
काठमाडौँ । नयाँ कामको शुरुआत गर्दा पहिलो प्रभाव नै राम्रो पार्नेमा ध्यान जानुपर्छ । आफ्नो करियरको शुरुआत राम्रो भयो भने भावी दिनहरू पनि राम्रा हुन्छन् । नयाँ कामको शुरुआतले नसा–नसा तरङ्गित हुने अनुभव पनि दिन सक्छ । तर यस्ता शुरुआती दिनमा तपाईं सचेत हुनुभएन भने तपाईंलाई कम्पनीमा स्थापित हुनुअघि नै त्यहाँबाट सीधा बाहिरको बाटो समात्नुपर्ने अवस्था पनि आउँछ सक्छ । आफ्नो नयाँ जागिरलाई दीर्घायु बनाउनका लागि गर्न नहुने केही गल्तीहरू यहाँ प्रस्तुत गरिएका छन् ।
१. कार्यालयको संस्कृति र प्रोटोकलको बेवास्ता
हरेक कार्यालयको आफ्नो नियम हुन्छ र कार्यतालीका हुन्छ । नयाँ कर्मचारीको रूपमा तपाईंले कार्यालयको दैनिकीलाई नजिकबाट नियालेर आफूलाई त्यसमै ढाल्नुपर्छ । आफूले पहिला काम गर्ने गरेको कार्यालयको परम्परालाई नयाँ कार्यालयमा अपनाउनुहुँदैन र आफूलाई मनलागेअनुरूप पनि काम गर्नुहुँदैन ।
कार्यालयमा हुने संवाद, काम गर्ने तरीका वा त्यहाँ कस्ता प्रकारका लुगा लगाइन्छन् भन्ने कुरालाई ध्यान दिनुपर्छ र आवश्यक परेमा यस बारेमा प्रश्न पनि गर्न सकिन्छ । अरूभन्दा भिन्न हुन खोज्ने प्रयासमा कामको प्रक्रिया र अभ्यासहरूको पालना गर्न सक्नुभएन भने तपाईं सहकर्मीबाट बहिष्कृत हुने मात्र नभई यसले तपाईंको करियरमा नै ठूलो हानि पुर्याउन सक्छ ।
२. धेरै नै चुप लाग्ने वा बढी बोल्ने
नयाँ वातावरणमा केही असहज लाग्नु सामान्य नै भए पनि आफूलाई अन्य सहकर्मीहरूबाट अलग राख्नु भने हुँदैन र उनीहरूसँग सामाजिक सम्बन्ध विस्तार गर्ने कुनै पनि मौका गुमाउनुहुँदैन । अन्यथा तपाईंमा आत्मविश्वासको कमी भएको गलत सन्देश जान सक्छ ।
त्यस्तै घमण्डी पनि बन्नुहुँदैन । बोलचाल गर्ने भन्दैमा सहकर्मीसँग अलि बढी नै बोल्ने वा आवश्यकताभन्दा बढी घुलमिल हुन खोज्ने पनि गर्नुहुँदैन । हरेक समय आफूमा भएको ज्ञान वा विज्ञता देखाउने प्रयास पनि गर्नुहुँदैन । यस्तो भयो भने तपाईंले छिटै नै आफ्नो बाटो लाग्नुपर्ने हुन सक्छ । नयाँ कामका बारेमा जान्न र यसबारे ज्ञान हासिल गर्न उत्सुकता देखाउन भने आवश्यक छ ।
३.कामको विषयमा बोल्दै नबोल्ने वा बढी बोल्ने
