७० हजार घुससहित जिशिअ र इञ्जिनियर अख्तियारको फन्दामा

498

वीरगन्जः अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७० हजार घुससहित पर्साका जिल्ला शिक्षा अधिकारी केदार तिवारी र इञ्जिनियर नवलकिशोर देवलाई पक्राउ गरेको छ ।

नेपाल राष्ट्रिय प्राथामिक विद्यालय मैनपुरका प्रधानाध्यापकसंग विद्यालय भवन निर्माणका लागि विनियोजित १९ लाख रकमको निकासा दिँदा लिएको ७० हजार घुस सहित अख्तियारको टोलिले पक्राउ गरेको हो । जिल्ला शिक्षा अधिकारी तिवारी र इन्जिनियर देवले भवन निर्माणका लागि बिनियोजित रकम निकासा गर्न घुस मागेपछि प्रधानाध्यापक अख्तियारमा उजुरी गर्न पुगेका थिए ।

अख्तियारको टोलीले उपलब्ध गराएको घुसको रकम शिक्षा अधिकारी तिवारीले ५० हजार बुझेको र इन्जिनियर देवले २० हजार बुझेपछि उनीहरुलाई जिल्ला शिक्षा कार्यालयबाटै पक्राउ गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।

पक्राउ परेका दुबैसँग अख्तियारले वारदाती मुचुल्कामा हस्ताक्षर गराएर अपराध कबुल गराएको छ । दुवै जनाले घुस लिएको स्वीकारेका छन् । पक्राउ परेका दुवैजनलाई अख्तियारको टोलीले काठमाडौ लगिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।