आगामी निर्वाचनलाई साउन १ देखि १५ सम्म मतदाता नामावली संकलन गरिने

488

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको आयोगको बैठकले ७५ जिल्लास्थित निर्वाचन कार्यालयमा मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो ।

यसअघि  २०७४ वैशाख ३ गते आयोगबाट प्रकाशित मतदाता नामावलीमा आफ्नो नाम समावेश नभएका व्यक्तिले आफ्नो नागरिकताको प्रमाणपत्र लिई आफ्नै जिल्लामा गएर फोटोसहितको नामावलीमा सहभागी हुनुपर्ने आयोगले जनाएको छ ।

आयोगबाट यस अघि प्रकाशित नामावलीमा आफ्नो नाम तथा ठेगानामा कुनै त्रुटी भएको भए त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, मतदाता नामावलीबाट नाम हटाउन उक्त अवधिसम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिन सकिने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

यस अघि नाम दर्ता गराई मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिले पुनः नाम दर्ता गराउनुपर्ने छैन ।

नाम दर्ता भइसकेपछि साउन १६ गतेदेखि २० गतेसम्म मतदाता नामावलीमा दाबी बिरोध गर्न सकिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।