चुनावी तालमेल गर्दै, अवसरवादको पाउ समाउँदै

378

स्थानीय चुनाव चुनाव नजिकिँदै जाँदा अनेक अनौठा तालमेलका दृष्य देखिन सुरु भएको छ । स्थानीय निर्वाचनमा गुल्मी जिल्लाका एमाले र माओवादी केन्द्रले जिल्लाभरी तालमेल गरेर निर्वाचन लड्ने हिजो घोषणा गरे । सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेबीच चुनावी एकता भएको यो खबरले राजनीतिक बजारलाई चकित बनाउने नै भयो । यो यसकारण पनि आश्चर्यमा पार्ने खबर थियो कि, गत वर्ष मात्र आफैं सहभागी एमाले अध्यक्ष केपी ओली सरकारलाई ढालेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेका थिए । अहिले पनि राष्ट्रिय राजनीतिका अनेक मुद्धामा यी दुई पार्टी विपरित ध्रुवमा देखिन्छन् ।

भर्खरै भएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा अधिकांश ठाउँमा माओवादी केन्द्र र नेपाली कांग्रेसको भ्रातृ  संगठनहरुबीच तालमेल भएको थियो । त्यस बिपरित यो घटनाले यो स्थानीय निर्वाचनमा जुनसुकै पार्टीको जुनसुकै पार्टीसँग तालमेल हुने देखाउँछ । तालमेलले बिपक्षलाई पराजित गर्न र तालमेलवालालाई जित्न सजिलो पार्ने भएपनि सम्बन्धित राजनीतिक दलले उठाएका राजनीतिक मुद्धा र  अडानलाई भने यस्ता तालमेलले कमजोर पार्ने निश्चित छ ।

तालमेलको इतिहास 

२०४७ मा बहुदल आएपछि भएको पहिलो आम निर्वाचनमा ‘एक बाम एक ठाम’ नाराको आधारमा केही ठाउँमा एमाले र संयुक्त जनमोर्चाबीच चुनावी तालमेल भएको थियो । त्यसपछिको स्थानीय निर्वाचनमा पनि उनीहरुबीच अधिकांश ठाउँमा तालमेल भयो । गाउँ र नगरको चुनावपछि भएको जिल्ला विकास  समतिको निर्वाचनमा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि तालमेल गर्यो । पूर्व पंचहरुलाई नेपाली कांग्रेसले पार्टीमा धेरै भित्र्याए पनि पूर्व पंचहरुको पार्टीसँग कांग्रेसले तालमेल नगरेको अवस्थामा एमालेको तालमेल गर्ने निर्णय निकै आलोचित बन्यो । यस्तोमा आक्रोशित कार्यकर्तालाई चित्त बुझाउन र पत्रकारहरुलाई जवाफ दिन सिंहदरवार संसदीय दलको कार्यालयमा तत्कालिन महासचिव मदन भण्डारीले निकै तितो लाग्ने उदाहरण दिएका थिए, ‘जतिसुकै नराम्रो भएपनि ट्वाइलेट त मानिसले जानै पर्छ ।’

राप्रपासँग तालमेलले एमाले र राप्रपा दुवैलाई केही जिल्ला विकास समति जित्न सजिलो पार्यो । तर, त्यही घटनाले २०५१ को मध्यावधि निर्वाचनपछि बनेको एमालेको अल्मत सरकार नौ महिनामा ढलेपछि कांग्रेस र एमालेले निकै कमजोर तेस्रो दल राप्रपाका नेताहरुलाई पालैपालो प्रधानमन्त्री बनाउन प्रेरणा दियो  । त्यही क्रममा सांसदहरु किनबेच चल्दाको परिणाम संसदीय व्यवस्था नै निकै बदनाम हुन पुग्यो । र, त्यसरी सत्ताका निम्ति सिद्धान्त परित्याग गरेकोमा दुवै पार्टी निकै आलोचित बन्न पुगे ।

