बिजुली चोर्ने तीन सयजनामाथि कारबाही

326

नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले चालू आर्थिक वर्षमा चुहावट नियन्त्रण र कारबाहीमा उल्लेख्य सफलता हासिल गरेको छ ।

गत साउनदेखि चैत दोस्रो हप्तासम्म विद्युत् चुहावट गर्ने करिब तीन सयजनालाई कारवाही गरी क्षतिपूर्ति तथा जरिबाना वापत करिब ३९ लाख असुल उपर गरेको छ ।

चुहावट नियन्त्रण तथा कारबाही प्रक्रियालाई नियमितरुपमा सञ्चालन गरेका कारण यो सफलता हासिल भएको नेपालगन्ज वितरण केन्द्रका प्रमुख उमेशकुमार झाले जानकारी दिए ।

चुहावट नियन्त्रणसँगै ठूलोमात्रामा विद्युत् युनिट रिकभर भएको छ । जसका कारण गतवर्षको तुलनामा नेपालगन्जमा यो वर्ष लोडसेडिङ गर्न नपरेको झाको दाबी छ ।

गतवर्ष यतिबेला दैनिक ४ घण्टा लोडसेडिङ हुँदै आएकोमा यो वर्ष विद्युत दुईवटा फिडरमा मात्रै लोडसेडिड्ड हुने गरेको छ । विद्युत् क्षमता गत वर्षकै अनुपातमा रहेपनि ग्राहक भने १२ प्रतिशत बढेका छन् ।

नेपालगन्जमा जाडो सिजनमा १२ मेगावाट र गर्मी सिजनमा २४ मेगावाट आवश्यक पर्छ । नेपालगन्जमा अहिले भारतबाट १२ मेगावाट र व्यस्त समय पिकआवरमा नेपालबाट ५ मेगावाट विद्युत प्राप्त भइरहेको कार्यालय प्रमुख झाले बताए ।

जति गर्मी बढ्दै जान्छ त्यति भारतले कम विद्युत् पठाउने गरेको छ । मुलुकका अन्यत्र सहर लोडसेडिङ हटेको कारण नेपालगन्जमा पनि लोडसेडिङ हुन नदिन प्रयत्न भइरहेको झाले जानकारी दिए ।

‘अझै ७ मेगावाट विद्युत ल्याउन सके नेपालगन्जमा पनि लोडसेडिङ गर्नुपर्दैन’, अहिले भारत र नेपालको गरी १७ मेगावाट विद्युत नेपालगन्जमा आइरहेको छ । झाले भने, ‘यसको लागि केन्द्रसँग नियमित भेटवार्ता र प्रक्रिया अघि बढेको उनले बताए ।

ट्रान्सफर्मरको क्षमता वृद्धि गरी विद्युत् वितरणको क्षमता बढाउन नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

बसपार्कस्थित क्षेत्रीय कार्यालयमा रहेको साढे सात एमभीए क्षमताको ट्रान्सफर्मरलाई १५ एमभीए र नेपालगन्ज कार्यालय परिसरमा रहेको ३ एमभीए क्षमताको ट्रान्सफर्मरलाई ८ एमभीए बनाउने कार्य भइरहेको छ ।

‘कोहलपुरमा रहेको १५ एमभीएको ट्रान्सफर्मरलाई पनि बढाएर ३० एमभीए बनाउने तयारी भइरहेको छ’, नेपालगन्ज वितरण केन्द्रका प्रमुख झाले भने, ‘ट्रान्सफर्मरको क्षमता वृद्धि पश्चात विद्युत वितरण प्रक्रियामा कुनै समस्या नहुने भएको छ ।’

विगतमा विद्युत् लोड बढी हुँदा ट्रान्सफर्मरले नधान्‍ने समस्या रहेको थियो । बक्यौता असुली नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले चालु आर्थिक वर्षमा चुहावट नियन्त्रणसँगै बक्यौता बाँकी रहेका ग्राहकको लाइन काट्ने र बक्यौता असुल उपर गर्ने कार्यलाई समेत प्राथमिकता दिएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्र दोस्रो हप्तासम्म ५ सय ३० जना ग्राहकको लाइन काटेको छ । ४ सय ५३ जना ग्राहकबाट बाँकी बक्यौता असुल उपर गरेको छ ।