मतदाता शिक्षामा दुई अर्ब स्वाहा, परिणाम सयमा ९ मत बदर

460

निर्वाचन आयोगले मतदाता शिक्षाका लागि २ अर्ब १० करोड बजेट खर्चको तयारी गरेको थियो। तर समय अभाव देखाउँदै आयोगले मतदाता शिक्षा सञ्चालनमा काम गर्न सकेन। आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने सकेसम्म मतदाता शिक्षा दिएको दाबी गरे। आयोगले वैशाखभरिका लागि २१ हजार मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता खटाएको थियो। तर निर्वाचन दुई चरणमा हुने भएपछि पहिलो चरणका लागि ६ हजार ४२ मतदाता शिक्षा स्वयंसेवी कार्यकर्ता खटाइएको थियो। ती स्वयंसेवी मतदाता शिक्षामा भन्दा पनि आफ्नो दलको प्रचारमा लागेको आरोप छ। निर्वाचन आयोगले मतदातालाई सजिलो हुनेभन्दा पनि कसरी मतपत्र छिटो छाप्ने भन्ने विषयमा माात्र ध्यान दिँदा बदर मत बढेको छ। आयोगले १९ वैशाखमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको थियो। तर, आयोगले त्यसको एक महिनाअघि नै चैतमै मतपत्र छाप्न सुरु गरेको थियो। यसै कारण उम्मेदवार नभएको दलको निर्वाचन चिह्न पनि मतपत्रमा छापिएको छ। यसका कारण धेरै मत ती चिह्नमा पनि परेको छ। दलहरूको एकआपसमा गठबन्धन गरे पनि मतदातालाई मतपत्रमा छापिएका चिह्नमा मतदान गर्नेभन्दा पनि आफ्नो दलको लहरैको चिह्नमा मतदान गर्न सिकाएका थिए। संसदमा प्रतिनिधित्व गर्ने दलको क्रमशः सातवटा चिह्न थिए। अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र दुईवटा खुला सदस्यमध्ये कुनै उम्मेदवार छैनन् भने पनि सातवटैमा मत हाल्न दलहरूले प्रचार गरेका थिए। यसले गर्दा पनि धेरै मत बदर भएको छ।