दुई नम्बर प्रदेशको निर्वाचन सर्‍यो ‘प्रदेश नम्बर २ को चुनाव असोज २ मा

440

सत्तारुढ दल र राष्ट्रिय जनता पार्टीबीच दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सहमति भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको बैठकमा दुई नम्बर प्रदेशको निर्वाचन तेस्रो चरणमा गर्ने सहमति भएको मा‌ओवादी केन्द्रकी प्रवक्ता पम्फा भूसालले जानकारी दिइन् ।  निर्वाचन सरेकोबारे सरकारले औपचारिक निर्णय गर्न भने बाँकी छ ।

प्रवक्ता भूसालका अनुसार तेस्रो चरणको निर्वाचन कहिले गर्ने भन्नेबारेमा निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले तोक्ने छ । सरकार र आयोगबीच बिहीबारै दिउँसो तीन बजे छलफलको कार्यक्रम छ ।

त्यस्तै बैठकमा असार १४ गतेको लागि तोकिएको उम्मेदवारी मनोनयन दर्ताको समय केही दिन पर सार्ने निर्णय पनि भएको प्रवक्ता भूसालले जानकारी दिइन् ।

‘प्रदेश नम्बर २ को चुनाव सारेर असोज २ गते कुरा भयो’ एक नेताले भनेका छन् ।

चुनाव सार्ने सहमति भएपनि राष्ट्रिय जनता पार्टीले चुनावमा आउने प्रतिवद्धता जनाएको छैन ।

सत्तारुढ दलका एक नेताले भने, ‘आउदिँन भनेको पनि छैन तर, के भयो भने आउँछ पनि भनेको छैन ।’

अब असार १४ गते प्रदेश १, ५ र ७ मा निर्वाचन हुनेछ । यसअघि  वैशाख ३१ गते प्रदेश ३, ४ र ६ को निर्वाचन भएको थियो । असार १४ गतेको निर्वाचनका लागि भोलि शुक्रबार मनोनयन दर्ताको कार्यतालिका छ ।