
काठमाडौँ – सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले प्रधानन्यायाधीश सुशीला कार्कीका विषयमा आएको सर्वोच्च अदालतको निर्णय सुखद स्थिति नभएको बताएका छन् ।
अदालतको निर्णयपछि आज पत्रकारको जिज्ञासामा सरकारका प्रवक्तासमेत रहेका कार्कीले यसो भनेका हुन् । “यो सुखद स्थिति हुँदै होइन”, उनले भने, ”तर सरकारले यस विषयमा कुनै आधिकारिक धारणा बनाइसकेको छैन ।”
उनले व्यवस्थापिका–संसद्मा विचाराधीन विषयमा अदालतको त्यस्तो निर्णय आउनाले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच द्वन्द्व बढ्ने चिन्ता व्यक्त गरे ।
व्यवस्थापिका–संसद्मा महाभियोगको प्रस्ताव दर्ता भएपछि प्रधानन्यायाधीश कार्की निलम्बित भएकी थिइन् ।
न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले आज व्यवस्थापिका–संसद्मा दर्ता भएको महाभियोगको प्रस्ताव यथास्थितिमा राखी आजैदेखि काम गर्न दिनू भनी अन्तरिम आदेश जारी गरेको थियो ।