भक्तपुरमा सिकाइ कार्यशाला सम्पन्न  

438

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर भूकम्प प्रतिकार्य कार्यक्रमले गत भूकम्पको सिकाइका बारेमा अनुभव आदानप्रदान र अहिलेसम्मका गतिविधिका बारेमा छलफल गर्ने उद्धेश्यले भक्तपुरमा जिल्ला स्तरीय सिकाइसम्बन्धी एक दिने कार्यशाला सम्पन्न गरेको छ ।

 भूकम्पका समयमा एकद्वार प्रणालीबाट सहयोग गर्ने भनिएपनि केही कठीन भएको तर फोनबाटै भएपनि समन्वय भएको आफूले सुन्दा खुशी लागेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताउनुभयो ।

आफू आउनुभन्दा अघि र आइसकेपछि जिल्लामा कार्यरत रेडक्रसलगायत सङ्घ संस्थाले पुनर्निर्माणका क्षेत्रमा गरेको कामप्रति खुशी व्यक्त गर्दै यस्ता विपदका समयमा सरकार एक्लैले केही गर्न नसक्ने बताउँदै सङ्घसंस्था र समुदायको सहभागितामा पुनर्निर्माणको काममा सहयोग पुगेको बताउनुभयो ।

भूकम्प प्रतिकार्य योजना सबै स्थानीय तहमा बनाउनु पर्नेमा चाँगुनारायण नगरपालिकाका नवनिर्वाचित प्रमुख सोम मिश्रले जोडदिनुभयो । उहाँले गत भूकम्पका समयमा सही तथ्याङकको सुचनामा समस्या देखिएकाले अबका दिनमा सबै निकायले सही सुचना सङकलनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्लाको पुनर्निर्माणको पछिल्लो अवस्थाको बारेमा पुनर्निर्माण प्राधिकरण भक्तपुरका प्रमुख मुरारी वस्थीले जानकारी गराउनुभएको थियो ।

भूकम्प लगत्तै खोज तथा उद्धारमा नेपाली सेना र प्रहरीसँगै रेडक्रसका स्वयंसेवक परिचालन गरिएको नेपाल रेडक्रस सोसाइटीका भक्तपुर शाखाका सभापति मनोज कुमार थापाले बताउनुभयो । उहाँले एकैपटकमा धेरै क्षति भएकाले तत्कालै सबैमा सहयोग पुर्याउने कार्य जटिल थियो र पनि आफ्नो क्षमता अनुसार तत्कालै त्रिपाल वितरणबाट सहयोग शुरु गरेको उहाँले बताउनुभयो ।

 कार्यक्रममा सहभागीहरूले भूकम्पका समयमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र रेडक्रसका स्वयंसेवकले खोज तथा उद्धार र उपचार सेवामा पुर्याएको सेवाको प्रशंसा गर्नुभएको थियो ।