८ महिनामा लक्ष्यको ८० प्रतिशत राजस्व संकलन

315

नेपालगन्जः नेपालगन्ज भन्सार कार्यालयले हालसम्ममा लक्ष्यको ८० प्रतिशत राजस्व संकलन गरेको छ । आर्थिक वर्ष ०७३/०७४ मा पाँच अर्ब २० करोड ५३ लाख ८७ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नेपालगन्ज भन्सारले फागुन महिनासम्ममा चार अर्ब ४५ करोड ८० लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लक्ष्मीदत्त जोशीका अनुसार फागुन महिनामा ४७ करोड २८ लाख ५ पाँच हजार संकलन गर्ने लक्ष्य लिइएकोमा ६६ करोड ७४ लाख ५९ हजार संकलन भएको छ । फागुनको राजस्व असुली लक्ष्यको १ सय ३४ प्रतिशत हो ।

फागुन, चैत, वैशाख र जेठको भन्सार लक्ष्य रकम एकै रहेको छ । असारको लक्ष्य ५२ करोड रहेको छ । अहिलेसम्मको राजस्व असुली लक्ष्यभन्दा बढी नै भइरहेको छ । साउनमा ३२, भदौमा ४१, असोजमा ३५, कात्तिकमा ४४, मंसिर, पुस र माघमा ४१ करोड राजस्व उठाउने भन्सारको लक्ष्य थियो ।

सूचना अधिकारी जोशीका अनुसार साउनमा १ सय १७, भदौमा १ सय २४, असोजमा १ सय १८, कात्तिकमा १ सय ११, मंसिरमा एक सय ३५, पुसमा एक सय ४५ र माघमा एक सय ४० प्रतिशत राजस्व असुली भएको छ । भन्सारको तथ्यांक हेर्दा अहिलेसम्ममा सबैभन्दा बढी रकम फागुनमा असुली भए पनि लक्ष्यका हिसाबले पुस महिनाको प्रतिशत धेरै रहेको छ ।

नेपालगन्ज नाकाबाट डिजेल, चामल तथा कनिका, पेट्रोल, कपर स्क्र्याप, एलपी ग्यास, भेनियर सिट, तोरी, रायो, तिल, गहुँ, जौ, जुनेलो, बिजुलीका ट्रान्सफर्मर, सागपात र हरियो तरकारी, मोटर गाडीका पार्टपुर्जालगायत सामान भारतबाट आउँछन् । त्यस्तै, नेपालबाट जडीबुटी, वनस्पति उत्पादनहरू, मसला, चोकर, भुसलगायत निकासी हुन्छन् ।

सूचना अधिकारी जोशीका अनुसार फागुनमा ३७ मुद्दा दर्ता भएका छन् । यो महिनामा ५१ थान मुद्दा निर्णय भई ६५ मुद्दा फर्छ्योटको तयारीमा छन् । मुद्दाका मालवस्तु लिलामबाट १२ लाख १६ हजार १ सय ५८ रुपैया राजस्व संकलन भएको छ ।

फागुनमा ३४६ लाख २२ हजार १ सय ५९ रुपैया बेरुजु रहेकोमा ४५ लाख ३१ हजार ३ सय १ रुपैयाँ फछ्र्योट भएको छ । कार्यालयको वार्षिक पूँजीगत बजेट तीन करोड १५ लाख ८० हजार रहेको छ । राजस्व असुली, अवैध निकासी पैठारी नियन्त्रण, व्यापार सहजीकरण, सीमावर्ती भारतीय भन्सार कार्यालयसँग समन्वय गर्नु भन्सार कार्यालयको मुख्य काम हो ।

नेपालगन्ज भन्सारले द्वन्द्वकालमा बन्द भएका आधा दर्जन छोटी नाकालाई सञ्चालन गर्न नसक्दा चोरी पैठारी नियन्त्रण हुन सकेको छैन । छोटी नाकाको प्रयोग, मुख्य नाकाबाट भरियामार्फत थोरै–थोरै आयात र ठूला व्यापारीले सामानको वास्तविक रसिद नकाट्ने या एउटा सामानको रसिद काटेर त्यसभित्र बहुमूल्य अर्को सामान ल्याउने प्रवृत्ति भन्सार कार्यालयका निम्ति प्रमुख चुनौती बनेको छ ।