दरबार हत्याकाण्डका १६ वर्ष : किन मुख खोल्दिनन् देवयानी ? विस्तृतमा

987

भारतको सर्वोच्च अदालतमा हालै एक रिट दायर भएको छ, जसको उद्देश्य ६९ वर्षअघि महात्मा गान्धीमाथि नाथुराम गोड्सेले प्रहार गरेका तीन वटाबाहेक चौथो गोली पनि उनको शरीरमा देखिएकोबारे छानविन गराउने हो । यस्तै, ५४ वर्षअघि भएको तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडी हत्याकाण्डको रहस्य सुल्झाउने प्रयास अमेरिकाले जारी राखेको छ । अनुसन्धानका क्रममा उनको शव दुई पटकसम्म उत्खनन् गरेर अनुसन्धानकर्मीले रहस्य पत्ता लगाउने प्रयास गरिसकेका छन् ।
१६ वर्षअघि भएको नेपालको तत्कालीन शाही परिवारको सामूहिक हत्याकाण्डको रहस्य खोतल्ने प्रयास भने कसैले गरेको छैन । हत्याकाण्डका धेरै साक्षी जीवित छन्, अझ तत्कालीन युवराज दीपेन्द्रसँग अन्तिम फोन संवाद गरेकी देवयानी राणासँग त्यसक्रममा भएको कुराकानी खोतल्ने प्रयाससमेत कसैले गरेको छैन । र, उनी आफैंले पनि त्यसबारे मुख खोलेकी छैनन् ।
आखिर किन मुख खोल्दिनन्, देवयानीले रु प्रश्न अनुत्तरित छ । उनीसँगै विवाह गर्न नपाएको झोंकमा युवराज दीपेन्द्रले तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति, अधिराजकुमार निराजनलगायत आफूसहित शाही परिवारका १० सदस्यको ज्यान लिएको निष्कर्ष त्यतिबेलाका प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित दुई सदस्यीय छानविन समितिले निकालेको थियो । घटना हुनुअघि देवयानीले प्रयोग गर्ने ९८१०२४३३९ नम्बरको मोबाइलबाट युवराज दीपेन्द्रको साथमा रहेको ९८१०२१५१३ मा कुरा भएको ‘कल डिटेल्स’बाट देखिएको थियो । र, देवयानीको कोठामा रहेको ल्यान्डलाइन नम्बर ०१–४२३०५१ बाट पनि दीपेन्द्रको मोबाइल नम्बरमा सम्पर्क भएको पाइएको थियो ।
घटनालगत्तै उनी भारतको नयाँदिल्ली पुगेकी थिइन् । त्यति ठूलो नरसंहारमा जोडिएकी उनी कसरी भारत पुगिन्पु रपुरयाइन् भन्ने प्रश्न अझै अनुत्तरित छ । र, उनीसँग तत्कालीन शाही नेपाली राजदूत भेषबहादुर थापा र काउन्सिलर मोहनबहादुर सिलवालले नयाँदिल्लीस्थित दूतावासमै बयान लिएका थिए । बयानका क्रममा उनले आफू सन्चो नभएर उपचारका लागि नयाँदिल्ली आएको बताएकी थिइन् । उनीसँग बयान लिँदा एसके जैन नामक चिकित्सक पनि साथमा थिए । बयानका क्रममा अन्तिम फोन संवादको अधुरो प्रसंगमा मात्र राजदूत थापाले देवयानीसँग कुरा गरेका छन् । दीपेन्द्रसँगको उनको गहिरो सम्बन्ध, त्यसका कारण शाही परिवारमा उत्पन्न भएको असहज परिस्थितिलगायत कुनै विषयमा प्रवेश गरेका छैनन् । उनी रोएको कुराले राजदूत थापा पनि द्रवित भएको महशुस हुन्छ, रिपोर्ट पढ्दा ।
जबकि, शाही पाश्र्ववर्ती ९एडीसी०हरू गजेन्द्र बोहरा र राजु कार्की मात्र होइन, स्वयं देवयानीका मातापिताले समेत उनको दीपेन्द्रसँग सम्बन्ध रहेको स्वीकारेका छन् । उनी आफैंले पनि बयानमा दीपेन्द्रसँगको सम्बन्ध स्वीकारेकी छन् । दीपेन्द्रकी घनिष्ठ मित्र बताइएकी सुप्रिया शाहले पनि सोही तथ्यमा जोड दिएकी छन् । दुई दिनपछि तालिमका लागि अमेरिका उड्न लागेका दीपेन्द्रका एडीसी राजु कार्की त्यस दिन छुट्टीमा थिए । साँझ देवयानीले फोन गरेर ‘सरकार ९युवराज०लाई जाँड लागेजस्तो छ, अफिस गइकन एकचोटि हेर्न’ अह्राएको कार्कीले समितिलाई दिएको बयानमा उल्लेख छ । उनकै आग्रहमा आफू बिदाको समयमा पनि युवराजको अवस्था थाहा पाउन दरबार पुगेको बयान उनले दिएका छन् ।
