के हो राप्रपाको विवाद जुन अहिले आएर छताछुल्ल भयो

393

राष्ट्रिय प्रजातन्त्र पार्टीमा अध्यक्ष कमल थापा र पूर्वअध्यक्ष पशुपतिशमशेर राणा समूहबीचको मतभेद उत्कर्षमा पुगेको छ । अध्यक्ष थापाले ४२ नेतालाई बिहीबार केन्द्रीय सदस्य मनोनीत गरेपछि राणाले विज्ञप्ति निकालेर विरोध मात्र जनाएनन्, पार्टीलाई बिर्ता नठान्न चेतावनी पनि दिएका छन्, नयाँ पत्रिकामा खबर छ ।

के थियो विवाद ?
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीको पराजयको मुख्य कारण चुनाव चिह्न भएको राणा पक्षको निष्कर्ष थियो । राणा पक्षले पार्टीका शुभचिन्तकले गाईमा मत हाल्न अस्वीकार गरेको भन्दै हलो चिह्न फेरि कायम गर्नुपर्ने तर्क गरेको थियो । यसबाहेक सरकारमा जाने र फर्किने अध्यक्ष थापाको निर्णयले पार्टीको छवि बिग्रेको राणा पक्षको निष्कर्ष थियो । तर, थापा पक्ष यसलाई मान्न तयार थिएन । संविधान संशोधन र सरकारमा सहभागिताका विषयमा अध्यक्ष थापा र पूर्वअध्यक्ष राणाबीच विवाद थियो । अध्यक्ष थापाले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तासाझेदार माओवादी अध्यक्ष प्रचण्डसँगको भेटमा संविधान संशोधनमा समर्थनका लागि उपप्रधानमन्त्रीसहित पाँच मन्त्रालय मागेका थिए । कांग्रेस–माओवादीले सो प्रस्ताव मान्न नसकिने जवाफ दिएका छन् । तर, राणाले चार मन्त्रालय लिएर संविधान संशोधनमा जानुपर्ने धारणा पार्टीभित्र राख्दै आएका छन् ।