किन हुँदैछन् यति धेरै मत बदर ?

603

काठमाडौं । आजको नयाँ पत्रिका दैनिकले एउटा महत्त्वपूर्ण समाचार लेखेको छ, ‘तालमेल लगभग असफल’ शीर्षकमा । यो समाचार पढ्दा थाहा हुन्छ– काठमाडौंमा एमालेको समर्थनमा उपमेयरका उमेदवार बनेका राजाराम श्रेष्ठले ८९८ मत ल्याउँदा उमेदवार नै नभएको एमालेको सूर्य चिह्नमा ५७६ मत खसेको छ । भन्नु नपर्ला, यी ५७६ मतहरू खेर गएका छन् । यदि यी सबै मत राजाराम श्रेष्ठले पाएको भए उनी कांग्रेसकी उपमेयर उमेदवार हरिप्रभा खड्गीभन्दा धेरै मतले अगाडि हुन्थे । पत्रिकाले रिपोर्ट दिने बेला हरिप्रभाले ९४२ मत ल्याएकी थिइन् ।

उता अर्को महानगर ललितपुरको अवस्था पनि यस्तै छ । त्यहाँ एमालेको समर्थनमा उपमेयरमा उमेदवार बनेका राप्रपाका बाबुकाजी महर्जनले २१११ मत ल्याउँदा उमेदवार नै नभएको एमालेको चिह्नमा ३७७२ मत खसेको छ । यहाँ बदर मतको संख्या निकै धेरै छ ।

उता सोही पत्रिकाका अनुसार भरतपुरमा कांग्रेससँग गठबन्धन गरेकी माओवादी केन्द्रकी उमेदवार रेणु दाहाल मेयरमा एमालेका देवी ज्ञवालीभन्दा १६०० मतले पछाडि छिन् । तर उपमेयरमा भने कांग्रेसकी उमेदवारले एमाले उमेदवारलाई सय मतले उछिनेकी छिन् ।

यी समाचारहरूको विश्लेषण गर्दा सबैतिर बदर मतको संख्या उल्लेख्य रहेको र पार्टीहरूले केन्द्रीय स्तरमा गरेको चुनावी गठबन्धन स्थानीय तहमा पुग्दा त्यति प्रभावकारी नभएको देखा पर्छ ।

के छ त मत बदर हुनुपछिको प्रवृत्ति ?
काठमाडौं महानगरपालिकाको १४ नं. वडाकी बासिन्दा कल्पना पराजुली (नाम परिवर्तन) राम्रै पढालिखा सचेत महिला हुन् । उनी कलंकीस्थित एउटा प्रतिष्ठित बोर्डिङ स्कुलमा शिक्षिका छन् । उनको सम्पूर्ण परिवार नेकपा एमाले समर्थक छ । उनी स्वयं राजनीतिबारे राम्रो जानकारी राख्छिन् र चासो पनि दिन्छिन् । उनका देवर त एमालेको राजनीतिमा सक्रियसमेत छन् । कल्पनालाई काठमाडौं महानगरमा एमाले र राप्रपाबीच भएको चुनावी तालमेलको जानकारी पनि थियो ।

मतदान गरेर आएपछि उनले भनिन्, ‘‘उपमेयरमा एमालेले राप्रपालाई समर्थन गरेको थाहा थियो तर पूर्वमण्डलेहरूको पार्टीलाई भोट दिन मन लागेन । त्यसैले मैले बदर भए पनि होस् भनेर सातवटै ठाउँमा सूर्य चिह्नमा छाप ठोकेर आएँ ।’’

उनकी सासू प्रभा पराजुली (नाम परिवर्तन) ले त्यति पढेलेखेकी छैनन् । तर राजनीतिप्रति असाध्यै चासो छ, प्रभालाई । उनले पनि काठमाडौंमा एमाले र राप्रपाको तालमेल भएको थाहा पाएकी थिइन् । भोट दिएर आएपछि उनले भनिन्, ‘‘भोट दिने बेला झ्याप–झ्याप छाप लगाउँदै जाँदा उपमेयरमा पनि सूर्य चिह्नमै छाप लगाएँछु । छाप लगाइसकेपछि झल्याँस्स भएँ । तर छाप लागिसक्यो, के गर्ने ?’’