उनी दरबार पुग्दा भने बीभत्स हत्याकाण्ड भइसकेको थियो । एडीसी कार्कीले देवयानी करिब नौ वर्षदेखि दीपेन्द्रकी ‘गर्लफ्रेन्ड’ रहेको बयानमा खुलाएका छन् ।दीपेन्द्रले नै आफ्नो निवासमा देवयानीलाई लिएर आउने गरेको पनि कार्कीले बताएका छन् । बयानका क्रममा दीपेन्द्रसँग घनिष्ठ सम्बन्ध रहेकी सुप्रियाले समितिलाई देवयानीसँगै विवाह गर्ने सोचमा उनी रहेको खुलाएकी छन् । र, देवयानीसँगै विस्तृत कुरा गर्न समितिलाई उनले आग्रह गरेकी छन् । समितिले देवयानीसँगको बयानका लागि अधिकार प्रत्यायोजन गरेका तत्कालीन राजदूत थापाले त्यसबारे प्रश्नसम्म सोधेका छैनन् ।

को हुन् देवयानी
राप्रपा नेता पशुपतिशमसेर राणा र पत्नी उषाराजे सिन्धियाकी कान्छी छोरी हुन्, देवयानी । उषाराजेका बाबु भारत ग्वालियरका पूर्वमहाराजा जर्ज जीवाजी राव सिन्धिया हुन् । उनकी आमा विजयाराजे सिन्धिया पनि भारतकी चर्चित राजनीतिज्ञ थिइन् । राजस्थानकी मुख्यमन्त्री बसुन्धराराजे सिन्धिया देवयानीकी सानीआमा हुन् भने ३० सेप्टेम्बर २००१ मा हवाई दुर्घटनामा निधन भएका भारतका पूर्वमन्त्री माधवराव सिन्धिया एक मात्र मामा थिए । देहरादुनको वेल्ह्याम गल्र्स हाइस्कुल, अजमेरको मायो कलेज गल्र्स स्कुल र दिल्लीको लेडी श्रीराम कलेजमा पढेकी हुन्, उनले । काठमाडौं विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । सन् १९८७ देखि १९९० सम्म दीपेन्द्रले इंग्ल्यान्डको इटन कलेजमा अध्ययन गरेका थिए । त्यतिबेला उनका स्थानीय अभिभावक थिए, सर जेरेमी बाग्गे । बाग्गेकी छोरी देवयानीकी साथी थिइन् । उनकै घरमा देवयानीसँग पहिलो पटक भेटेका थिए, दीपेन्द्रले । त्यसपछि नै हो, उनीहरूबीच प्रेम अंकुराएको । यस हिसाबबाट दीपेन्द्र र देवयानीबीच करिब १२ वर्षदेखि प्रेम सम्बन्ध रहेको बुझ्न सकिन्छ । यद्यपि, रानी ऐश्वर्यको आपत्तिका कारण उनीहरूको विवाह हुन सकेन ।
सोही विवादका क्रममा राजदरबार हत्याकाण्ड हुन पुगेको शंका गर्ने गरिएको छ । घटनालगत्तै उनी भागेर नयाँदिल्ली पुग्नुले पनि शंकाको सुविधा दिएको छ । र, घटनाबारे मौन बसेर उनले त्यसैलाई बल पु¥याइरहेकी छन् । ११ फागुन ०६३ मा भारत सिंग्रौलीका राजा भुपेन्द्रप्रसाद सिंहका पुत्र कुँवर ऐश्वर्य सिंहसँग उनको विवाह भयो । विवाह समारोहमा तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंह, कंग्रेस आई अध्यक्ष सोनिया गान्धीलगायत वरिष्ठ मन्त्री र नेताहरू समेत उपस्थित थिए । कुँवर ऐश्वर्य भारतका पूर्वमानव संशाधनमन्त्री अर्जुन सिंहका छोरीतर्फका नाति पनि हुन् । विवाहलगत्तै काठमाडौं आएकी देवयानीले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग पतिसहित भेट गरेकी थिइन् ।
विवाहपछि केही समय संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम ९यूएनडीपी०मा जागिर पनि खाइन् । विवाहको तीन वर्षपछि टेस्ट्युब प्रविधिबाट एक छोरालाई जन्म दिइन् । २०६४ सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा उनी बाबु पशुपतिशमसेरको सिन्धुपाल्चोकस्थित निर्वाचन क्षेत्रमा चुनावी अभियानमा सामेल भएकी थिइन् । त्यसलगत्तै भारत मध्यप्रदेशस्थित उनकी सासू बिना सिंहको चुनावी अभियानमा पनि देखिएकी थिइन् । संविधानसभाको दोस्रो निर्वाचनमा पनि उनी बाबुको क्षेत्रमा चुनावी अभियानमा जुटेकी थिइन् । केही समयअघि देवयानीले पतिसँग ‘डिभोर्स’ गर्दै गरेका अपुस्ट खबर सार्वजनिक भएका थिए । यद्यपि, त्यसबारे उनको माइतीघर विजयवास या पति ऐश्वर्यले मुख खोलेका छैनन् । बरु, गत पुसमा एकता महाधिवेशनका लागि दोलखाको शैलुंगेश्वरबाट राप्रपाको जिल्ला प्रतिनिधि बनेकी थिइन्, उनी ।

