म्याग्दीमा नक्कली नोट

421

म्याग्दी । केही समयता म्याग्दीको सदरमुकाम बेनीमा पाँच सय रुपैयाँको नक्कली नोट छ्यापछ्याप्ती भेटिन थालेका छन् । केही दिन अघि बेनी अस्पतालको फार्मेसी र विभिन्न वित्तीय संस्थाहरुमा समेत ५ सयको नक्कली नोट भेटिएको थियो ।

सोमवार बेनीको दिदी बहिनी बचत तथा ऋण सहकारी संस्थामा शंकास्पद नोट भेटिएपछि चेकजाँचको क्रममा नक्कली पुष्टि भएको सहकारीकी लेखापाल गिता आचार्यले बताईन् । ‘नक्कली नोट भेटिएपछि सेवाग्राहीलाई समेत सचेत बनाएका छौं, हामीले सेवाग्राहीलाई नोटको पहिचान गर्ने विधि समेत सिकाइरहेका छौ’ आचार्यले भनिन् । नक्कली नोटको पहिचान गर्ने बारेमा बैङ्क तथा वित्तीय संस्थाले आवश्यकता अनुसार कर्मचारीलाई तालीम उपलब्ध नगराउने गरेकाले  तत्कालै पहिचानमा समस्या हुने गरेको कर्मचारीको भनाई छ । बजार क्षेत्रमा र वित्तीय संस्थामा समेत नक्कली नोट पुग्न थालेपछि सचेत हुन प्रहरीले अनुरोध गरेको छ । नक्कली नोट हेर्दा उस्तै लाग्ने नम्बर एउटै भएका, लालीगुराँसको छाप नभएका, प्रिण्ट फरक भएका, कागज चिप्लो, लुलो हुन्छ ।

विगतमा जिल्लाका ग्रामीण क्षेत्रमा एक हजार नेपाली नोट भेटिने गरेको थियो । भारतीय ५ सय र एक हजारको नोट परिवर्तन भएपछि नेपाली नक्कली नोटको कारोबारमा गिरोह सक्रिय भएका छन् ।  सदरमुकाम बेनीका साथै ग्रामीण क्षेत्रमा समेत व्यापारी र अन्य माध्यमबाट नक्कली नोट पुग्ने गरेको छ ।