भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा कार्यक्रम जारी

290

नेपाल क्रान्तिकारी किसान संघका अगुवाहरुको सक्रियतामा भएको २०२५ साल साउन २ र २०२६ असार १९ को भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा विभिन्न गतिविधिहरु हुने क्रम जारी छ ।

यसक्रममा नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय समितिले टार्केश्वर नगरपालिका मनमैजुमा प्रवचन कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले नेमकिपा २०१८।०१९ सालदेखि नेमकिपाले भ्रष्टाचार, अनियमितताको विरोध गरेको दृष्टान्त प्रस्तुत गर्दै ट्रान्सपेरेन्सी ईन्टरनेशनलले नेमकिपा नेतृत्वमा चलेको भक्तपुर नगरपालिकालाई सदाचारिताको टापूको संज्ञा दिएको बताउनुभयो ।

उहाँले नेपाली काँग्रेस, एमाले, माओवादीलगायत सरकारमा जाने दलहरुले पालैपालो सरकारमा पुगेर भ्रष्टाचार गरेको विभिन्न उदाहरणहरु प्रस्तुत गर्नु हुँदै कर फछ्र्यौट आयोगले ठूला दल र नेताहरुको आशिर्वादमा सरकारी कोषलाई अरबौं रकम नोक्शान पुर्याएको बताउनुभयो ।
एमाले सरकारमा मन्त्रीहरुलाई प्राप्त हुने कमीशन राज्यकोषमा जम्मा गर्ने भन्दै मोटो रकम कुम्ल्याएको, एमाओवादी सरकारले कमीशनको कुरामा सार्वजनिक रुपमा हामीलाई घाटा भयो भन्नु भ्रष्टाचार हो उहाँले बताउनुभयो । उहाँले चित्तपोलमा रेशम खेतीको लागि लिएको ८० रोपनी जग्गामा किसानलाई नदिई तत्कालीन प्रजिअ श्याम सुन्दर शर्माले १०।१० हजारका दरले ८ लाख रुपैया लिएको खुलासा गरेपछि पैसा फिर्ता दिएर सरुवा भएको बताउँदै भ्रष्टाचार भएको थाहा हुनेवितिकै विरोध गर्ने क्रान्तिकारी भावना विकास गर्न यस्तो कार्यक्रमको आयोजना गरेको प्रष्ट पार्नुभयो ।
कार्यक्रममा सभापति एवं नेपाल क्रान्तिकारी किसान संघका केन्द्रीय अध्यक्ष एवं साँसद डिल्ली काफ्लेले भारतले बनाएका विभिन्न बाँध र तटबन्धका कारण नेपालको भूमि डुवानमा परेको तथा बाढीले हरेक वर्ष धनजनको क्षति हुने गरेको बताउनुभयो । उहाँले देशभरिका कामदार जनता उठेर भ्रष्टाचारको विरोधमा संगठित नभएसम्म शोषणको अन्त्य नहुने स्पष्ट पार्दै भ्रष्टाचार पूजिवादी व्यवस्थाको विशेषता हो भन्नुभयो ।
उहाँले धनी पूँजिपतिहरुसंग आम्दानीको अनुपातमा प्रगतिशील कर प्रणाली लागू गर्न, विदेशमा राखेको सम्पतिमा करको दायरामा ल्याउन तथा पूँजीगत लाभकर नतिर्नेका लागि कडा कानून लागू गर्न नेमकिपाको प्रस्तावमा वर्तमान अर्थमन्त्रीले नेमकिपाको प्रस्ताव देश र जनताको हितमा भएपनि सम्बोधन गर्न नसकेको स्वीकार गरेको अवस्थामा वर्तमान सरकारको बजेटको विपक्षमा मत दिन परेको प्रष्ट पार्नुभयो ।
नेमकिपाका नेन्द्रीय सदस्य सनकमान महर्जनले वर्षभरि विकासको काम नगर्ने आर्थिक वर्षको अन्त्यमा एकैदिनमा १० अर्बसम्म खर्च गर्नु नीतिगत भ्रष्टाचार भएको बताउँदै देशको बजेट सिध्याउने ध्याउनामा दर्जनौं कर्मचारीहरु विभिन्न देशको निरर्थक भ्रमण गरिरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पीक केन्द्रीय सदस्य राजवीर डंगोल, नेक्राकिसंघ केन्द्रीय सचिव विकल प्रजापति, केन्द्रीय सदस्यहरु गुणदास महर्जन, वीरबहादुर डंगोल, पूर्व केन्द्रीय सदस्य मणिराम तिवारीलगायतले भ्रष्टाचारविरोधी आन्दोलनबारे विचार राख्नुभएको थियो ।