वातावरण खाने राजनीति

436

बहुमत विश्व भीरको डिलमा पुगेजस्तो लाग्छ। रुससँग पश्चिमको सम्बनध, नेटोको भविष्य, सिरियाको गृहयुद्ध र शरणार्थी, उदाउँदो दक्षिणपन्थी पपुलिज्म, स्वचालनको प्रभाव र युरोपेली युनियनबाट बेलायतको आसन्न बहिर्गमनः यी र यस्तै शीर्षकले विश्वव्यापी रुपमा सार्वजनिक बहस सिर्जना गरेको छ। तर एउटा मुद्दा, जसलाई अरुभन्दा महत्वपूर्ण मान्न सकिन्छ, लाई बेवास्ता गरिएको वा छेऊ लगाइएको छ, त्यो हो वातावरण

यो वर्ष स्वीट्जरल्याण्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरमको वार्षिक बैठकमा पनि त्यस्तै देखियो। चिनियाँ राष्ट्रपति सी जिनपिङले पेरिस जलवायु सम्झौताको नाम लिनेभन्दा बाहेक जलवायु परिवर्तन वा दिगो विकासजस्ता शीर्षकले मुख्य मञ्चमा स्थान नै पाएनन्। बरु त्यस्ता विषयलाई ‘साइड मिटिङ’ मा सीमित गरियो। वर्तमान राजनीतिक र आर्थिक घटनाहरुलाई त्यसले काट्ने देखिएन।

भूराजनीतिक र सामाजिक अस्थिरताको यो समयमा वातावरणीय मुद्दालाई किनारीकृत हुन दिनु एउटा भयंकर गल्ती हो। जलवायु परिवर्तनलाई व्यस्थित गर्ने प्रयासमा यो एक महत्वपूर्ण क्षण भएर मात्रै होइन। पर्यावरणीय दुर्दशा र प्राकृतिक स्रोतको असुरक्षाले पनि हाम्रो अघिल्तिर भएका विश्वव्यापी मुद्दाहरुलाई सामना गर्ने हाम्रो क्षमतालाई घटाइरहेको छ।

विश्वव्यापी अस्थिरतालाई बढावा दिने एक प्रमुख पक्ष हो वातावरणीय असुरक्षा। तर यसलाई प्रायशः अवमूल्यन गर्ने गरिन्छ। शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघको उच्चायोगको प्रतिवेदनअनुसार सन् २००८ यता प्राकृतिक प्रकोपका कारण २ करोड ६० लाखभन्दा बढी मानिस वार्षिक रुपमा विस्थापित भएका छन्। यो संख्या त्यसयता बलप्रयोगबाट विस्थापित भएका पूरै संख्याको झण्डै एक तिहाई हो।

हालको शरणार्थी संकटमा पनि वातावरणीय तत्व छ। युद्धसम्म आइपुग्दाका वर्षहरुमा सिरियाले इतिहासमै सबैभन्दा चरम खडेरीको सामना गर्नुपर्यो। त्यही खडेरी, खराब कृषि प्रणाली र खराब स्रोत व्यवस्थापनले करिब १५ लाख सिरियालीलाई आन्तरिक रुपमा विस्थापित गर्न सहयोग पुर्यायो। यसैले सन् २०११ को विद्रोहअघिको राजनीतिक उथलपुथललाई निम्त्याएको थियो।

वातावरणीय र कृषिको दबाबको कडी सिरियाभन्दा निकै परसम्म जोडिन पुग्छ। कृषि उत्पादनका लागि कुनै विशेष भूगोलमा अत्याधिक निर्भर हुनुले वातावरणीय समस्यालाई झनै खराब बनाउँछ र नयाँ समस्या सिर्जना पनि गर्न सक्छ। यसले विश्वव्यापी उपभोक्ता हितलाई स्थानीय नागरिकको हितविरुद्ध उभ्याउन पनि सक्छ। उदाहरणका लागि मिसिसिपी नदीलाई लिन सकिन्छ। विश्वकै धेरै अन्न उत्पादन हुनेमध्ये एक मानिने यो क्षेत्रमा पानीको गुणस्तर खस्किँदो छ।

यसको सम्बन्ध दुवैतिर जोडिन्छ, एक वातावरणीय अवस्था, जसले कृषि उत्पादनको निर्धारण गर्छ र दुई कृषि उत्पादनको मूल्य, जसले विश्वव्यापी रुपमा किनबेच हुने सामानको १० प्रतिशत हिस्सा ओगट्छ। उदाहरणका लागि बढ्दो तापक्रम र बदिलिँदो वर्षाको ढाँचाका कारण कफीको मूल्यमा वृद्धि भइरहेको छ। सन् २०५० सम्ममा विश्वभर कफी उत्पादनका लागि उपयुक्त जमिन आधा हुनसक्नेछ। यस्तोमा कफीको मूल्यमा वृद्धि मात्रै हुनेछ।