उम्मेदवार स्वयं उपस्थित हुनुपर्ने प्रावधानअनुसार उनी केन्द्रीय प्रतिनिधि भने बन्न सकिनन् । यसबाट के स्पष्ट हुन्छ भने उनी आगामी दिनमा नेपालमै बसेर बाबुको बिँडो थाम्ने योजनामा छिन् । सार्वजनिक भइसकेकै विषय हो, राणा परिवारमध्ये जुद्धशमसेर र चन्द्रशमसेरका खलकबीच चर्को द्वन्द्व छ । रानी ऐश्वर्य जुद्धशमसेरकी नातिनी हुन् भने पशुपतिशमसेर चन्द्रशमसेरका नाति । दीपेन्द्र र देवयानीबीच विवाह हुन नदिने अडानमा रानी ऐश्वर्य रहनुको एक कारण उक्त द्वन्द्व पनि मानिन्छ । देवयानीलाई बिहे गरे राजगद्दी खोस्ने चेतावनी रानी ऐश्वर्यले दिएको पनि त्यतिबेला अपुस्ट ढंगले सार्वजनिक भएको थियो । के त्यसो भए बाबुको हत्या गरेर राजा बन्ने अनि देवयानीसँग विवाह गर्ने सोचमा थिए दीपेन्द्र रु जवाफको आशा देवयानीबाटै गर्न सकिन्छ ।
यसरी भएको थियो घटना
तत्कालीन प्रधानन्यायाधीश उपाध्यायको अध्यक्षतामा बनेको त्यतिबेलाका सभामुख तारानाथ रानाभाट सम्मिलित दुई सदस्यीय उच्चस्तरीय समितिले तयार पारेको प्रतिवेदनमा युवराज दीपेन्द्रले नै शाही संहार गरेको निष्कर्ष निकालिएको छ । घटनाका प्रत्यक्षदर्शी, घाइते, घटनास्थलको प्रकृति, चिकित्सक र घटनामा नाम जोडिएका एक सय १० जनासँग लिइएको बयानमा आधारमा समितिले यस्तो निष्कर्ष निकालेको थियो । नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रबार राति नियमित पारिवारिक जमघट हुने गरेको थियो । १९ जेठ ०५८ मा त्यस्तो जमघट गराउने पालो युवराज दीपेन्द्रको थियो, जसमा राजपरिवारका सदस्य र नातेदार गरी २४ जनालाई आमन्त्रण गरिएको थियो । आमन्त्रितमध्ये अधिराजकुमारी प्रेक्षा, कुमार मोहनबहादुर शाही र राजकुमारी विमला सिंह भने त्यस जमघटमा उपस्थित भएनन् ।
तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र पछि राजा भने काठमाडौंबाहिर रहेकाले उपस्थित थिएनन् । राजा वीरेन्द्रका हजुरबुवा त्रिभुवनको बासस्थल थियो, त्रिभुवन सदन । त्रिभुवनकी कान्छी रानी ईश्वरी राज्यलक्ष्मीको निधनपछि युवराज दीपेन्द्रलाई उक्त भवन उपलब्ध गराइएको थियो । शाही जमघट गराउने आफ्नो पालो भएकाले दीपेन्द्रले बाबु–आमा, हजुरआमा रत्नलगायत सबै पाहुनालाई त्रिभुवन सदनमै आमन्त्रण गरेका थिए । छानविन समितिको प्रतिवेदनअनुसार शुरुमा दीपेन्द्र नै जमघट स्थलमा पुगेका थिए । त्यसपछि तत्कालीन मुमा बडामहारानी रत्नलाई आफैंले कारमा राखेर ल्याएका थिए । उनीसँगै तत्कालीन अधिराजकुमार हेलेन पनि आएकी थिइन् ।
सबै पाहुना आइसकेपछि राति साढे आठ बजे तत्कालीन राजा वीरेन्द्र जमघट स्थलमा आएका थिए । त्यसको एक घण्टाअघि नै दीपेन्द्रले ‘फेमस ग्रस’ ब्रान्डको ह्विस्की पिइसकेका थिए । त्यतिमै शरीर थाम्न नसकी ढलपल गर्न थालेपछि भाइ निराजन, शाहज्यादा पारस, बहिनी श्रुतिका पति कुमार गोरख र शाही नातेदार डा। राजीवले समातेर उनको खोपीमा पुर्याएका थिए । त्यसको केही समयपछि दीपेन्द्रले चुरोट मागे । र, एडीसीहरूले शाहज्यादा पारसमार्फत् गाँजा मिसिएको चुरोट पुर्याए । खोपीमा पुगेपछि बाथरुममा छिरेर बमिट गरेको तथा अर्दली र द्वारेआमालाई आ–आफ्नो कोठामा जान उनले अह्राएका थिए । त्यसपछि देवयानीसँग मोबाइलमा कुरा गरेर सैनिक कम्ब्याट पहिरिएका दीपेन्द्र दुईतिर राइफल र १२ बोर भिरेर जमघट स्थल बिलियार्ड हलमा प्रवेश गरेका थिए ।
