पुनर्निर्माण अनुदान वितरण सुस्त

375

काठमाडौं । भूकम्पपीडितका निजी आवास निर्माणका लागि वितरण गरिँदै आएको अनुदान दिने काम निकै सुस्त देखिएको छ । भूकम्पको २ वर्ष बितिसक्दा पनि हालसम्म दोस्रो र तेस्रो किस्ताको अनुदान लिने लाभग्राहीको सङ्ख्यामा उल्लेख्य प्रगति हुन सकेको छैन ।

पहिलो किस्ताको रकम ५० हजार लिने लाभग्राहीको सङ्ख्यात्मक अवस्था उच्च देखिए पनि त्यसको तुलनामा दोस्रो किस्ताका १ लाख ५० हजार रुपैयाँ अनुदान दिने लाभग्राहीको सङ्ख्या हालसम्म २ दशमलव ३१ प्रतिशत मात्रै पुगेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार पहिलो किस्ताको रकम लिने लाभग्राहीको सङ्ख्या ५ लाख ६० हजार ४ सय ३२ पुगेको छ भने त्यसको तुलनात्मक अवस्थामा दोस्रो किस्ताको अनुदान प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या २ दशमलव ३१ प्रतिशत अर्थात् १२ हजार ९ सय ६१ पुगेको छ ।

त्यसो त दोस्रो किस्ताको अनुदान रकम लिनका लागि ४१ हजार ९ सय ७० लाभग्राहीहरूले निवेदन दिएको प्राधिकरणले जानकारी दिएको छ । भूकम्पपीडितलाई अनुदान वितरण गर्दै आएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइको भूकम्पीय आवास पुनर्निर्माण आयोजनाको जेठ ४ गतेसम्मको तथ्याङ्कअनुसार यस्तो देखिएको हो । भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितहरूले दोस्रो किस्ताको रकम लिएका छन् भने कम प्रभावित थप १७ जिल्लाका भूकम्पपीडितहरू सबैले पहिलो किस्ताको अनुदान रकम पनि लिएका छैनन् ।

यस्तै, आयोजनाको तथ्याङ्कअनुसार तेस्रो किस्ताको अनुदान रकम प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या जम्मा १ हजार ८२ पुगेको छ । भूकम्पपीडित लाभग्राहीहरूले लिएको किस्ता अनुदानबाट मात्रै पुनर्निर्माणको भौतिक प्रगति देखिने भए पनि दोस्रो र तेस्रो किस्ताको अनुदान रकम लिने लाभग्राहीको सङ्ख्या अधिक न्यून हुँदा भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको स्पष्ट देखिएको छ । भूकम्पबाट अतिप्रभावित र कमप्रभावित गरी ३१ जिल्लाका ५ लाख ७७ हजार ७ सय ३५ घरधूरीसँग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जानकारी दिएको छ । यस्तै, हालसम्म ७ लाख २४ हजार ७ सय ९७ घरधनीको पहिचान भएको छ ।

अभियान