राष्ट्रपतिको भारत भ्रमण राजकीय

319

राष्ट्रपति विद्यादेवी भण्डारी आगामी ४ देखि ८ वैशाखसम्म भारतको राजकीय भ्रमणमा जाने तय भएको छ । राष्ट्रपतिमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हुनेछ ।

मन्त्रिपरिषद्ले मंगलबार स्वीकृत गरेको राष्ट्रपतिको भ्रमणतालिका नेपाल र भारतका परराष्ट्र मन्त्रालयले बुधबार एकैसाथ सार्वजनिक गरेका छन् । भारतीय समकक्षी प्रणव मुखर्जीको निमन्त्रणामा राष्ट्रपति भण्डारी ४ कात्तिकमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ । सोही दिन राष्ट्रपतिको सम्मानमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले रात्रिभोज दिनेछन् ।

राष्ट्रपति भण्डारीले ५ वैशाखमा भारतीय समकक्षी मुखर्जीसँग द्विपक्षीय वार्ता गर्ने तय भएको छ । द्विपक्षीय वार्ताका क्रममा कुनै पनि विषयमा सम्झौता नहुने परराष्ट्र स्रोतले जनाएको छ । भ्रमण दलमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत रहनेछन् ।

परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति भण्डारीलाई विशिष्ट पाहुनाका रूपमा भारतको राष्ट्रपतिभवनमा राखिनेछ । राष्ट्रपतिभवनमा ५ वैशाखमा भण्डारीलाई भारतीय सेनाले गार्ड अफ अनर दिने कार्यक्रम छ । सोही दिन मुखर्जीले उनको सम्मानमा दिवाभोजसमेत दिने भएका छन् । भण्डारीसँग भारतका उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित साह, कंग्रेस अध्यक्ष सोनिया गान्धी, भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका अध्यक्ष सीताराम यचुरी, बिहारका मुख्यमन्त्री नीतीश कुमारलगायतले शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

भारतीय राजदूत मञ्जिब सिंह पुरीले बुधबार राष्ट्रपति भण्डारीलाई भ्रमण तालिकाबारे ब्रिफिङ गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले भारतीय प्रधानमन्त्री मोदीको गृहक्षेत्र गुजरात भ्रमण गर्ने कार्यक्रम छ । उनले भारतको उडिसा राज्यको भ्रमण गर्ने पनि तय भएको छ । स्रोतका अनुसार राष्ट्रपतिले उडिसाको पुरीस्थित प्रसिद्ध जगन्नाथ मन्दिरको दर्शन गर्नेछिन् ।

भारतको विदेश मन्त्रालयले राष्ट्रपति भण्डारीको भ्रमणले दुई देशको सम्बन्ध थप बलियो बनाउने जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपतिको आसन्न भ्रमणले दुई देशबीचको बलियो जनस्तरको सम्बन्ध, साझा ऐतिहासिक र सांस्कृतिक बिरासत, बृहत् साझेदारी तथा पुरानो विशिष्ट सम्बन्ध थप मजबुत गर्ने दुवै सरकारको प्राथमिकता प्रतिबिम्बित गर्नेछ ।’

स्थगित भएको एक वर्षपछि राष्ट्रपति भण्डारीको भारत भ्रमण तय भएको हो । राष्ट्रपति भण्डारीले गत वर्ष २७ वैशाखमा भारत भ्रमण गर्ने तय भएको थियो । तर, केपी ओली नेतृत्वको तत्कालीन सरकार फेरबदलको परिस्थितिपछि भ्रमण स्थगित भएको थियो । राष्ट्रपति भण्डारीको भ्रमण स्थगित भएको ६ महिनापछि भारतीय समकक्षी प्रणव मुखर्जीले १७ देखि १९ कात्तिकसम्म नेपालको राजकीय भ्रमण गरेका थिए ।

नयाँ पत्रिका