त्यसपछि एमपी–५के सब–मेसिनगनबाट शुरुमा सिलिङ र त्यसपछि राजा वीरेन्द्रलाई गोली बर्साए । त्यसपछि बाहिरिएका उनले पुनः फर्केर राजा वीरेन्द्र, कुमार गोरख, काका धीरेन्द्र, कुमार खड्गविक्रम शाहमाथि गोली प्रहार गरे । त्यसपछि पछाडि सर्दै बहिनी श्रुति, फुपूहरू शारदा र शान्ति, शाहज्यादी जयन्ती शाहलगायतलाई प्रहार गरे । उनलाई लखट्दै गएकी आमा ऐश्वर्य र भाइ निराजनलाई जमघट स्थलको बाहिरपट्टि गोली प्रहार गरी हत्या गरे । त्यसको केही समयपछि ग्लक पेस्तोलबाट आफैंलाई गोली प्रहार गरेको अचेत अवस्थामा उनी फेला परेका थिए । गोली लागेकामध्ये राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, अधिराजकुमारी शान्ति, अधिराजकुमारी शारदा, शाहज्यादी जयन्ती, कुमार खड्गविक्रम र धीरेन्द्र शाहको निधन भयो ।
समितिले देवयानीसँगको बयानका लागि अधिकार प्रत्यायोजन गरेका तत्कालीन राजदूत थापाले त्यसबारे प्रश्नसम्म सोधेका छैनन्।घाइते भएका तत्कालीन अधिराजकुमारी ९पछि रानी० कोमल, अधिराजकुमारी शोभा, कुमार गोरख र केतकी चेस्टर लामो उपचारपछि घर फर्के । नेपाली सेनाका एक अवकाशप्राप्त जर्नेलको भनाइमा यस हत्याकाण्डका पछाडि बाबुलाई मारेर राजा हुने उद्देश्य देखिँदैन, दीपेन्द्रको । ‘उनको उद्देश्य त्यही थियो भने पनि बाबुको हत्यापछि गरेको परिवारका अन्य सदस्यको हत्याले परिस्थिति उनकै काबुबाहिर गएको मान्न सकिन्छ । र, हीनताबोधका कारण आफैंलाई गोली हानेर आत्महत्या गरेजस्तो लाग्छ,’ ती जर्नेल भन्छन् । उनका अनुसार संसारमा ‘रेगिसाइड’ भनिने यस्ता हत्याकाण्डका पछाडि तीन वटा कारण हुन्छन्, आफैंले शासन हत्याउने, सम्पत्ति हात पार्ने र राजनीतिमा प्रभाव जमाउने । ‘दीपेन्द्रले गराएको घटना दुर्घटना मात्र भएको मान्न सकिन्छ,’ उनी भन्छन् ।
समितिको प्रतिवेदनलाई बारम्बार अध्ययन गरेका र अपराध अनुसन्धानमा पोख्त मानिएका नेपाल प्रहरीका एक डीआईजीको भनाइमा त्यति छोटो समयमा जति धेरै व्यक्तिहरूसँग समितिले बयान लिएको छ, उनीहरूबीच सल्लाह गरेर एउटै कुरा बोल्ने सहमति हुन सक्ने देखिँदैन । ‘सबैका बयानलाई आपसमा जोडेर हेर्दा धेरै ठूलो रहस्यको आभास पाइँदैन,’ उनी भन्छन्, ‘तर, वैज्ञानिक परीक्षण गराउने पक्षमा ठूलो कमजोरी भएको छ र घटना रहस्यमय बनेको देखिन्छ ।’
उद्दण्ड युवराज
नजिकबाट चिन्नेहरूले भन्ने गरेका छन्, युवराज दीपेन्द्र द्वैध चरित्रका थिए । उनको सार्वजनिक जीवन शान्त र भलाद्मी व्यक्तित्वका रूपमा थियो । दरबारभित्र भने उनी उद्दण्ड चरित्रका थिए । साँझ परेपछि बास बसेका परेवा, काग र सारस मार्थे, मुसा समातेर पुच्छरमा आगो सल्काउँदा रमाइलो मान्थे । बेलायतमा पढ्दै गर्दा मुम्बईबाट प्रकाशित हुने म्यागेजिन ‘ब्लिज’ले उनी मदिरामा लठ्ठिएको तस्बिर प्रकाशित गरेको थियो । त्यसो त, बुढानीलकण्ठ स्कुलमा पढ्दैखेरी चुरोटका सौखिन देखिइसकेका थिए ।उनी आर्थिक संकटमा रहने गरेको पनि सार्वजनिक भइसकेकै विषय हो । खर्च माग्नुपर्ने बाध्यताका कारण आमा ऐश्वर्यसँग सम्बन्ध राम्रो नरहेको निकटस्थहरूले बताउने गरेका छन् । रानी ऐश्वर्य कतिसम्म अपरिपक्व थिइन् भने राजा वीरेन्द्रको शुभराज्याभिषेक पार्टीमा स्वदेशी÷विदेशी विशिष्ट पाहुना उपस्थित थिए । जानकारहरूका अनुसार बालक दीपेन्द्र खुरुर्रर दौडेर उनको काखबाट टाढा पुगे, उनले समातेर सबै पाहुनाका अगाडि चड्कन लगाइन् । पाहुनाहरूले मुखामुख गरेर रानीको अपरिपक्वताप्रति आश्चर्य प्रकट गरे ।