लोकतन्त्र आएपछिको पहिलो संविधानसभा चुनावमा एमाले र माओवादीबीच पनि बामपन्थी पार्टी एक हुनुपर्छ भन्ने नारा अघि सारेर तालमेल गर्न खोजिएको थियो । तर, दुवै पार्टीले अर्कालाई प्रमुख प्रतिस्पर्धी ठानेर कमजोर बनाउन खोज्दा तथा आफूलाई बलियो ठान्दा तालमेल हुनसकेन । दोश्रो संविधानसभाको चुनावमा पनि त्यही कारण दुवै पार्टी आफ्नो बलबुतामै लडे ।

दोश्रो संविधानसभापछि खासगरी केपी ओली सरकार बनेपछि एमाले बलियो बनेको विश्वासमा पेशागत संगठनका निर्वाचनमा कांग्रेस र माओवादी तालमेल गरेर लडे । त्यसको परिणाम कहिँ उनीहरुले एमालेलाई पछारे भने कहिँ मुलुकको पहिलो र तेश्रो शक्ति मिल्दा पनि एमाले बिजयी भयो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पनि अधिकांश ठाउँमा कांग्रेस र माओवादीका भात्रृ संगठनहरु तालमेल गरेर लडे ।

तालमेलको राजनीतिक अर्थ

बलियो शक्तिलाई पछार्न कमजोर शक्तिहरु मिल्नु भनेको तालमेल हो । यस अर्थमा निर्वाचनमा जित सुनिश्चित गर्न कमजोर शक्तिहरुले बलियो शक्तिबिरुद्ध तालमेल गर्नुलाई अन्यथा नमान्न सकिन्छ । तर, यस्तो तालमेलले राजनीतिक अवशरवादलाई प्रोत्साहन गर्ने तथा तत्कालिन जितका निम्ति दिर्घकालिन राजनीतिक क्षति पुर्याउन सक्ने २०५१ पछिका राजनीतिक घटनाहरुले देखाउँछन् ।

एमाले र माओवादीबीच तालमेल भएको ठाउँका जनताले कुन विचारलाई मत दिने ? कयौं जिल्लामा कांग्रेस र माओवादी तथा कांग्रेस र एमालेबीच पनि तालमेल हुने चर्चा सुनिएको छ । यी तिनमध्ये कुनै दलले राष्ट्रिय प्रजातन्त्र पार्टी वा मधेस केन्द्रित दलसँग पनि कतै तालमेल गर्न सक्छन् । त्यस्तो हुँदा त्यहाँका जनताले के आधारमा तालमेल गरेका उमेद्वारलाई मत दिने ?

कि त, दलहरुले स्थानीय निर्वाचन राजनीतिक सिद्धान्त र विचारको आधारमा नभएर स्थानीय विकासका निम्ति मात्र हुने हो भन्नु पर्यो । बाटो, कुलो, स्कुल, जस्ता मुद्धामा मात्रै यो चुनाव हुने हुँदा राजनीतिक सिद्धान्त, विचार र मुद्धाको कुनै अर्थ छैन भन्नु पर्यो । त्यसै हो भने, दलीय व्यवस्थामा स्थानीय चुनाव दलगत नै हुनुपर्छ भन्ने मान्यताको पैरवी किन गर्नुपर्यो । किनभने, विकास मात्रै यो चुनावको मुद्धा भए दलीय चुनावका लागि अड्डी कस्नु अर्थहिन हुन जान्छ र मधेसवादी दलहरुले केही अघि भनेको निर्दलीय चुनावकै पक्षमा लाग्दा केही फरक पर्दैन । हैन विकासका मुद्धा पनि राजनीतिक सिद्धान्त, विचार र मुद्धासँग एकदमै गाँसिएका हुन्छन् भन्ने मान्ने हो भने यस्तो तालमेल अवशरवादी हो भन्न अप्ठ्यारो मान्नु हुदैन ।

निर्वाचनमा जित नै सबैभन्दा प्रमुख बन्ने हुँदा अहिले जित्न सबै शक्ति तालमेलको प्रयासमा लागेका देखिन्छ । मधेस केन्द्रित दलहरु एक हुनु, बाबुराम भट्टराई र उपेन्द्र यादवको दल एक हुन खोज्नु पनि तालमेलकै विविध रुप हुन् । यस्ता तालमेलले दलहरुलाई तत्काल फाइदा त होला, तर मुलुकको राजनीति, सिद्धान्त, विचार र मुद्धाहरुलाई बेफाइदा गर्ने भने निश्चित छ ।