निर्वाचनको मुखमा आयोगका सचिव मैनालीको सरुवा

378

काठमाडौं । निर्वाचन आयोगका सचिव गोपिनाथ मैनालीलाई सरकारले सरुवा गरेको छ । बिहीब्बार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन कार्यक्रम चलिरहेकै बेला सचिव मैनालीको सरुवा गरेको हो ।

निर्वाचन आचारसंहिता लागेका बेला उच्च पदस्त कर्मचारीको सरुवा गर्दा निर्वाचन आयोगको अनुमति लिनुपर्ने हुन्छ । निर्वाचन आयोगका एक आयुक्तका अनुसार आयोगसँग सरकारले अनुमति लिएर सचिवको सरुवा गरेको हो ।

स्रोतका अनुसार निर्वाचनमा सचिवको भूमिका सरकारको पक्षमा नभएको र मन्त्रीहरु चुनावी सभामा सहभागी हुँदा प्रमुख जिल्ला अधिकारीहरुलाई अनुगमनका लागि निर्देशन दिँदै आएकाले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सचिवको सरुवा गर्न चाहेका थिए ।

सचिव मैनालीको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । त्यसैगरी निर्वाचन आयोगमा सामान्य प्रसाशन मन्त्रालयका सहसचिव महेश्वर न्यौपानेलाई कामु सविचका रुपमा सरुवा गरिएको छ ।

राजश्व सचिव राजन खनाल अख्तियारमा सरुवा भएका छन् भने क्षेत्रीय प्रशासन कार्यालय दिपालयलका प्रमुख शिशिर ढुंगाना राजश्व सचिवका रुपमा सरुवा भएका छन् ।