सडकबाट हिँडे दुई सय जरिवाना

451

काठमाडौं : सडकमा जथाभावी बाटो काट्ने पैदलयात्रीमाथि ट्राफिक प्रहरी कडारूपमा प्रस्तुत हुने भएको छ । बढ्दो सडक दुर्घटना र जोखिममा पैदलयात्री नै हुने गरेपछि जथाभावी बाटो काट्ने पैदलयात्रीलाई ट्राफिकले कारबाही गर्न लागेको हो ।सडकपेटी हुँदाहुँदै सडकबाटै हिँड्ने पैदलयात्रीलाई चेतनामूलक कार्यक्रम गरेर सुझाउँदा पनि अटेर गरेपछि ट्राफिक प्रहरी कारबाहीमा उत्रिन लागेको हो । महानगरीय ट्राफिक महाशाखाका अनुसार ‘पैदलयात्रु सुरक्षा अभियान’ जेठ १६ गतेदेखि उपत्यकाभित्र सडकपेटीबाट नहिँड्ने पैदलयात्रीलाई दुई सय जरिवाना लिइने भएको छ ।

महाशाखाले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा डीआईजी मिङ्मार लामाले पैदलयात्रीलाई अनुशासित बनाउन र दुर्घटनाबाट रोक्न उक्त उपाय अवलम्बन गरिएको बताउनुभयो । ‘ट्राफिक प्रहरीले अब पैसा उठाउन थाल्यो भन्ने कुरा पनि उठ्न सक्छ तर कानुनले अवलम्बन गरेका दफालाई हामीले प्रयोग गर्न लागेका हौं,’ लामाले भन्नुभयो, ‘बर्सेनि सडक दुर्घटनामा ४२ प्रतिशत पैदलयात्रीको मृत्यु हुँदै आएको छ, यो मृत्युदरलाई रोक्ने हाम्रो उद्देश्य हो।’

महाशाखाका अनुसार गत वर्ष १ सय ६६ जनाको सडक दुर्घटनामा मृत्यु भएको थियो । त्यसमध्ये ६९ जना पैदलयात्रीको मृत्यु भएको थियो । लामाका अनुसार दुर्घटना प्रतिशत हेर्दा दुईपांग्रे सवारीसाधन (मोटरसाइकल÷स्कुटर) मा चढ्ने ४४ प्रतिशतको मृत्यु हुँदै आएको छ ।सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १३६ र १३७ ले विपरीत कार्य गर्ने पैदलयात्रुमाथि दुई सयदेखि हजार रुपैयाँसम्म जरिवाना गर्ने उल्लेख गरेको छ । यो अधिकार विभागसँग २०४९ देखि भए पनि कार्यान्वयनमा आएको थिएन । गत वैशाख १३ गते मात्रै यातायात व्यवस्था विभागले ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरेपछि महाशाखाले कारबाही सुरु गर्न लागेको हो ।

सहरका भित्री भागमा सडकपेटी पर्याप्त छैनन् । भएका पनि दुई जना सजिलै हिँड्न नमिल्ने साँघुरा छन् ।

उपत्यकाका कतिपय स्थानमा सडकपेटी नभएको र भएका ठाउँमा पनि पेटी नै ढाकेर फुटपाथ पसल राखिएको अवस्थामा ट्राफिक प्रहरीले उल्टै पैदलयात्रीलाई दुई सय जरिवाना लिन खोज्नु सान्दर्भिक देखिँदैन । यसबारे डीआईजी लामा भन्नुहुन्छ, ‘सडक पैटी नै नभएको ठाउँमा पेटी बनाउन पहल गर्छौं, जेब्राक्रस नभएको ठाउँमा महानगरपालिकासँग सहकार्य गरेर राख्न लगाउँछौं, त्यतिले पनि भएन भने फ्लेक्सको जेब्राक्रस बनाएर भए पनि पैदलयात्रुलाई बाटो काट्न सहज बनाउँछौं ।’

कलंकीदेखि कालिमाटी हुँदै टेकु र त्रिपुरेश्वरसम्म आउँदा आंशिक ठाउँमा मात्रै सडकपेटी छन् । त्यसैगरी सहरका भित्री भागमा सडकपेटी पर्याप्त छैनन् । भएका पनि दुई जना सजिलै हिँड्न नमिल्ने साँघुरा छन् । यस्तो अवस्थामा ट्राफिक प्रहरीको कारबाही अभियान प्रभावकारी हुनेमा आशंका छ । ‘फुटपाथमा जथाभावी पसल राख्ने र पार्किङ गर्नेमाथि कारबाही तीव्र पारिएको छ, चैत २८ गतेदेखि हालसम्म मात्रै सात हजार बढीलाई कारबाही गरिसक्यौं, हामी फुटपाथ खाली गराउँछौं, पैदलयात्रु फुटपाथबाट हिँडिदिनुपर्छ ।’

‘पैसै नबोकेकालाई के कारबाही गर्नुहुन्छ’ भन्ने प्रश्नमा लामा भन्नुहुन्छ, ‘पैसै नबोकेकालाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टा प्रशिक्षण दिन्छौं ।’ लामाले फुटपाथ, जेब्राक्रस र आकासेपुलबाट बाटो काटेमा पैदलयात्रु आफैं सुरक्षित रहने बताउनुभयो ।अन्नर्पूर्ण दैनिक वाट