नयाँ हाकिमलाई खुशी पार्ने चाहनामा अधिकांश कर्मचारीहरूले आफूले गर्न सक्नेभन्दा बढी कामको चाप लिन्छन् र त्यसलाई पूरा गर्न भने असफल बन्छन् । यो कुनै पनि कर्मचारीका लागि जुनसुकै अवस्थामा पनि ठूलो गल्ती हो र नयाँ कर्मचारीका लागि त यो झनै ठूलो हो । आफूले पूरा गर्न सक्ने काममात्र लिनुपर्छ । उचित कार्यतालीका बनाउने र यसबारेमा आफ्नो हाकिमसँग छलफल गरेर त्यहीअनुसार अघि बढ्नु नै यो समस्यासँग जुझ्ने सबैभन्दा राम्रो उपाय हो । यसैक्रममा निर्धारित कार्यतालीकाअनुसार मात्र पनि चल्नु हुँदैन । जे काम गर्न भनिएको छ त्योमात्र गर्नेभन्दा पनि आफूलाई गर्न भनिएको कामभन्दा बढी गर्ने, थप जिम्मेवारी वहन गर्ने, सहकर्मीलाई सहयोग गर्ने र शान्त ढङ्गले एकभन्दा बढी काम गर्ने शाहस प्रदर्शित गर्नुपर्छ । यसबाट तपाईं सजिलै हाकिम र सहकर्मीहरूको प्यारो बन्न सक्नुहुनेछ ।
४. कमजोर सामाजिक र व्यक्तिगत बानीहरू
फोहोरी, उदास र कमजोर सामाजिक व्यवहार हुनु भनेको कुनै पनि नयाँ कर्मचारीका लागि राम्रो कुरा होइन । तपाईंलाई त्यो संस्थामा कस्तो व्यवहार गरिन्छ वा तपाईं त्यो संस्थामा कति टिक्नुहुन्छ भन्ने कुरा तपाईंले लगाउने लुगा, कुरा गर्ने तरीका, आफ्नो कक्षलाई व्यवस्थित राख्ने तरीका, सहकर्मीसँग गर्ने व्यवहार र आफ्नो कामको जिम्मेवारी पूरा गर्ने तरीकाले निर्धारण गर्छ ।
यदि तपाईंको पोशाक धेरै नै अनौपचारिक र अति नै भड्किलो छ, काम गर्ने ठाउँ पनि अस्तव्यस्त छ, काममा ढिलो आउनुहुन्छ र प्रायः जसो कामबाट सधैं छिटो जानुहुन्छ, कार्यालयका सफाइ कर्मचारी तथा भान्छाघरका कर्मचारीसँग असभ्य र अशिष्ट भाषामा बोल्नुुहुन्छ र बोलीमा प्रायः रवाफ देखिन्छ भने तपाईं त्यो संस्थामा धेरै समयसम्म नटिक्ने निश्चित छ । शिष्ट भाषाको प्रयोग तथा सुरुचिपूर्ण पहिरनमा राम्रो ध्यान दिने गर्नुपर्छ ।
५. आफ्नो पूर्व अफिसबारे प्रशंसा वा आलोचना
नयाँ कार्यालयमा गइसकेपछि आफूले पहिला काम गर्ने संस्थाको बारेमा वा त्यहाँको काम गर्ने प्रक्रियाका बारेमा बढी कुरा गर्ने गर्नुहुँदैन । सधैंजसो मौजुदा संस्थासँग तुलना गर्दै पहिलाको संस्था नै काम गर्न बढी लायक रहेकोजस्तो देखाउने गर्नुहुँदैन । यस्तो गर्नु भनेको हाल काम गरिरहेको संस्थाको अप्रत्यक्ष आलोचना हो । यसले सहकर्मी र हाकिमसँग तपाईंको सम्बन्धलाई सुमधुर बनाउँदैन ।
यदि तपाइँ कुनै उच्च व्यवस्थापकीय पदमा हुुनुहुन्छ भने नयाँ संस्थाको काम गर्ने तरीकालाई आफूले पहिला काम गर्ने गरेको संस्थाको जस्तै बनाउन हतारिनुहुँदैन । हालको संस्थामा विद्यमान संस्कृतिप्रति इमानदार हुनुपर्छ र यदि परिवर्तन ल्याउनै परे हतारमा नभई विस्तारै ल्याउनुपर्छ । यससँगै पूर्व हाकिमको कुरा काट्ने पनि गर्नुहुँदैन । यसले तपाईंलाई खराब र कुरौटे व्यक्ति भएको जनाउँछ ।