सेयर बजारमा आस र त्रासको व्यवस्थापन

393

सेयर बजार, एक हिसाबले ‘आस’ र ‘त्रास’को बजार हो । यही ‘आस’ र ‘त्रास’ले नै बजारलाई गतिशील बनाउँछ, मुनाफा र जोखिम सिर्जना गर्दछ, सँगसँगै नाफा र नोक्सान पनि । यदि ‘आस’ र ‘त्रास’ नहुँदो हो त दोस्रो बजारको जन्म हुँदैनथ्यो होला न त बजारको विकास नै ।

बजारमा खरिदकर्ताले भविष्यमा मुनाफा हुन्छ भन्ने आशामा किन्छ भने बिक्रेताले मूल्य घट्छ भनेर त्रसित भएर बेच्छ । प्राथमिक बजारमा सेयर किन्ने र दोस्रो बजारबाट सेयर किन्ने व्यक्तिको ‘आस’ र ‘त्रास’को अवस्था फरक हुन सक्छ तर कुनै पनि लगानीकर्ताले सेयर किनबेच गर्ने भनेको उक्त सेयरप्रति उसले आकलन गरेको ‘आस’ र ‘त्रास’ नै हो ।

कारोबारीहरू बजारमा अल्पकालीन मुनाफा अर्थात् पुँजीगत लाभको आशामा सेयर खरिद गर्न थाल्छन् भने सम्भावित नोक्सानीको त्रासमा बेच्न थाल्छन् । यहाँ आशा राख्ने र त्रसित हुने बीचको मानसिक द्वन्द्वले बजारमा सेयरको माग र आपूर्तिलाई प्रभावित गर्दै उक्त सेयरको मूल्य निर्धारण गर्दछ ।

कारोबारीहरू मात्र होइन, लगानीकर्ताहरू समेत यस्तो आस र त्रासको द्वन्द्वमा त्रसित वा आशावादी हुने हुन्छन् । उनीहरू दीर्घकालीन मुनाफा अर्थात् गुणात्मक मुनाफाको आसमा लगानी गर्दछन् ।

यही भविष्यमा मुनाफा हुन्छ भन्ने आसले नै लगानीकर्ताहरू सेयर खरिद गर्दछन् भने त्रसित भएको अवस्थामा ‘स्टप लस’ वा ‘प्रोफिट बुक’को नाममा सेयर बेच्न थाल्छन् । हो, यही मौकामा जोखिम बेहोर्ने क्षमता भएका विशेषतः ठूला र संस्थागत लगानीकर्ता वा कारोबारीहरूले आशावादी हुँदै सेयर किन्न थाल्छन् ।

नेप्से १८०० माथिको अवस्था होस् वा १२५० मा झर्दा होस्, बजारमा आशावादी र त्रसित दुवै खाले लगानीकर्ता र कारोबारीहरू हुन्छन् । यति हो, सेयर बजार माथि गएको अर्थात् बुलिस अवस्थामा आशावादीहरू हाबी हुन्छन् र आमलगानीकर्ताहरू विशेष गरी मध्यम र साना लगानीकर्ताहरूले खरिद गरिरहेका हुन्छन् भने ठूला र संस्थागत लगानीकर्ताहरू रणनीतिक रूपमा बजारको आशावादी अवस्थालाई प्रयोग गर्दै बेच्न थाल्छन् ।

यसको विपरीत बजार तल झरेको वा बियरिस अवस्थामा समग्र सेयर बजार न्यून हुँदै गएको हुन्छ । यो भनेको आमलगानीकर्ता विशेष गरी मध्यम तथा साना लगानीकर्ताहरू त्रसित भएको अवस्था हो । अर्को शब्दमा, ‘प्यानिक’ भएको अवस्था हो, जसको उपयोग गर्दै आशावादी लगानीकर्ताहरूले सस्तोमा सेयर खरिद गर्दछन् ।

व्यक्तिगत, मध्यम र साना लगानीकर्ता तथा ठूला र संस्थागत लगानीकर्ता वा कारोबारीहरूको ‘आस’ र ‘त्रास’को अवस्था सामान्यतः विपरीत हुन्छ । यसको मूल कारण भनेको जोखिम वहन क्षमता, आर्थिक स्रोत क्षमता, सूचनामा पहुँच, बजारलाई प्रभावित गर्ने क्षमता र सरोकारवालाहरूको भूमिका नै हो ।

हुन त अहिले विस्तारित बजारमा लगानीकर्ताहरूको संख्या र कारोबार हेर्ने हो भने लाखौं व्यक्ति होलान्, जसले ‘आस’ र ‘त्रास’को विविध अवस्था जनाउँछ । तर, बजारमा यस्ता लगानीकर्ता वा कारोबारी पनि हुन्छन्, जो ठिक विपरीत रूपमा चल्छन् । सेयर बजारमा सबैले मानेको मुनाफाको सिद्धान्त पनि ‘अरू आशावादी भएको समयमा आफू त्रसित हुने र अरु त्रसित भएको अवस्थामा आफू आशावादी हुने’ नै हो । तर, यसमा चातुर्य र विश्लेषण क्षमतालाई पनि सँगसँगै लानु पर्दछ ।

पक्कै पनि बुलिस अवस्थामा सेयर कारोबार निकै उच्च हुन्छ किनभने धेरै व्यक्तिहरूले सानो–सानो परिमाणमा तर धेरै सेयर किनिरहेका हुन्छन् । ठूला र संस्थागत लगानीकर्ता वा कारोबारीहरूसँग बजारको माग धान्न सकिने सेयर उपलब्ध हुँदासम्म यस्तो बुलिसलाई यही आस र त्रास रूपी औजार प्रयोग गरी बजारलाई आफू अनुकूल राख्छन् ।