बाबु राजपाठमै व्यस्त, आमासँग तनाबको सम्बन्धका बीच उनले ‘मेन्टर’ पनि आफूभन्दा परिपक्व पाएनन् । एडीसीद्वय गजेन्द्र बोहरा र राजु कार्की उनकै उमेरका थिए । जबकि, राजा महेन्द्रले तत्कालीन युवराज वीरेन्द्रभन्दा परिपक्व व्यक्ति ईश्वरनरसिंह राणालाई उनको मेन्टर बनाएका थिए । एक पूर्वसैनिक सचिवका अनुसार दरबारको एडीसी दायित्वमा दुई वर्षका लागि पुगेका रतिन्द्र खत्रीले त्रिभुवन सदन र युवराज दीपेन्द्रको गतिविधि देखेर परिपक्व व्यक्तिको उपस्थिति अभाव औंल्याएका थिए ।
ती पूर्वसैनिक सचिव भन्छन्, ‘त्यसबारे राजा वीरेन्द्रलाई पनि महशुस थियो तर हेल्चेक्र्याईं गरियो ।’ दरबारका पूर्वप्रमुख सचिव रेवतीरमण खनालले पनि आफ्नो आत्मकथा ‘अनभूति र अभिव्यक्ति’मा राजा वीरेन्द्रलाई दीपेन्द्रको उद्दण्डताबारे जाहेर गरेर पनि केही नभएको उल्लेख गरेका छन् । उनका एडीसीहरू उस्तै उमेरका रहेकाले उमेर पुगेको व्यक्तिलाई राख्न आग्रह गर्दा राजाले सुने पनि त्यसका लागि पहल नगरेको उनको पुस्तकमा उल्लेख छ ।
दीपेन्द्रलाई राजा हुनका लागि कसैले ‘ट्रेन्ड’ गरिरहेको देखिएको थिएन । बाबुसँगको भेटघाटसमेत अन्तरंग कुराकानी हुने हिसाबले हुँदैनथ्यो । औपचारिक कार्यक्रममा औपचारिक उठबसजस्तो मात्र देखिन्थ्यो ।‘यस पाटोमा राजा वीरेन्द्रले गल्ती गरेकै हुन्,’ तत्कालीन दरबारका एक कर्मचारी भन्छन्, ‘छोराको मनोदशा बुझेर त्यसको समाधान गर्नेतिर राजाको ध्यान पुगेको देखिँदैनथ्यो ।’ जानकारहरूका अनुसार राजा महेन्द्रले युवराज वीरेन्द्रले हतियार चलाएको थाहा पाए तत्काल कब्जामा लिन लगाएर कोतमा चाबी लगाएर राख्न लगाउँथे । दीपेन्द्रका हकमा हतियारको सहज उपलब्धता दरबारले गरेको ठूलो त्रुटि रहेको नेपाल प्रहरीका एक पूर्वडीआईजीको भनाइ छ । त्यसमाथि सेनाको खरिपाटी तालिम केन्द्रमा उनलाई सैनिक तालिम लिन पठाउनु अर्को त्रुटि रहेको उनी बताउँछन् । भन्छन्, ‘दीपेन्द्रलाई राजा होइन, सैनिक बनाउन खोजियो । त्यसैको परिणाम हो, दरबार हत्याकाण्ड ।’
अनुत्तरित प्रश्न
युवराज दीपेन्द्रले नै शाही संहार गरेको निष्कर्ष निकाल्ने हो भने पनि घटनाबारे केही प्रश्न अनुत्तरित छन्, जुन गहन छानविनपछि सार्वजनिक हुनु जरुरी देखिन्छ । पहिलो त, उनीसँग नाम जोडिएकी देवयानी राणालाई त्रिभुवन विमानस्थलबाट तत्काल बाहिरिन कसले अनुमति दियो या फर्काउने प्रयास किन भएन भन्ने प्रश्नको जवाफ कसैले खोजेको छैन । जबकि, ठूला घटनामा मुछिएका व्यक्तिहरूलाई त्रिभुवन विमानस्थलबाटै फर्काइने गरेको थियो । जस्तो ः भ्रष्टाचार काण्डमा मुछिएका पूर्वमन्त्री स्वर्गीय रवीन्द्रनाथ शर्मालाई विमान चढ्दै गर्दा फर्काइएको थियो । देवयानीलाई भने रोक्ने कोही देखिएनन् । दोस्रो, छानविन समिति र त्यसले अधिकार प्रत्यायोजन गरेका भारतका लागि राजदूत थापाभन्दा माथिल्लो ओहोदाको व्यक्ति भएझैं गरी देवयानीसँग दूतावासमा बयान लिइयो, देशको एउटा नागरिकलाई स्वदेश फर्काएर बयान लिने प्रयाससम्म भएन ।