कामनपा–१४ कै सन्देश कार्की (नाम परिवर्तन) राजनीतिमा त्यति चासो दिँदैनन् । तर भोट चाहिँ दिए उनले । ‘‘कसलाई भोट दिनुभयो त, भन्न मिल्ला ?’’ बाह्रखरीको प्रश्नमा आफ्नो प्राकृतिक बिन्दास शैलीमा उनले भने, ‘‘म त केपी ओलीको फ्यान । सूर्यमा लगाइयो झ्याप झ्याप ।’’

‘‘अनि काठमाडौंमा एमाले र राप्रपाको तालमेल भएको थाहा थिएन ?’’
उनले भने, ‘‘हा..मलाई त्यस्ता कुरामा चासो छैन ।’’ उनले पार्टीहरूको चुनावी तालमेलअनुसार भोट नदिएका मात्र होइनन्, त्यसबारे जान्ने चासोसमेत देखाएनन् ।

काठमाडौंमा मत बदर हुनुका केही प्रतिनिधि उदाहरणहरू हुन् यी । त्यसो त बदर मतको प्रतिशत काठमाडौंमा मात्र होइन, पार्टीहरूले तालमेल गरेका अधिकांश ठाउँमा र तालमेल नभएका ठाउँमा समेत उल्लेख्य छ । तर लगभग सबैजसो ठाउँमा मत बदर हुनुको प्रवृत्ति चाहिँ त्यही नै हो, जुन कामनपा–१४ का केही मतदातालाई सोध्दा देखियो । मत बदर हुनुमा मतदाता शिक्षामा रहेको कमी एउटा महत्त्वपूर्ण पक्ष हो । तर बदर मतको एक मात्र कारण मतदाता शिक्षाको कमी मात्रै चाहिँ होइन ।

कामनपा–१४ का केही मतदाताले दिएको मत बदर हुन पुगेको यो प्रवृत्ति हेर्दा के देखिन्छ भने कतिपय मतहरू एमाले–राप्रपा वा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबीचको चुनावी तालमेललाई मतदाताले पचाउन नसकेका कारण बदर भएका छन् । यस्ता मतदाताहरूको प्रवृत्ति हेर्दा एमाले समर्थकले राप्रपाप्रतिको पुरानो पूर्वाग्रह वा घृणाका कारण जानी–जानी भोट नदिएको स्पष्ट हुन्छ । यही कुरालाई कांग्रेस–माओवादी केन्द्रबीचको तालमेलका सन्दर्भमा पनि उद्धृत गर्न सकिनछ ।

कतिपय कांग्रेस समर्थकहरू पार्टीले माओवादीलाई मत दिन भने पनि हँसिया हथौडामा छाप लगाउन आफ्नो अन्तरात्मा तयार नभएको प्रतिक्रिया दिन्छन् । केन्द्रीय नेताहरूले जे भने पनि पार्टी पार्टीबीच स्थानीय तहसम्म रहेको पुरानो तुस अझै मेटिन सकेको छैन भन्ने कुरा यसबाट स्पष्ट हुन्छ ।

यस्तै कतिपय मतचाहिँ मतदाताले हतार–हतारमा झ्याप–झ्याप छाप लगाउँदा चुनावी गठबन्धनको कुरा बिर्सेर बदर भएका छन् । कतिपय चाहिँ त्यस्ता मत बदर भएका छन्, जुन राजनीतिप्रति चासो नराख्ने त्यस्ता व्यक्तिहरूले दिएका हुन्, जसले अमुक पार्टीको अमुक नेतालाई रुचाएका कारण दिएका मत दिएका हुन् । त्यस्ता मतदाताले आफूले मत दिएको पार्टीले कोसँग कसरी तालमेल गरेको छ भनेर चासो राख्ने कोसिसै गरेनन् र बिन्दास पारामा झ्याप–झ्याप पारे, जसले गर्दा मत बदर हुन पुग्यो ।