ताथलीमा नेमकिपा विजयी

3624

ताथली :भक्तपुरको चाँगुनारयण नपाका अन्य वडामा नेपाली काँग्रेस र नेेकपाा एमालेले वर्चस्व जमाए पनि ताथलीमा भने वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको सिंगो प्यानल विजयी भएको छ । नेकपा एमालेका तर्फबाट चाँगुनारायण नपामा मेयर बनेका सोम मिश्रको स्थान भए पनि सो ठाउँमा भने नेमकिपाले जित हासिल गरेको हो ।
नेमकिपाको तर्फबाट उम्मेदवार नेपाल क्रान्तिकारी युवा संघका केन्द्रीय सदस्य गणेश त्यातले १०५१ मत पाए भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सुवास ढुंगानाले ९९४ मत प्राप्त गरेका छन् ।
साविक ताथली गाविसमा नेमकिपाका उम्मेदवार महिला वडा सदस्य कमला भारती गिरी, दलित महिला सदस्य सुमित्रा दर्जी र वडा सदस्यहरुमा विद्यापति प्वार थापा र कृष्णराम बासुकला विजयी भएका छन् । उनीहरुले क्रमशः १०५२, १०४४, ९८९ र १०३२ मत पाएका थिए । ताथली गाविसमा विगतमा पनि नेमकिपाले नै विजयी हासिल गर्दै आएको थियो । योपटक एमालेले विभिन्न तरिकाले जित्न खोजे पनि त्यो भने सफल हुन सकेन ।
यसैबीच मंगलबार बिहान मतगणनाको परिणाम सार्वजनिक भए लगत्तै मतगणनास्थल खरिपाटीबाट निकालिएको विजयी जुलुस च्याम्हासिंह हुँदै ताथलीको फैढोकामा पुगेर समापन गरिएको थियो ।
कार्यक्रममा नेमकिपा भक्तपुर जिल्ला समितिका कार्यबाहक अध्यक्ष सुरेन्द्रराज गोसाईले एनजिओ र आईएनजिओको पैसाले चुनाव जित्नु जनताप्रतिको घात हो र कुनै पनि कम्युनिष्ट पार्टीले विदेशीको पैसाको आडमा चुनाव जित्ने नगरेको बताए । कार्यक्रममा नेमकिपाका नारायणभक्त न्हेमाफूकी र निर्वाचित वडाध्यक्ष गणेश त्यातले मतदातालाई धन्यवाद दिएका थिए ।