जनकपुर निवासी सुलोचना खतिवडाले फोरम अध्यक्ष उपेन्द्र यादवलाई खुल्ला पत्र

388

श्री उपेन्द्र यादव ज्यु,
अध्यक्ष, संघीय समाजवादी फोरम नेपाल ।

यतिवेला तपाईं भारतको राजधानी नयाँ दिल्ली जानु भएको थाहा भएपछि केही नलेखि चित्त नबुझेर यो पत्र लेख्दै छु । म जनकपुर पढेर हुर्किने अवसर पाएकिले पनि केही हदसम्म मधेसी समाजलाई पढ्ने र बुझ्ने मौका पाएको यहाँलाई जानकारी गराउँछु । मधेसी जनताको पीडा, उनीहरुको भावना र राष्ट्रवादलाई मैले धेर–थोर छामेकी पनि छु । जनतालाई दोष दिन ठाऊँ कहिं पनि देखेकी छैन ।

केही दिन अघिको एउटा टेलिभिजन कार्यक्रममा तपाईंले मधेसीहरु सर्वोच्च स्थानमा पुग्ने ढोका राज्यसत्ता कब्जा गरेर बस्ने खसहरुले बन्द गरेको अभिब्यक्ति दिंदा म छक्क परें । संझें पहिलो राष्ट्रपति डा. रामबरण यादवलाई । पहिलो उपराष्ट्रपति परमानन्द झा पनि संझनामा आइपुगे । तत्कालीन सभामुख सुवासचन्द्र नेम्वाङ, तत्कालीन उपसभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीस रामकुमार साह आदि–आदि नाम र अनुहार झल्झली ताजा भएर आए । यी मध्ये कुन चाहिं खस जातीका थिए ? मैले भेउ पाईंन । तपाईं उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री हुनु भएकै हो । धेरै मधेसी नेताहरु उपप्रधानमन्त्री भइसकेका छन् । गृहमन्त्रालय पनि मधेसी नेताले चलाईसकेका छन् । राजेन्द्र महतो, शरतसिंह भण्डारी, विजयकुमार गच्छदार लगायतका नेता कतिपटक मन्त्री भए भन्ने गणना त सायद हुनेहरुलाई पनि गाहे होला । सत्तामा छँदा तपाईंहरुले मधेसी जनताको पक्षमा के काम गर्नु भयो ? यो मेरो प्रश्न होइन । संसद र क्याविनेटमा के–कस्ता मुद्धा दर्ता गर्नु भयो ? सायद मलाई मात्र होइन, कसैलाई पनि थाहा छैन । सुनेको छु, सम्माननीय प्रथम राष्ट्रपति डा. रामबरण यादवलाई तपाईंहरुले कहिल्यै मधेसी मान्नु भएन रे ! मेरो प्रश्न छ, तपाईंको नजरमा मधेसी हुन के हुनुपर्छ ? कांग्रेस, एमाले, माओवादी, राप्रपा लगायतलाई भोट दिने ७० प्रतिसत मधेसी जनतालाई तपाईं मधेसी मान्नु हुन्छ कि हुन्न ? राष्ट्रिय पार्टीमा रहेर मधेसका मुद्धामा सक्रिय नेताहरुलाई तपाईंको भन्नु के छ ? तपाईंहरुको यस्तो मानसिकताकावीच पहाडी मुलका मधेसीहरुको विषय झिक्ने मैले औचित्य ठानिनँ ।

तपाईले समेत नेतृत्वगर्नुभएको मधेसी मोर्चाले मधेस आन्दोलनमा सहिदहुनेलाई ५० लाख दिने निर्णय गरेको संझिदा म अवाक हुन्छु । आतंककारी संस्थाले मात्र गर्ने यस्तो निर्णय कुन न्यायको सिद्धान्तमा पर्छ ? ४८ जना सहिद भइसकेका छन् आन्दोलनमा । प्रश्न छ, त्यो ५० लाख रुपैयाँ उनीहरुको परिवारलाई कहिले दिने होला ? कहाँवाट दिने होला ? आम मधेसी जनता अत्यन्तै शोषित छन् र पीडित छन् ।

तपाईं कम्युनिष्ट पार्टीवाट राजनीति सुरु गर्नु भएको भनेपछि माक्सवाद पढेकै हुनुपर्छ । माक्र्सवाद पढेपछि तपाईंले जातीय र क्षेत्रीय नारा कति घातक हुन्छ भन्ने पनि बुझेको हुनुपर्छ । के मधेसी जनता भित्र सामान्ती छैनन् ? स्मरण गराउन चाहान्छु, ४८ जना सहिद हुँदा नाम चलेका ब्यक्ति एकजना पनि परेका छैनन् । अगुवा कार्यकर्ता समेत छैनन् । यसको अर्थ के हो ? तपाईंले कैलाली पुगेर त्यहाँका जनतालाई भन्नुभएको थियो, खुकुरी, खुँडा, भाला लिएर जनता सडकमा निस्कनुस् । त्यसको केही दिन पछि तपाईंले भनेझै हतियार बोकेर सडकमा मान्छेको हुल देखियो । त्यसहुलले पासविक ढंगले सुरक्षाकर्मीको ज्यान लियो । आफूले गरेको अनुरोध मानेर हुल निस्कियो । र, तपाईंको इसारा बुझे जस्तो गरेर दानवी शैलीमा प्रहरी मारिए । अहिले मधेसका हरेक आन्दोलनमा लठ्ठी र घरेलु हतियार प्रयोग भएको देखिन्छ । के शान्तिपूर्ण आन्दोलन यही हो ? कार्यकर्तालाई हतियार बोकाएर आन्दोलन गराएपछि राज्यले गोली ठोक्छ भन्ने सामान्य ज्ञान पनि तपाईंमा देखिएन । भारतका गृहमन्त्री राजनाथ सिंहले १ करोड भारतीय नेपालमा छन् भनेर घोषणा गरे । अर्का एकजना सांसदले मधेसका १६ जिल्ला खोसर पनि भारतले लिनु पर्छ भने । भारतीय सुरक्षाकर्मी नेपाल पसेर ४ जनालाई गोली ठोके । भारतीय राजदुतले अर्नगल विज्ञप्ती निकालेर ढाँट–छल गरिरहेका छन् । तर, यी सव दृश्यमा तपाईंहरुको समर्थन र मौन समर्थन देख्दा भक्कानो फुटेर आउँछ । किन तपाईंहरु यसरी लम्पसार पर्दै हुनुहुन्छ ?

