हिन्दू राष्ट्रको एजेण्डा बोकेको पार्टीका मुस्लिम अध्यक्ष भन्छन्, ‘हिन्दू राष्ट्रमा सबै धर्मावलम्बी बस्न पाउँछन्’

1115

दमक: हिन्दू राष्ट्रको एजेण्डा बोकेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीका मुस्लिम उम्मेदवार हुन्, अन्जार आलम।

झापाको सबैभन्दा होचो गाउँपालिका कचनकवलमा राप्रपाको तर्फबाट उम्मेदवारी दिएर अध्यक्षमा विजयी भएका हुन् उनी। उनले कचनकवल गाउँपालिकालाई झापाको सुविधासम्पन्न गाउँपालिका बनाउने सपना बोकेका छन्। उनी भन्छन्, ‘अहिले झापाको सबैभन्दा विकट ठाउँ भनेको कचनकवल नै होला, तर म यो ठाउँलाई मेरो कार्यकालमा एउटा सुविधासम्पन्न गाउँपालिका बनाउनेछु।’

कचनकवलका समस्याहरू आफूले राम्ररी बुझेकाले यो समस्या समाधानमा आफू नचुक्ने उनी दाबी गर्छन्।

‘मलाई यहाँको समस्या सबै थाहा छ। अहिलेसम्म एउटा पक्की बाटो बन्न सकेको छैन’, उनी भन्छन्, ‘मेरो कार्यकालमा म भारतसँगको नाकामा पक्की बाटो बनाउनेछु र यहाँ भन्सारको स्थापना गरी मेरो गाउँपालिकालाई आत्मनिर्भर बनाउनेछु।’

उनले आफू गाउँपालिकाको अध्यक्ष बन्न पाउनु भनेको धनी र गरिबबीचको खाडललाई पुर्ने अवसरका रूपमा लिएको बताउँछन्। ‘यहाँको गरिबको समस्या समाधानमा म अग्रसर भएर लाग्नेछु’, उनले भने, ‘मलाई जाति, पार्टी नहेरी भोट दिने आम जनताको भावनालाई समेट्नेछु।’

यहाँका गरिबहरूका लागि रासन कार्डको व्यवस्था गरेर सस्तोमा खाद्यान्न उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए उनले। ‘मैले भोट माग्दा गरेका प्रतिबद्धता भुल्नेछैन’, उनले भने। यहाँको खानेपानी, बिजुलीलगायत समस्याको समाधान गर्ने पनि उनले बताए। उनले यस क्षेत्रमा हुने स्थानीय सरकारको सेवालाई छिटो र जनताको चाहनाअनुसार प्रवाह गर्ने बताए। यस क्षेत्रलाई उनले पर्यटकीय क्षेत्र बनाउने सपना देखेको सुनाए।

उनले यहाँको जंगलमा जाने मान्छेको प्रत्येक वर्ष हात्तीले ज्यान लिने गरेको बताउँदै यसलाई व्यवस्थित गर्न सके यस क्षेत्रलाई पर्यटकीय स्थल बनाउन सकिने संभावना देखाए। ‘हात्ती आक्रमण नियन्त्रण गरी पर्यटकीय स्थल बनाउने मेरो सपना छ’, उनले भने। उनले नेपालकै होचो भूभाग भनेर चिनिएको यस गाउँपालिकालाई अब नेपालकै समृद्ध गाउँपालिका भनेर चिन्न सकिने गरी पूर्वधार बनाएर अघि बढ्ने बताए।

हिन्दू राष्ट्रमा सबै धर्मावलम्बी बस्न पाउँछन् आफू मुस्लिम भएर पनि हिन्दू राष्ट्रको वकालत गर्ने पार्टीमा लागेको भनेर धेरै अचम्भित हुने गरेको उनी बताउँछन्। ‘मुस्लिम समुदायको भएर पनि हिन्दू राष्ट्रको वकालत गर्ने पार्टीमा किन लागेको भनेर धेरैले जिज्ञासा राख्ने गरेका छन्’, उनी भन्छन्, ‘सबै जातिको भावना नसमेट्ने त पार्टी नै हुँदैन, हाम्रो पार्टीको एजेण्डा हिन्दू भए पनि सबै धर्मलाई समेट्छौँ।’
चिरञ्जिबी घिमिरे थाहाखबर