
हजार मध्ये १२५ फाइल खोल्दा ९ अर्व राजस्व छली
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मासँग तारेखमा रिहा हुने भए तीन अर्व रुपैयाँ धरौटी माग गरेको छ । सम्बद्ध स्रोतका अनुसार महानिर्देशक शर्माले सो बमोजिमको धरौटी राख्ने संभावना छैन ।
अख्तियारले गैर कानूनी रुपमा राजस्व छली गर्न विभिन्न निकाय तथा ब्यक्तिलाई सहयोग पु¥याएको आरोप लगाई महानिर्देशक शर्मालाई गएको जेठ १९ गते पक्राउ गरी हिरासतमा राखिरहेको छ । अख्तियारका प्रवक्ता जीवराज कोइरालाले महानिर्देशक शर्मासँग सम्बन्धित एक हजारभन्दा बढी फाइलहरु अध्ययन गर्ने तयारी भइरहेको आर्थिक अभियानलाई जानकारी दिए । महानिर्देशकलाई पक्राउ गरेपछि हालसम्म १ सय २५ ओटा फाइलहरु अध्ययन भएको प्रवक्ता कोइरालाले बताए ।
अख्तियार स्रोतले दिएको जानकारी अनुसार १ सय २५ ओटा फाइल अध्ययन गर्दा ९ अर्व रुपैयाँ जति गैरकानूनी रुपमा राजस्व छली भएको भेटिएको छ । एक हजारभन्दा बढी फाइलको अध्ययन गर्दा के कति रुपैयाँ अनियमितता भएको पाइने हो भन्ने सम्बन्धमा अनुमान गर्न मुस्किल हुने अख्तियार स्रोतले उल्लेख गरेको छ ।
अध्ययन गर्न बाँकी रहेका फाइलहरु केलाउन अझै लामो समय लाग्ने भएका कारण महानिर्देशक शर्मालाई केही समय बाहिर जान दिने उद्देश्यका साथ उनीसँग धरौटी मागिएको अख्तियार स्रोतले बतायो । ‘धरौटी मागिएको भएपनि हालसम्म उनले सो रकम बुझाउने संभावना देखिएको छैन’, अख्तियार स्रोतले भन्यो ।