जब आफूसँग सेयरको भण्डार सकिन थाल्छ तिनै ठूला वा संस्थागत लगानीकर्ता वा कारोबारीहरूले मध्यम तथा साना लगानीकर्ता वा कारोबारीहरू माझ ‘त्रास’ फैलाएर सेयर बेच्न उक्साउने र बाध्यताको अवस्था सिर्जना गर्दछन् ।

अवस्थालाई यति त्रसित बनाइन्छ कि मध्यम तथा साना लगानीकर्ताहरू आफूले किनेको भन्दा निकै सस्तोमा घाटा खाएर सेयर बेच्न थाल्छन् । यसलाई केही मध्यस्थ व्यक्तिहरूले ‘स्टप लस’ वा ‘लस बुक’को नाममा थप त्रास फैलाउन सघाउँछन् ।

बृहत् रूपमा सेयर बजारको ‘आस’ र ‘त्रास’को व्यवस्थापन भनेको जोखिम व्यवस्थापन गर्दै यथोचित मुनाफा आर्जन गर्नु हो । चलायमान बजार भएकाले बजारमा सधैं आस र सधैं त्रास हुँदैन । बजारमा कहिले आशावादीहरू हाबी हुन्छन् भने कहिले त्रसित वा निराशावादीहरू ।

यसले बजारमा खरिद वा बिक्रीमा चाप सिर्जना गर्दछ । बजारका यही अवस्थाहरूको विश्लेषण गर्दै आफ्नो लगानी पोर्टफोलियो व्यवस्थापन गर्ने तथा बजारबाट सेयर खरिद विक्री गर्ने काम गरिनुपर्दछ ।अब कति आशावादी हुने र कहिले त्रसित हुने त ?

त्यो व्यक्तिको जोखिम लिने क्षमता, लगानीको स्रोत, अपेक्षित मुनाफा दरमा निर्भर रहन्छ । कसैले पनि आशावादी हुने र त्रसित हुने समय निश्चित रूपमा बताउन सक्दैन । एउटै व्यक्तिको पनि समय र परिस्थिति अनुसार ‘आस’ र ‘त्रास’को अवस्था फरक पर्न सक्छ ।

सेयर बजारको यस्तो ‘आस’ र ‘त्रास’सँग जुध्न कति जोखिम लिएर, कति समयको लागि र कति मुनाफा वा पुँजीगत लाभको लागि सेयर खरिद गर्न खोजेको हो त्यो स्पष्ट हुनुपर्दछ । यसका साथै, कसैले देखाउने ‘आस’ र फैलाउने ‘त्रास’को विश्लेषण गर्ने क्षमता हुनुपर्छ । त्यस्तै लगानीका स्रोतहरूको व्यवस्थापन, वैकल्पिक योजना, र धैर्यको आवश्यकता हुन्छ ।

बजारको अध्ययन, सरोकारवाला तथा नीतिनिर्माता र नियामकहरूको भूमिका, कम्पनीको वित्तीय अवस्था, बजार रणनीति, व्यवस्थापन समूह समेतलाई हेर्ने र बुझ्ने चातुर्य र विश्लेषण क्षमता पनि उत्तिकै जरुरी हुन्छ ।
सामान्यतः निम्न कुराहरूलाई मनन गर्न सकिएमा ‘आस’ र ‘त्रास’ व्यवस्थापनमा केही सहज हुन सक्छ । आस त्यति राख्नुस् जति सम्भव र उचित छ । यति कुरामा ध्यान दिनुहोस्, कसैले भन्दैमा आजको भोलि नै डबल मुनाफा हुँदैन । बजारको क्षमता, अर्थतन्त्रको अवस्था, कम्पनी जस्ता समग्र पक्षमा मुनाफा निर्भर रहन्छ । आस गर्नु भनेको जोखिम लिनु हो, त्यसैले त्यति जोखिम लिनुहोस् जति आफूले वहन गर्न सक्नुहुन्छ ।

बढी मुनाफाको आसमा धेरै जोखिम लिनु भनेको सम्भावित घाटालाई निम्त्याउनु पनि हो । सेयर किन्दा आस गरिएभन्दा फरक परिस्थिति सिर्जना भएको अवस्थामा अन्य आशा लाग्दा कम्पनीहरूको विश्लेषण गरी पोर्टफोलियो व्यवस्थापन गर्नुहोस् । आशासँगै धैर्य पनि राख्नुहोस् । आशालाई परिणाममा परिणत गर्न आवश्यक मिहेनत पनि गर्नुपर्छ ।

निकै आशावादीहरू हावी भएको बजारमा विविध कारणले तत्कालै त्रास छाउन सक्छ । यस्तो अवस्थाको लागि मानसिक र आर्थिक रूपमा आवश्यक विकल्पहरू सहित तयार रहनु आवश्यक छ ।

त्रसित अवस्थामा आवेशमा आएर घाटामा सेयर बेच्नु मूर्खता हुन्छ । त्रास कसरी सिर्जना भयो र यसको अवधि कस्तो रहन्छ अनुमान गर्नुपर्छ । त्रसित अवस्थामा अझै धैर्य कायम गर्नुपर्छ ।

बजारमा त्रास फैलाइएको हो वा देश र विदेशको समग्र आर्थिक पक्षहरूको प्रभावले सिर्जित भएको हो त्यसलाई राम्ररी विश्लेषण गर्नुपर्छ ।     जसरी समय परिवर्तनशील छ, ‘आस’ र ‘त्रास’को अवस्था पनि परिवर्तन हुन्छ । दुवै अवस्थामा महŒवपूर्ण पक्ष भनेको धैर्य नै हो ।

from karobar