दरबारकै वरिष्ठ पदाधिकारीहरू, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तित्वलाई घुमाइफिराइ प्रश्न सोधिएको समितिको प्रतिवेदनबाटै स्पष्ट हुन्छ । देवयानीका हकमा पूरै छुट किन दिइयो रु हत्याकाण्डको ‘मोटिभ’ पत्ता लगाउने उद्देश्यले उनीसँग सवाफजवाफ किन गरिएन रु अझै पनि उनलाई बोलाएर बयान लिने र सत्य÷तथ्य खोतल्ने प्रयास किन भएको छैन रु तेस्रो, राजा वीरेन्द्रलगायत मृतकहरूको पोस्टमार्टम गराइएन । त्यतिबेलाका एक सुरक्षा प्रमुखका अनुसार सैनिक अस्पतालमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला लगायतसँग सबै कानुनी विधि र प्रक्रिया पूरा गराउनुपर्ने बताएका थिए । तथापि, कुनै एडीसीले मुमाबडामहारानी रत्नको नाम लिँदै ‘राजाको शरीर चिरेर तमासा नदेखाउन निर्देशन भएको’ सन्देश दिए । प्रधानमन्त्री कोइरालाले पनि एडीसीको विश्वासमा पोस्टमार्टम नगराउने कुरामा सहमति जनाए ।‘घटना भएपछि त्यसको कारण र परिणाम पत्ता लगाउने दायित्व राज्यको हो । तर, दरबार हत्याकाण्डमा अनुसन्धानको पाटो नै बन्द गराइयो,’ नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी भन्छन्, ‘फोरन्सिक टुल्स नै प्रयोग गर्न दिइएन । ब्यालेस्टिक जाँच पनि भएन ।’ स्रोतका अनुसार तत्कालीन उपत्यका प्रहरी कार्यालयका डीआईजी ओमविक्रम राणा ९पछि आईजीपी०ले पनि सैनिक उच्च अधिकृतहरूसँग पोस्टमार्टम गरेर कानुनी प्रक्रिया पूरा गर्नैपर्ने आग्रह गरेका थिए । तर, उनीहरूले मानेनन् । र, शवहरूको घटनास्थल मुचुल्कासम्म पनि तयार गरिएन । कतिसम्म भने कानुन कार्यान्वयनको दायित्व पाएको नेपाल प्रहरीलाई दिवंगत राजाको शवको तस्बिर खिच्न पनि दिइएन ।
प्रहरीले खिचेका अन्य तस्बिरसमेत रिलसहित दरबार लगियो । राजा भएको तीन वर्षपछि ०६१ सालको मध्यतिर ज्ञानेन्द्र शाहले घटनास्थल त्रिभुवन सदन भत्काउन लगाए । संसारका ठूला घटनामा घटनास्थलको प्रमाण नष्ट गर्ने शैली नै त्रिभुवन सदनमा पनि देखिनुले शंकाको अर्को सुविधा दिएको छ । नेपालमा जति पनि शंकास्पद मृत्यु भएका छन्, सबैमा आयोग या छानविन समिति गठन गरेर प्रहरीलाई अनुसन्धानको बाटो छेक्ने गरिएको छ । दरबार हत्याकाण्डमा पनि त्यही भयो । दुई सदस्यीय अध्ययन समिति गठन गरियो र प्रहरीलाई अनुसन्धानको जिम्मा दिइएन । पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले आफ्नो पुस्तक ‘कूटनीति र राजनीति’मा पछिल्ला दिनमा राजा वीरेन्द्रले बोक्ने ब्रिफकेसमा पेस्तोल देखिने गरेको उल्लेख छ । ‘मनमनै प्रश्न उठ्थ्यो– दरबारभित्र राजालाई पेस्तोलको आवश्यकता किन परेको होला रु जवाफ पाउन्नथें ।अनेक शंकारउपशंका उब्जिन्थे,’ पाण्डेले लेखेका छन् । जबकि, राजा वीरेन्द्रसँग सीधा भेट्न पाउनेमा रानी ऐश्वर्य, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजन मात्र थिए । युवराज दीपेन्द्र मात्र होइन, तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रले समेत भेट्नु परे ‘अपोइन्टमेन्ट’ लिनुपथ्र्यो । त्यति मात्र होइन, बाहिरबाट हेर्दा वीरेन्द्रलाई कुनै सुरक्षा जोखिम देखिँदैनथ्यो । छोरी श्रुतिको लाजिम्पाटस्थित घर जानु परे पनि उनी पैदल यात्रा गर्थे ।सोही प्रसंगमा पाण्डेले क्षेत्रीय खेलकुद महोत्सवका अवसरमा नासल चोकमा आयोजित स्वागत समारोहमा दीपेन्द्रले भनेका कुरा उद्धृत गरेका छन्, ‘युवालाई विश्वास गर्नुपर्छ, लक्ष्यसहितको जिम्मा दिनुपर्छ, जस्तो काम पनि फत्ते हुन्छ । यो कुरा बुवालाई भन्नुपर्यो ।’
