विस्फोट गरेर सेनाले बनाउन थाल्यो तिब्बत जोड्ने सडक

396

गोरखाः गोरखाको बेनीघाट–आरुघाट–आर्खेत–लार्केभञ्ज्याङ सडक औपचारिक रूपमा बनाउन थालेको छ ।

तिब्बतको सिमाना जोड्ने सो सडक अन्तरगत १२० किलोमिटर निर्माणको जिम्मा लिएको नेपाली सेनाले सोमबारबाट विधिवतरुपमा निर्माण थालेको हो ।

बेनिघाट, आरुघाट, सामागाउँ, लार्के हुँदै तिब्बतको सिमाना जोड्ने सडकको धार्चे गाउँपालिकाको लापुभीरदेखी चुमनुब्री गाउँपालिकाको लार्केसम्म सेनाले सडक बनाउनेछ ।

सोमबार लापुस्थित भिर फुटाउन प्रयोग गरिने बम विस्फोट गरी प्रधानसेनापति राजेन्द्र क्षेत्रीले सडक निर्माणको विधिवत सुरुवात गरेका सडक निर्माण कार्यदलका प्रमुख मेजर निशान्त पण्डित क्षेत्रीले जानकारी दिए ।

सडक निर्माणका लागि लापुभीरमा दुई सयवटा बम जडान गरेको सेनाले यही महिनामा लापुभीरको पहाड फुटाइसक्ने लक्ष्य लिएको छ ।

सेनाले सडक निर्माण गर्दा धेरैजसो भिर पहरा फुटाउनुपर्नेछ । बुढीगण्डकीको बायाँ किनार हुँदै बनाइने सडक आठ मिटर फराकिलो हुने नेपाली सेनाले जनाएको छ ।

कुनै बाधा अड्चन नआए तीनबर्षभित्र सडक बनाइसक्ने लक्ष्य लिएको मेजर क्षेत्रीले बताए  । यो सडक बनाउन  चालु आर्थिक वर्ष सरकारले सेनालाई ३ करोड ५० लाख रुपैयाँ दिएको छ ।

सडक निर्माणका लागि सेनाको विकास निर्माण निर्देशनालयको ८५ जनाको टोली एक महिना अघिदेखि नै थुमीको अर्मलामा क्याम्प स्थापना गरेर बसेको छ ।

माछाखोलामा अर्को शिविर राख्ने तयारी भएको सेनाले जनाएको छ । यो सडक गोरखा र तिब्बत सिमानाको लाजेन वा ग्याला भञ्ज्याङमध्ये कुनमा जोड्ने भन्ने निश्चित भई नसकेको मेजर क्षेत्रीले बताए ।

सेनाले सडक बनाउन थालेपछि मनास्लु क्षेत्र जाने पदमार्गलाई अर्मलाबाट मान्बु हुँदै लापुबेशी जोडेर नयाँ बाटो खुलाइएको छ । सडक निर्माण भएपछि गुम्दा, लापु, उहिया, काशिगाउँ, केरौंजा, सिर्दिबास, बिही, प्रोक, ल्हो र सामागाउँका बासिन्दाले यातायात सेवा पाउने छन् ।

त्यस्तै तिब्बतदेखि वीरगञ्ज हुँदै भारतको सिमाना जोड्ने सबैभन्दा छोटो सडक बन्ने विश्वास पनि गरिएको छ । त्यसैले व्यापारिक हिसाबले पनि यो सडकलाई महत्वका साथ हेरिएको छ ।