आज विश्व प्रेस स्वतन्त्रता दिवस

430

आज विश्व प्रेस स्वतन्त्रता दिवस सँसारभर विभिन्न कार्यक्रम गरेर मनाइदै छ ।  विश्वमा  प्रेस स्वतन्त्रता दिवस १९९३ को डिसेम्वर २० मा सँयुक्त राष्ट्रसँघको साधारण सभाको निर्णय अनुसार प्रत्येक वर्ष को मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवसको  रुपमा मनाउँदै आएको छ ।
विश्व प्रेस स्वतन्त्रता दिवसको उदय
सन १९९१ को मे ३ मा राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्को को नामिवियाको विन्डहकमा सम्पन्न २६औं सभाले स्वतन्त्र र बहुलवादी प्रेसको प्रवद्र्धनका निम्ति विन्डहक घोषणा जारी गरे सँगै सोही घोषणालाई राष्ट्र संघ महासभाले सन् १९९३ मा स्वीकृत गरेपछि हरेक बर्षको मे ३ लाई विश्व प्रेस स्वतन्त्रता दिवस नामले घोषणा गर्यो । त्यसपछि विश्वले यसैको अनुसरण गर्दै हरेक बर्ष विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदै आएको छ ।

प्रेस स्वतन्त्रताको अधिकारलाई मानवअधिकारको विश्वव्यापी घोषणापत्रको अनुच्छेद १९ अन्तर्गत समाहित गरिएको छ। विश्व प्रेस स्वतन्त्रता दिवस मनाउनुका मुख्य चार वटा उद्देश्य राखिएको छन्। ती उद्देश्यमा  प्रेस स्वतन्त्रताको मौलिक सिद्धान्त स्थापनाको वर्षगाठ मनाउने, पेसागत अभ्यासमा ज्यान गुमाएका विश्वभरका पत्रकारहरु प्रति श्रद्धाञ्जली, प्रेस स्वतन्त्रताको  विश्वव्यापी मूल्यांकन र प्रेस स्वतन्त्रतामा हुने हमलाबाट मिडियाको बचावट रहेका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको सन्दर्भमा हरेक वर्ष दिइने नारामा पनि कुनै न कुनै उद्देश्य नै जोडिएको हुन्छ । तर यी चार वटा उद्देश्यचाहि  शुरुदेखि स्थापित  र अपरिवर्तनीय उद्देश्य हुन ।
पश्चिमा विकसित मुलुकमा प्रेस स्वतन्त्रताको पूर्णतः ग्यारेन्टी गरिएको छ व्यवहारमै। तर हाम्रो मुलुकको प्रेसको इतिहास र प्रेस स्वतन्त्रताको विगत भने निकै कष्टदायी थियो ।

 नेपाली प्रेस स्वतन्त्रताको स्थिती
नेपालमा पनि “सूचनामा नागरिको पहुँच मौलिक हकको प्रत्याभूति“ नाराकासाथ  विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदैंछ । नेपालमा २०४६ साल पछिको संविधानले संवैधानिक रुपमै प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्दै आएको छ । प्रजातन्त्र पुर्नस्थापना पछि प्रेस हुर्कनको लागि खुकुलो वाताबरण पाएपनि माओवादी व्दन्द्धकालमा सबैभन्दा सास्ती खेप्नुपर्यो । समाचार लेखिएकै भरमा  राज्य र तत्कालिन विद्रोही पक्षको चेपुमा थियो प्रेस जगत यद्यपी पछिल्लो समय स्वतन्त्रताको केही अनुभुति भएको थियो ।  तर २०६१ साल माघ १९ गते तत्कालिन राजा ज्ञानेन्द्र ले सम्पूर्ण शक्ति आफ्नो हातमा लिएपछि प्रेसले लामो श्वास फेर्न पाएनन् । सञ्चारगृहमाथि छापामार तथा वैचारिक स्वतन्त्रता खोसिने काम भयो । त्यस खालका बन्धनबाट मुक्त हुनका लागि ०६२/०६३ को आन्दोलन भयो । सो पश्चात नेपालको अन्तरिम संविधान २०६३ को धारा १२ मा स्वतन्त्रताको हक अन्तरगत विचार र अभिव्यक्तिको स्वतन्त्रता,विना हतियार शान्ती पुर्वक भेला हुने अधिकार,राजनैतिक दल खोल्ने,संघ/सस्था खोल्ने,आवत जावत गर्ने र वसोवास गर्ने,कुनै पेशा,रोजगार,उद्योग,व्यवसायगर्ने स्तन्त्रताको ग्यारेन्टी गर्यो । त्यस्तै धारा २७ मा सुचनाको हकको व्यवस्था थियो । यद्यपि २०७२ मा जारी संविधानले पनि प्रेस स्वतन्त्रताको ग्यारेन्टि गरेको छ ।

नेपालमा प्रेसको इतिहासमा गोरखापत्र नै पहिलो समाचार मुलक पत्रिका हो । राणा प्रधानमन्त्री देव शमशेरले वि।स। १९५८ वैशाख २४ गतेबाट गोरखापत्र प्रकाशनको सुरुवात गरेका थिए । साप्ताहिक पत्रिकाबाट सुरु भएको गोरखापत्र वि.स. २००० देखि हप्ताको दुईपटक र २००३ पुसदेखि हप्ताको तीनपटक प्रकाशन हुन थालेको थियो । जनतालाई सुसूचित गराउने भन्दा पनि राणा शासनको गुनगान गाउने उद्देश्यले प्रकाशनमा आएको गोरखापत्रले वि.स. ०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशन थालेको हो । त्यसयता धेरै पत्रपत्रिका रेडियो ,टिभी तथा नयाँ सञ्चारमाध्यमको परिचय बनाएको अनलाइनको सङ्ख्यामा पनि बृद्धि भएको छ ।

प्रेस स्वतन्त्रताको पक्षमा संगठितरुपमा आवाज उठाउने उद्देश्यले वि.स. २०१२ सालमा स्थापना भएको नेपाल पत्रकार संघले तत्कालिन समयमा पेशागत हकहित र पञ्चायती निरंकुशताको वाबजुद पनि स्वतन्त्र प्रेसको पक्षमा कलम चलाउदै आएको संघ २०५३ मा संघको नाममा महा थप गरी नेपाल पत्रकार महासंघ भएको हो । छाता सस्थाको रुपमा सञ्चारकर्मी संगठित भएपछि सुरुकै दिन बाट नेपालका सञ्चारकर्मीहरुले प्रेस स्वतन्त्रताको पक्षमा वकालत गर्दै आएका छन । तथापी  अझै पनि पुर्ण प्रेस स्वतन्त्रताको प्रत्याभुत भने  गर्न पाएका छैनन् । कुनै पनि देशको प्रेस स्वतन्त्रता त्यस देशको राजनीतिक अवस्थामा निर्भर हुने भएकाले नेपालमा हुने राजनीतिक अस्थिरताले पनि स्वतन्त्रता प्रभावित बन्छ । तर स्वतन्त्रताका नाममा अरुलाई पर्न जाने असरलाई भने ख्याल गरेकै हुनु पर्छ ।