विश्व खडेरी बिरुद्ध संघर्ष दिवस

627

हामी बसेको संसार र सृष्टिमा प्रकृति नै सबैभन्दा विशाल, अद्भूत-अद्वितीय कुरा हो । प्रकृतिलाई हामीमध्ये कसैले पनि अाफ्नो वसमा राख्न सम्भव छैन तर प्रकृतिलाई सुहाउँदो वातावरण सृजना गरी त्यसको जर्गेना गरी भावी पुस्ताकालागि यसका असिम सम्भावना तथा निर्विकल्प महत्वको ज्ञान हस्तान्तरण गरेर यसको संरक्षण गर्न सक्दछौं । एउटा कुरा प्रस्ट छ! प्रकृति हामी अनुसार चल्दैन, प्रकृति अनुसार हामी चल्न जरुरी छ ।

बढ्दो मरुभूमीकरण र खडेरी विरुद्ध विश्व समूदायमै जनचेतना बढाउन र ऐक्यवद्धता कायम गर्नकालागि सन् १९९५ देखि हरेक वर्ष विश्व समूदायले विश्व खडेरी विरुद्धको दिवस मनाउँदै आएको छ ।

खाद्य सुरक्षा देखि वातावरणीय मुद्दाहरु, भू-संंरक्षण लगायत विभिन्न कुराहरु यो विशेष दिनले विश्वसमाजमाझ निरन्तर प्रकाश पार्ने काम गर्दै अाएको छ । खडेरी या मरुभूमिकरणको कुरा गर्दाखेरि भाैगोलीक परिरस्थितिनुसारका अनेक मानवीय क्रियाकलाप अनि प्रकृतिसंग निरन्तर भर्इरहने अविवेकी प्रयोग नै २१ अाैं शताब्दिमा प्रकृतिले भोग्दै अाएको समस्या हो ।

केही हदसम्म खडेरीलाई प्राकृतिक असरका रुपमा पनि ब्याख्या गरिएको छ जहाँ स्थानीय मौसममा व्यापक फेरबदल हुन्छ र भूमिको उत्पादक क्षमतामा कमी हुन आई उत्पादनशील भूमि क्रमशः अनुत्पादक हुन थाल्दछन् । यसै गरि अधिकतम भूमिहरु अनुत्पादक भएको भयावह अवस्था नै मरुभूमिकरण हो । भूमिमा आश्रित मानव समूदाय, कृषिकार्य, पशु पालन र मुख्य कुरा अन्न उत्पादनमा कमी हुन आई खडेरी र मरुभूमिकरणले अन्ततः गरिवि बढाउँदछ ।

मानव जनसंख्याको वृद्धि सँगै पछिल्ला शताब्दीमा भूमीको वितरण, विभाजन अनि उपयोग वास्वतमै दुःखदायी तवरले भएको विश्व मानचित्रका लगभग सबै देशहरु खडेरी र मरुभूमीकरणको ढिलो-चाँडो जोखिममा छन् ।

नेपालमा त झन् हामीलाई मलिलो उर्बर खेतबारी भन्दा कंक्रिटको जङ्गल ठ्याउन घडेरीको मोहमा वृद्धि हुन थालेको छ । घडेरी जोडेर घर बनाएर बस्नमा हामीले जीत त सम्झन्छौं तर खेत अनि तिनको उत्पादकत्वले हाम्रो भान्सामा आगो बलेको र पेटको भोक शान्त पार्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचार्इ रहेका छाैं ?

भूमीको वास्तविक प्रयोग कृषि हो तथापि विश्व मानचित्रमै भू-माफिया र रियल स्टेट व्यापारको वृद्धिसंगै दूर्भाग्यवश भूमीको दुरुपयोग र भू-उपयोगको गलत व्याख्या गर्न थालिएको छ । यसै कारणले नै होला आज विश्व भरिका ८१ करोड मान्छेहरु खाधान्न सङ्कटको असरमा छन् । नेपालकै उदहारण लिउ न, गएका केही दशकहरुमा भूमिको अनुचित प्रयोग, कृषिकार्यमा कमी, पानीको संकट र प्लटीङ्ग गरेर घडेरी बनाउन डाँडा काट्ने, सम्याउने अनि कति त्यस्ता जग्गाबीच बाटो बनाउने क्रममा हामीले कति नदीनाला, पोखरी, ताल अनि अन्न उत्पादन हुनसक्ने धर्तीको वली चढाएका छौं ?

ठूला ठूला हवाईजहाज, कम्प्यूटर र मेशिन बनाउन सक्ने प्रयोगशालाले एक चिम्टी माटो आँफैले बनाउन सकेको छैन, कतै सुन्नुभएको छ त माटो बनाउने कारखाना ? छैन नी ! स्मरण रहोस् विश्वको सबैभन्दा दूर्लभ र प्राणधान्ने कुराहरु नै माटो, पानी, आकाश, अग्नि र हावा नै हुन । पञ्च तत्वका रुपमा वैदिक सनातन संस्कारले यी कुराहरुको संरक्षणकालागि आव्हान गरेको छ ।

यस वर्षको विश्व खडेरी विरुद्धको दिवसको नारा, “हाम्रो जमिन, हाम्रो घर र हाम्रो भविष्य” भन्ने रहेको छ । जमिन, घर अनि भविष्यबिचको यो सन्तुलन नै हाम्रो प्रकृतिसंगको सह-अस्तित्व हो ।

जमीनको उत्पादकत्व कम हुन गई एकठाँउबाट अर्को ठाँउमा बसाइसर्ने मान्छेहरुको लर्को पनि संसारले धेरै देखेको छ । जमीनलाई माया गर्न सके जमीनले हामीलाई माया गर्दछ, रुखलाई माया गरौं अनि माटोको संरक्षणमा ध्यान पुर्याऔं ।

उर्बर जमीनमा लगानी गर्नाले भविष्यले आधार पाँउदछ र जमीनको लगानी भनेको आना र धूर जग्गा किनेर केही समय राखेर घडेरीका रुपमा पुनः फाइदा सहित बेच्नु भने पक्कै हैन् । माटोलाई खनिखोस्री रुख रोपी, कृषि गरी अनि खाद्य उत्पादनमा ध्यान दिनु महत्वपूर्ण हो । हामीलाई मरुभूमि हैन हरियाली माटो चाहिएको छ, हैन र ?

बादलले पानी बोकेर ल्याएर जमिन सिंचित गरिदिअोस्, हरियालीले साथ नछोडोस् अनि कंक्रिटका घरका साटो हरिया फाँटहरुको प्रशस्त वृद्धि होस् । बादल र जलका धाराबिच एउटा प्रेमील सम्बन्ध छ, जहाँ बादल छन त्यहाँ जलका धारा बगीरहने छन् अनि जहाँ जलका धारा छन् त्यहाँ हरियालीले साथ छाड्ने छैनन । माटोमा हरियाली अनि हरियालीमा जीवन अडिएको छ । -hamropatro