नगरकोटमा क्लब हिमालयसहित दर्जनौ होटल भत्काउने निर्णय

588

पर्यटकका लागि आकर्षक मानिएको नगरकोटमा ठूला साना होटलहरूले गरेको वन तथा सार्वजनिक जग्गा अतिक्रमण हटाइने भएको छ। जिल्लास्थित अतिक्रमण नियन्त्रण व्यवस्थापन कार्यदलको बैठकले नगरकोटको क्लब हिमालयबाट अतिक्रमण हटाउन सुरू गर्ने निर्णय गरेको छ।  यो खबर आजको नेपाल समाचार पत्रमा मोतिराम तिमल्सिनाले लेखेका छन्।

जिल्लामा भएका थुप्रै अतिक्रमणमध्ये नगरकोट क्षेत्रको अतिक्रमण क्लब हिमालयबाट सुरू गर्नुपर्छ,’ नेपाली कांग्रेसका जिल्ला उपसभापति अच्युत पौड्यालले भने,‘ निर्वाचनअघि हामीले केही समय अतिक्रमण हटाउन रोकौं भनेका थियौ, अब जसरी पनि जनप्रतिनिधिलाई अगाडि लगाएर वन र सार्वजनिक जग्गा  अतिक्रमण हटाउनुपर्छ।’

नगरकोटका ठूला होटलहरू द फोर्ट, रूपेस माउन्टेन र होटल भ्यू प्वाइन्टले जग्गा अतिक्रमण गरेका छन्। सबैभन्दा धेरै क्लब हिमालयले १३ रोपनी, द फोर्टले ५ रोपनी, रूपेस माउन्टेनले एक रोपनी होटल भ्यू प्वाइन्टले २ रोपनी र मधुवन होटलले १ रोपनी जग्गा अतिक्रमण गरेका छन्। नगरकोटमा रहेका लप्ट होराइजन, घर छँप्रो, स्तुपा रिसोर्ट, सनसाइन होटल चौतारीलगायतका होटलहरूले पनि जग्गा अतिक्रमण गरेका छन्।