खै के ले जुरायो ८० वर्षमा वडाध्यक्ष र ८६ वर्षमा वडासदस्य !

432

जारी मतपरिणामले एउटा सुन्दै अचम्म लाग्ने नतिजापनि दियो । कसैलाई पत्यार थिएन ८० बर्षमा वडाध्यक्ष र ८६ वर्षमा वडा सदस्य चुनिन्छन् भनेर । तर सिन्धुपाल्चोक र धादिङमा यही भएको छ । प्राप्त मतपरिणामअनुसार सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ८० वर्षीय कर्णबहादुर खड्का वडाध्यक्षमा निर्वाचित भएका छन् ।

खड्का नम्बर १ बाट २६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्र र एमालेका उम्मेदवारलाई एक सयभन्दा बढी मतले पछि पारेका हुन् । उनी यसपटकको स्थानीय तह निर्वाचनमा निर्वाचित हुने सबैभन्दा दोस्रो वयोवृद्ध उम्मेदवार हुन् ।

यस्तै धादिङको थाक्र गाउँपालिका–५ दामेचौरबाट ८६ वर्षीय चन्द्रमाया विश्वकर्मा दलित महिला सदस्य पदमा विजयी भएकी छन् । १२ वर्ष अघिबाट सामाजिक सुरक्षा वृद्ध भत्ता खाएकी विश्वकर्मा २० वर्षपछि भएको स्थानीय निर्वाचनमा वडा कमिटि सदस्यमा विजयी भएकी हुन् ।

थाक्र गाउँपालिका वडा नं। ५ मा दलित महिलातर्फ विजयी भएकी चन्द्रमायाले ४९५ मत प्राप्त गरेकी छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सबिना बिकले ४७३ मत पाएकी छन् ।