एउटै पदमा दाजुभाइ बाबु, छोरा र बाबु, छोराको प्रतिस्पर्धा

548

बैतडीका डिलाशैनी गाउँपालिका र पुरचौडी नगरपालिकामा एउटै पदका लागि बाबु, छोरा र सहोदर दाजुभाइले उम्मेदवारी दर्ता गराएका छन् ।  डिलाशैनी गाउँपालिकामा कर्णबहादुर रानाले नेपाली कांग्रेसबाट र लोकेन्द्रबहादुर राना (शीतलले) नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो । नाताले कर्ण दाजु र लोकेन्द्र भाइ पर्छन् ।  नाताले दाजुभाइ परे पनि राजनीतिक विचार फरक भएकाले आफूले उम्मेदवारी दर्ता गराएको कर्णबहादुर रानाले बताउनुभयो ।

दुवै भाइले एकै पदका लागि उम्मेदवारी दर्ता गराएपछि परिवारका सदस्यलाई भोट हाल्नका लागि समस्या भएको छ ।  त्यस्तै पुरचौडी नगरपालिका वडा नं ७ का वडाध्यक्ष पदका लागि बाबु र छोराले पनि अलगअलग पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेबाट नागी साउद (बाबु) र नेकपा माओवादी केन्द्रबाट उज्ज्वल साउद (छोरा)ले उम्मेदवारी दर्ता गराएका हुन् । आफूहरुको अलग अलग राजनीतिक विचार भएकाले आ–आफ्नै पार्टीबाट उम्मेदवारी दर्ता गराएको नागी साउदले बताउनुभयो ।  बाबु र छोरा एउटै पदमा प्रतिस्पर्धा गर्ने भएपछि परिवारका अन्य सदस्यलाई कसलाई भोट दिइने भन्ने समस्या भएको छ ।