उपेन्द्र जी, सोच्नु भएको छ – तपाईंको पार्टीलाई जनताले चुनावमा किन मरिच झैं चाहुरिपारिदिएका होलान् । किनभने मधेसका आम जनता राष्ट्रवादी छन् । भारतले सीमानामा ज्याजती मच्चाउँदा आँसु झारेर पहिला रुने मधेसी नै हुन्छन् । देश र जनताले आफूलाई यस्तै ठाऊँमा तौलिने हो भन्ने पनि तपाईंले बुझ्न सक्नु भएन ? तर, आन्दोलनले पार्टीको हैसियत बढाउँछ भन्ने ज्ञान र हेक्का चाहिं तपाईंमा बढी नै देखिन्छ ! एजेन्डा विहीन आन्दोलन हुँदैन । पहिला तपाईंको माग एक मधेस एक प्रदेश थियो । अहिले आएर थारुहरुको भिन्न राज्यको माग पनि थप्नु भएको छ । प्रदेश नं २ जनकपुरको भेटीले चल्दैन भनेर तपाईंले मधेसमा आम्दामीको स्रोत पनि खोज्दै हुनुहुन्छ । अशोक राईको पार्टीसँग मिसिनु भएको छ, राष्ट्रिय पार्टी हुन् । तर राष्ट्रिय पार्टीको अध्यक्ष जसरी प्रस्तुत हुन सक्नु भएको छैन । मधेसको कुरागर्दा आदिवासी, जनजातीको सवालमा चुप हुनुहुन्छ । राष्ट्रिय नेता हुन सवैका माग बोक्न सक्नुपर्छ कि पर्दैन ? र, मागमा एकरुपता हुनुपर्छ कि पर्दैन ?

संविधानसभा र संसद वहिष्कारको निर्णय गर्नु भयो । तर, प्रधानमन्त्रीको चुनावमा भाग लिनु भयो र कांग्रेसका सुशील कोइरालाई भोट हाल्नुभयो । यसको अर्थ के हो ? कोइरालाले चुनाव जितेको भए तपाईंहरु मन्त्रीमण्डलमा भाग लिनुहुन्थ्यो ? अर्को कुरा, तपाईंहरुले भनेको संविधान संसोधन गर्न कांग्रेस–एमालेको एकता भत्काएर संभव छ ? यो आन्दोलनलाई मधेसी जनताको अधिकारकोलागी भन्दा सत्तारोहणकोलागी हो भनेर लाजलाग्नेगरी नदेखाएको भएनै बेश हुने थियो । नेता ‘गोटी’ होइन, ‘स्ट्राइकर’ हुनसक्नु पर्छ । तपाईंलाई लागेको होला, दिल्लीले मधेसी जनताको भाग्य र भविश्य वनाइदिन्छ । यो भ्रमवाट तपाईंहरु ब्यूँझिदासम्म दिल्लीले कोशी र कर्णालीमा एकाधिकार जमाइसक्ने छ । नेता ‘गोटी’ हुँदाको परिणाम सम्पूर्ण जनता र देशले भोग्नु परोभने त्यो भन्दा दुखद अर्को हुँदैन । के यो यथार्थप्रति तपाईं जानकार हुनुहुन्छ ?

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले मधेसका मुद्धा नसुल्झिएसम्म सीमा अवरोध सहज नहुने कुरा तपाईंहरुलाई पनि भनेर आस्वस्थ पारिदिएकी छन् । तर तपाईं भन्नु हुन्छ, ‘आन्दोलन हामीले गरेको हो । नाकाबन्दी हामीले गरेको हो ।’ शीर्ष नेताहरुवीचको वार्ता छोडेर भारतीय दुताबास र दिल्ली गुहार्न जाँदा भने बिडम्बना नै लाग्छ । ठिकै छ, नाकाबन्दी तपाईंहरुले नै गरेको हो । तर, पैसावाला र भिआईपीलाई नाकाबन्दीले छुन सकेको छैन र छुने पनि छैन । दु:ख त विचरा जनताले पाएका छौं । ‘के नाकाबन्दीको अर्थ यही हो’ ?
मैले बुझ्न नसकेको प्रश्न के हो भने ‘यो नाकाबन्दी कस्कोलागी हो’ ? बिन्ती छ, हरेक राजनीतिक कदम चाल्दा वा भाषणगर्दा नेपाल र नेपाली जनतालाई संझेर छातीमा हात राखेर गर्नुहोला । इतिहासले धिक्कार्ने पात्र नबन्नु होला । किनभने तपाईं मधेसले आश गरेको नेतामा पर्नु हुन्छ ।

सुलोचना खतिवडा
काठमाण्डौ