बुधवार नेप्से परिसूचक स्थिर

325

काठमाडौं । बुधवार नेप्से परिसूचक स्थिर रहेको छ । कारोबारको पहिलो व्यापार अवधिमा केही अङ्कले बढेको नेप्से मध्यान्तरमा घटेको थियो । तर, अन्तिम समयमा भने बजारमा खरीदकर्ताहरुको प्रवेश भएपछि परिसूचकमा खासै परिवर्तन भने भएको छैन । बजारमा भइरहेको तरलता अभाव र अस्थिर राजनीतिले शेयरबजार निकै प्रभावित भएको एक विश्लेषकले बताए । यस दिन परिसूचक शून्य दशमलव ६६ अङ्कले बढेर १ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेर बन्द भएकोको छ । बैङ्किङ, जलविद्युत र बीमा समूहको परिसूचक बढेपनि बाँकी समूहहरुको परिसूचक घटेपछि समग्र नेप्से परिसूचक घटेको हो ।

नेप्से परिसूचक अघिल्लो व्यापार दिनको तुलनामा शून्य दशमलव शून्य ४ प्रतिशत घटेको हो । सो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इण्डेक्स शून्य दशमलव शून्य २ प्रतिशत घटेर ३ सय ३६ दशमलव ३० अङ्क पुगेको छ । कारोबार रकम बढेर रू. ५८ करोड ८१ लाख पुगेको छ भने कुल बजार पूँजीकरण रू. १८ खर्ब ५३ अर्ब पुगेको छ । यस दिन ५७ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै, ७२ कम्पनीको शेयर मूल्य घट्यो र १९ कम्पनी स्थिर रहेको हो । एभरेष्ट बैङ्कले हकप्रद शेयर जारी गर्ने भएपछि यस दिन पनि कारोबार रकमका आधारमा अग्रस्थानमा रहेको छ । यस वाणिज्य बैङ्कको रू. ५ करोड २३ लाख बराबरको शेयर कारोबार भएको छ । यस बैङ्कको शेयर मूल्य रू. २० ले बढेर अन्तिम मूल्य रू. १ हजार ७ सय ४० पुगेको छ । बैङ्कको ३ सय ७४ पटकको व्यापारमा ३० हजार ५५ कित्ता शेयर किनबेच भएको हो । स्ट्याण्डर्ड चार्टर्ड बेङ्क, नविल बैङ्क र नेपाल बैङ्कको पनि राम्रै कारोबार भएको छ । अधिकांश वाणिज्य बैङ्कहरुको शेयर मूल्य बढेपछि यस समूहको परिसूचक शून्य दशमलव शून्य ८ प्रतिशत बढेको हो । यस समूहको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ३८ दशमलव १८ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

जलविद्युत समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत र बीमाको शून्य दशमलव २३ प्रतिशत बढेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको परिसूचक १ दशमलव ४१ प्रतिशत घटेको छ । यूनिलिभर नेपालको शेयर मूल्य रू. ६ सय र बोटलर्स् नपाल (तराई)को रू. ६७ ले घटेपछि यस समूहको परिसूचक ३४ दशमलव ३४ अङ्क घटेको हो । सोल्टी होटलको शेयर मूलय घटेपछि होटल साूहको परिसूचक १ दशमलव ३ प्रतिशत घट्न दबाब पुगेको हो । साथै, ‘अन्य’ समूहको परिसूचक शून्य दशमलव ८३ प्रतिशत, वित्त कम्पनीको शून्य दशमलव ३२ प्रतिशत र विकास बैङ्कको शून्य दशमलव १६ प्रतिशतले घटेको हो ।

सो दिन १ सय ४८ कम्पनीको ५ हजार ५ सय ५ पटकको व्यापारबाट ९ लाख ४८ हजार ८ सय ४ कित्ता शेयर किनबेच भएको छ । यस दिन नेप्सेको १४ दिने रिलेटिभ स्ट्रेन्थ इण्डेक्स न्यूट्रल जोन अथवा ४१ दशमलव ३१ स्केलमा रहेको छ । यसले बजारमा शेयरको खरीद विक्री चाप सन्तुलनमा रहेको देखाउँछ । त्यसैगरी, सो दिन नेप्सेको एडी रेशियो शून्य दशमलव ७९ अङ्क रहेको छ । यसले बजार वियरिश प्रवृत्तिमा रहेको देखाउँछ ।