के त्यसो भए दीपेन्द्रमा बाबु जीवित छँदै राजा हुने या अन्य कुनै जिम्मेवारी हात पार्ने महत्वाकांक्षा पलाएको थियो रु पाण्डेको पुस्तकले जिज्ञासा मात्र उत्पन्न गराउँछ । दरबारका पूर्वसैनिक सचिव विवेककुमार शाहले आफ्नो पुस्तक ‘मैले देखेको दरबार’मा पनि दीपेन्द्रका बदमासीहरूबारे उल्लेख गरेका छन् । र, उनमा परपीडक स्वभाव भएको बताएका छन् । दरबारमा उनलाई राजा बनाउने गरी यथेष्ट अभिभावकत्व र लालनपालन हुन नसकेको उनको जिकिर छ, पुस्तकमा ।उनमा स्त्रीलम्पट स्वभाव विकास भएको र त्यसैमा खेलेर विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएको उनको पुस्तकमा दाबी छ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बाँचुन्जेल यसलाई ‘ग्रान्ड डिजाइन’अन्तर्गतको घटना भएको बताइरहे तर त्यसबारे खुलासा कहिल्यै गरेनन् । तत्कालीन परराष्ट्रमन्त्री तथा कांग्रेस नेता चक्र बाँस्तोलाले एक राष्ट्रिय दैनिकको विशेषांकमा कोइरालाको पनि हत्या गर्ने योजनामा दरबार हत्याकाण्ड भएको जिकिर गरेका थिए । कोइरालामाथि हत्या नै गर्ने मनसायले २० जेठ ०५८ मा दरबारबाट बालुवाटार जाने क्रममा सांघातिक आक्रमण नै भएको थियो ।
दरबारमा विदेशी चलखेल
पछिल्ला दिनमा तत्कालीन राजदरबारका प्रसंगहरू समेत जोडिएका पूर्वमन्त्री पाण्डे र पूर्वसैनिक सचिव शाहका पुस्तकहरूले हत्याकाण्डमा विदेशी चलखेलको शंका गर्न छुटाएका छैनन् । पाण्डेले आफ्नो पुस्तकमा भारतका तत्कालीन विदेशमन्त्री जसवन्त सिंहको भनाइ उद्धृत गरेका छन्, ‘जुन २ मा शुरु हुने रुसको औपचारिक भ्रमणमा जान लागेको थिएँ । बिहान सात बजेतिर फोनको घण्टी बज्यो– नेपालका युवराजले चलाएको गोलीले राजा, रानीलगायत सम्पूर्ण परिवारको हत्या भएछ । नेपाल पहिले कहिल्यै अनुभव नभएको डरलाग्दो शोकमा परेको जानकारी पाएको केही बेरमै मनालीमा छुट्टी मनाउन बसेका प्रधानमन्त्री अटलविहारी बाजपेयीको फोन आयो– नेपाल गहिरो संकटमा परेको छ ।उहाँको छोटो कुरा सुनेपछि म मस्कोका लागि प्रस्थान गरेँ ।’ निकटको छिमेकी ‘गहिरो संकटमा परेको’ मूल्यांकन गर्ने सरकारका प्रधानमन्त्री छुट्टी मनाएर राजधानीबाहिर बस्ने, परराष्ट्र र रक्षामन्त्री जानकारी पाउनेबित्तिकै विदेश भ्रमणमा जानेजस्ता हलुका प्रतिक्रिया रहस्यपूर्ण रहेको पाण्डेले उल्लेख गरेका छन् । उनको पुस्तकमा उल्लेख छ, ‘राति भएको घटनाको जानकारी नेपालमा सबैभन्दा ठूलो दूतावास भएको भारतका परराष्ट्रमन्त्रीले बिहान सात बजेतिर मात्रै पाउनु र उहाँभन्दा पहिले राजधानीबाहिर छुट्टी मनाइरहेका प्रधानमन्त्रीले पाउनु आश्चर्यजनक वा अर्थपूर्ण नै थियो । भारतले राजा वीरेन्द्रको हत्यापछि शोक सन्देश पठाउन पनि चार दिन लगायो ।’
सोही प्रसंगमा पाण्डेले दरबार हत्याकाण्डबारे न्युयोर्क टाइम्सको विश्लेषण उल्लेख गरेका छन्, ‘चीनसँग हतियार किनेकामा दण्ड दिन भारतले एक दशकपहिले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएको थियो । हालै मात्र पनि भारतले नेपाललाई चीनको बढी नगीच गएको र आफ्नो भूमिमा पाकिस्तानी एजेन्टहरूलाई भारतविरुद्ध गतिविधि गर्न दिएको आरोप लगाएको थियो ।’ पूर्वसैनिक सचिव शाहले त राजदरबार हत्याकाण्ड विदेशी षडयन्त्र नै भएको ठोकुवा गरेका छन् । ‘संसारमा एउटा शक्तिले अर्कोलाई सिध्याउन अनेक किसिमका षडयन्त्र गरिएका छन् । शक्तिमा भएको कुनै व्यक्तिलाई अर्को शक्तिले सिध्याउनु छ भने पहिले त्यो व्यक्तिको कमजोर खोज्छ । दरबार हत्याकाण्डका पछाडि पनि गम्भीर षडयन्त्र छ भन्ने मेरो निक्र्योल छ,’ उनको पुस्तकमा उल्लेख छ, ‘कमीकमजोरी दीपेन्द्रमा पनि थिए ।