व्यापार संरक्षणवादतर्फको अचानक बदलावले पनि कृषि उत्पादनको मूल्यमा अझ वृद्धि हुनेछ। यस्तो वृद्धिले किसान परिवारको आयलाई प्रभावित पार्नेछ। केही किसानको आय बढ्नेछ भ भने अरुलाई घाटा हुनेछ। अन्तिम उपभोक्ता, खासगरी गरीब र कमजोरहरुलाई अझ बढी मर्का पर्नेछ।

वातावरण आर्थिक बहसको केन्द्रमा रहनुपर्ने अर्को कारण के हो भने यो विश्वको सबैभन्दा ठूलो एकल रोजगारदाता हो। लगभग एक अर्ब व्यक्ति, जुन विश्वको श्रमशक्तिको झण्डै २० प्रतिशत हुन आउँछ, औपचारिक रुपमा कृषिसँग सम्बन्धित रोजगारीमा छन्। अर्को एक अर्ब जनसंख्या निर्वाहमुखी खेतीमा आबद्ध छ।

आर्थिक विकासलाई सहयोग गर्ने जुनसुकै पहलले उच्च उत्पदकत्व हुने क्रियाकलापतिर यो जनसंख्याको संक्रमणलाई समर्थन गर्नैपर्छ। केही मुलुकमा बढ्दो विलासी र अत्याधुनिक प्रविधिका कारण कामदारहरुको पूरै पुस्ता छोडिने खतरामा परेको बेला यो झनै महत्वपूर्ण हुन्छ। यत्रो ठूलो जनसंख्यालाई फाइदा पु¥याउने प्रयास खाली शिक्षा र तालिममा मात्र केन्द्रित हुनु हुँदैन। बरु भूमि, जलस्रोत, लगायतका प्राकृतिक सम्पदालाई समाप्त नपारी पूँजीकृत गर्ने नयाँ मोडेलहरुमा ध्यान दिनुपर्छ।

जसरी प्राकृतिक स्रोतको असुरक्षा विस्थापनको कारण बन्न सक्छ, त्यसैगरी प्रभावकारी प्राकृतिक स्रोत व्यवस्थापनले द्वन्द्व व्यवस्थापन र दिगो आर्थिक विकासलाई सहयोग गर्दछ। वातावरणीय उपचार प्राप्त गर्न, ग्रामीण समुदायको लचकतामा वृद्धि गर्न, दिगो कृषि उत्पादनको आधुनिकीकरण गर्न र समुदायमा आधारित वातावरणीय हेरचाहजस्ता प्रयासहरुले आशालाग्दो परिणाम देखाएका छन्।

केन्यामा जमिनको उपयोगलाई दिगो र न्यायपूर्ण बनाउन केन्द्रित संस्था नर्दन रेन्जल्यान्ड ट्रष्टलाई पनि नियाल्न सकिन्छ। एनआरटीले पशुपालक समुदायमा वातावरणलाई ध्यानमा राखेर प्रभावकारी प्रशासन संयन्त्र विकासमा सहयोग गरेको छ। यसले खासगरी खडेरीको समयमा चरन अधिकारका लागि हुने द्वन्द्व घटाउन सहयोग गरेको छ।

थुप्रै समुदायका लागि सदस्यको आफूबस्ने क्षेत्रसँगको सम्बन्ध उनीहरुको पहिचानको एक अभिन्न परिचय हो। प्रभावकारी प्रशासन र योजनासहित खुला सम्वाद, स्रोत बाँडफाँडको अवधारणा र सीपमूलक तालिमसहितको पर्याप्त लगानी, आदिबाट यी समुदायले यो सम्बन्धलाई प्रभावकारी वातवरण संरक्षकत्वमा बदल्न सक्छन्। यसले स्वस्थ र अझ सुरक्षित समाज निर्माणमा टेवा पु¥याउँछ।

आधुनिक विश्वमा देखा परिरहेको संकटहरु जटिल प्रकृतिका छन्। तर एउटा कुरा स्पष्ट छः वातावरण ती सबै संकटसँग जोडिएको छ। लागु गर्ने स्वस्थ विश्व बिना समाधानका उपायहरुले कमै अर्थ राख्नेछन्।

(२ मार्च २०१७ मा प्रोजेक्ट सिन्डिकेटमा प्रकाशित लेखको भावानुवाद)

तस्विरहरु– विश्व बैंकको ब्लग