न सक्छ । कहीं दोहोर्‍याएर वा कहीं पछि गर्न पनि सक्छ, त्यो निर्वाचन आयोगले निर्धारण गर्ने कुरा हो ।’

शनिबार नै उनले स्थानीय तहमा कार्यरत कर्मचारी तथा जिल्लाका सरकारी कार्यालय प्रमुखलाई सम्बोधन गर्दै वैशाख ३१ गतेको स्थानीय चुनावलाई सहयोग गर्न निर्देशन दिए । उनले जिल्लामा सञ्चालन भइरहेका विकास आयोजनाबारेको कार्यप्रगति समीक्षा गर्न र जिल्लामा भइरहेको चुनावको तयारीका बारेमा जानकारी लिने उद्देश्यले राखिएको कार्यक्रममा उपस्थित भएको बताएका थिए ।

जनताको शासन जनता आफैंले गर्ने, आफ्नो गाउँठाउँको विकास आफैंले गर्ने र आफ्नो भाग्यको फैसला आफैंले गर्ने मान्यताअनुसार स्थानीय तहको अवधारणा आएको भन्दै उनले सुरुका दिनमा स्थानीय तहको कार्यान्वयनको क्रममा केही अन्योलता, अस्पष्टता र विरोधाभाष हुने गरेको बताए । उप्रधानमन्त्री थापा मर्स्याङ्दी गाउँपालिका २, घनपोखरास्थित त्रिभुवन माविको स्वर्णजयन्तीको उद्घाटनका लागि शनिबार लमजुङ आएका हुन् ।