बाला–राउत टोल सडकमा ग्राभेल, स्थानीयलाई राहत

829

ताथली : चाँगुनारायण नपा ९ ताथलीको बाला टोल र राउत टोल जोडिने सडकमा ग्राभेलिङ गरिएको छ । नगररपालिकाले ग्राभेलिङका लागि रु. १ लाख २० हजार आर्थिक सहयोग गरेपछि सो सडकमा ग्राभेलिङ गरिएको हो ।
‘सडकमा ग्राभेल नहुँदा आवतजावतमा समस्या थियो, सडकभरी खाल्डाखुल्डीहरु थिए, केटाकेटी र ज्येष्ठ नागरिकलाई दैनिक आउजाउ गर्न समस्या थियो,’ स्थानीय दिल बालाले भने, ‘सोही समस्या समाधान गर्नका लागि हामीले लामो प्रयासपछिमात्र ग्राभेलिङ गर्न सकेका हौं, ग्राभेल भएपछि आउजाउमा सहजता मिलेको छ ।’ बाला सो सडकमा ग्राभेलिङ गर्ने उपभोक्ता समितिका अध्यक्ष पनि हुन् ।
उनले बाला–राउत टोल सडकमध्ये एकसय मिटरमा ग्राभेल गरिएको बताउँदै बाँकी सडकमा पनि ग्राभेलको जरुरी रहेको बताए । अध्यक्ष बालाले नपाबाट प्राप्त बजेट र इष्टिमेट अनुसार ८० मिटर मात्र ग्राभेलिङ गरे पुग्ने भए पनि स्थानीयको साथ तथा जनश्रमदानबाट थप २० मिटरमा ग्राभेल गरिएको बताए ।
सो सडक राउत, बाला, साखकर्मी, दलित टोलका स्थानीयको वडा कार्यालय जाने सडक हो ।