चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोलामा खसेको पहिरो पन्छाएर बिहीवार बिहान ५ बजेदेखि यातायात सञ्चालनमा आएको छ ।
चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार गएराति १० बजे कालीखोलाको विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बिहान ५ बजेदेखि बाटो खुलाइएको हो । गएरातिको पहिरोले यहाँ सात घण्टा यातायात अवरुद्ध भएको बताइएको छ । पहिरोका कारण राति १० बजे थुनिएका सवारी अहिले गन्तव्यतर्फ गइरहेको मुग्लिन प्रहरीले बताएको छ । प्रहरी टोली नै खटाएर गाडी व्यवस्थित बनाई पठाउन थालिएको छ ।
यातायात सहज हुन अझै केही समय लाग्न सक्ने प्रहरीले बताएको छ । पहिरोको उच्च जोखिम क्षेत्र मानिएको कालीखोलामा असार महीना लागेपछि १० पटकभन्दा बढी पहिरो खसिसकेको छ । यही असार ९ गते कालीखोलामा खसेको पहिरोले एउटा प्रहरीको जिप र ट्रकसमेत बगाएको थियो । सो घटनामा तीन प्रहरीको मृत्यु भएको छ भने एक प्रहरी बेपत्ता छन् ।
सो क्षेत्र मुग्लिन सडकबाट करीब दुई–तीन किमी नारायणगढतर्फ पर्दछ । मुग्लिन सडकमा मानवीय जोखिम बढेपछि केही दिनअघि मात्रै संसद्को विकास समितिका सभापति रवीन्द्र अधिकारी सहितको टोलीले स्थलगत अनुगमन गरी काम छिटो गर्न र जोखिम कम गर्ने निर्देशन दिएको थियो ।