उनको सबैभन्दा मुख्य कमजोरी महिला नै थियो । एउटा परिवारमा हुन सक्ने कलह वा झगडा राजा वीरेन्द्रको परिवारमा पनि थियो । दीपेन्द्रको विवाहका सन्दर्भमा दरबारभित्र उठेको किचलोमा उनलाई कुनै वैदेशिक शक्तिले खेलाएको अनुभव हुन्छ । यो मूलतः राजनीतिक षडयन्त्र थियो ।’ दरबारसँग गठिलो सम्बन्ध भएका दुवैका पुस्तक खास तथ्य खोतल्न भने असफल छन् । छानविन समितिको प्रतिवेदनले त देशीरविदेशी षडयन्त्रको आभाषसम्म दिँदैन । किनभने, त्यो विवरणात्मक मात्र छ, विश्लेषण शून्य छ ।
दरबारमा विदेशी चलखेलका नौलो विषय होइन । पूर्वसैनिक सचिव ऋषिकुमार पाँडेको जीवनीमा दरबारकै कर्मचारीले आफ्ना सहकर्मीहरूको व्यक्तिगत विवरण ९सीभी० बनाएर लैनचौरस्थित भारतीय दूतावास पुर्याएको उल्लेख छ । पत्रकार जगत नेपालको हालै प्रकाशित ‘बीपी, जीपी र गणतन्त्र’ शीर्षकको आलेखमा दरबारमा कार्यरत जर्नेल शेरबहादुर मल्लसँग बीपी कोइरालाले भनेको प्रसंग उल्लेख छ । ‘एक दिन बीपीलाई थुनामा राखिएको प्रहरी तालिम केन्द्रको सुरक्षा पहरा हट्यो । क्षणभरमै आईजीपीका साथ जनरल शेरबहादुर मल्ल देखापरे । जनरल मल्लले भने, ‘अहिलेको अवस्थामा राजा र तपाईंका बीच भेट हुनु दुवैको हितमा छैन । तपाईंको कुनै सन्देश छ भने मलाई भन्दा हुन्छ ।’
बीपीले मल्लसँग भने, ‘म राजाबाहेक अरू कसैसँग सन्देश पठाउँदिनँ । सत्तामा त्यस्ता निहित तत्व र विदेशी शक्ति पनि छन्, जो हाम्राबीच कुनै समझदारी चाहँदैनन् । हामीलाई विभाजित राखिराख्न चाहन्छन् । मलाई थाहा छ, राजाको वरिपरिका मानिसमध्ये धेरैले आफ्नो दुनो सोझिने हो भने देशलाई धोका दिन बेर लगाउँदैनन् ।’ बीपीको निशाना उनै जर्नेल मल्ल थिए । मल्ल तिनै व्यक्ति हुन्, जो राजा महेन्द्रको निधन हुँदा रानी रत्नसँग थिए । राजा महेन्द्रको निधन प्राकृतिक हिसाबबाट भएको मान्दैनन्, इतिहासकारहरू । आत्महत्या या हत्याको आशंका गर्ने गरिएको छ । दरबारका पूर्वप्रमुख सचिव खनालको पुस्तकमा पनि दरबारमाथि विदेशी दबाब तीव्र हुने गरेको उल्लेख छ ।
०४६ सालमा भारतको कुरा मान्नुभन्दा जनताको माग स्वीकार्ने निर्णयमा राजा वीरेन्द्र पुग्नुको कारण त्यही भएको बताएका छन्, खनालले । भारतको दबाब बढ्दै जाँदा वीरेन्द्रले ०४५ सालको परिवर्तन हुनु चार वर्षअघि नै चीनसँगको सम्बन्ध गठिलो बनाउँदै लगेका थिए । दरबार हत्याकाण्ड भएको सेरोफेरोमा पनि उनले चीन भ्रमण गरेका थिए । खासगरी, बोआओ फोरममा सहभागी हुने क्रममा उनले चीनमा उच्चस्तरीय भेटघाट गरेका थिए । र, माओवादी समस्या सैद्धान्तिक हो कि जनताले पीरमर्काका कारण उनीहरूको साथ दिएका हुन् भन्ने प्रश्न गरिरहन्थे भेटघाट हुने व्यक्तिहरूसँग । केचाहिँ सत्य हो भने नेपाल संघीय गणतन्त्रात्मक मुलुक बन्ने प्रस्थानविन्दु बन्यो, दरबार हत्याकाण्ड । दरबारियाहरूले अहिले प्रश्न गर्ने गरेका छन्, ‘कतै उक्त हत्याकाण्ड राजतन्त्रको समाप्तिको पहिलो पाइला त थिएन .#साभार अन्नपूर्ण