थुनामा परेको दुई वर्षपछि निर्दोष सावित

1328

भक्तपुर । आफ्नै श्रीमतिलाई विष खुवाएर हत्या गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका भक्तपुर झौखेलमा सुरेश न्यौपाने दुई वर्षपछि थुना मुक्त भएका छन । भक्तपुर जिल्ला अदालतले सविना काफ्ले न्यौपानेको हत्या अभियोगमा सफाई दिएपछि सुरेश थुना मुक्त भएका हुन ।
भक्तपुर जिल्ला अदालतले सविना हत्या मुद्दाका सबै आरोपीलाई सफाइ दिएको छ । जिल्ला न्यायाधीश विदुर कोइरालाको एकल ईजलासले सोमवार अन्तिम फैसला सुनाउँदै संलग्न प्रमाण र आरोपीहरुको साविति बयानका आधारमा वादीको माग बमोजिम प्रतिवादीहरुले कर्तव्य गरी हत्या गरेको भन्ने माग दावी नपुग्ने ठहर गर्दै प्रतिवादीहरुलाई सफाई दिने फैसला गरेको हो ।
दुई वर्ष अघि तत्कालिन झौखेल गाविस हालको चाँगुनारायण नगरपालिका–४, झौखेलकी सविना काफ्ले न्यौपानेले विष सेवनगरी आत्महत्या गरेको घटनामा सविनाको माइती पक्षले घरपरिवारले जबरजस्ती विष खुवाएर हत्या गरेको भन्दै प्रहरीमा किटानी जाहेरी दिएको थियो ।
सविनाको दाजु राधेश्याम काफ्लेको जाहेरीमा प्रहरीले सुरेश सहित सविनाका ससुरा शिब न्यौपाने, सासु सरस्वती न्यौपाने, आमाजु संगिता खतिवडा र ज्वाईं रंजित खतिवडा समेतलाई कर्तब्य ज्यान मुद्दा दायर गरेकोमा अदालतले सुरेशलाई पुर्पक्षको लागि जेल चलान गरेको थियो भने अन्य आरोपीलाई तारेखमा रिहा गरेको थियो ।
सो मुद्दामा प्रतिबादीका तर्फबाट अधिबक्ता किरण न्यौपाने, शिब सिग्देल, रबिन्द्रनाथ अर्याल, गोबिन्द चौलागाई तथा शिब दाहालले बहस गर्नु भएको थियो भने वादीका तर्फबाट सरकारी वकिल, अधिबक्ता प्रभाकर खनाल तथा सागर बिष्टले बहस गर्नुभएको थियो ।