पत्रकार ढकालको निधन

622

भक्तपुर। काभ्रे देउपुर मण्डन नगरपालिका ५ घर भई लामो समयदेखि भक्तपुरलाई कर्मथलो बनाउँदै आएका पत्रकार गुरुप्रसाद ढकालको उपचारका क्रममा हिजो साँझ निधन भएको छ ।

निजामती अस्पताल मीनभवनमा कमलपित्त, अल्सर, हेपाटाइटिस एवं कलेजोको उपचारकै क्रममा उनको निधन भएको थियो ।

लामो समय पत्रकारिता गर्दै आएका ढकाल केही वर्षयता समदूरी साप्ताहिकको कार्यकारी सम्पादक रहेर कार्य गर्दै आएका थिए भने नेपाल पत्रकार महासंघ भक्तपुरका साधारण सदस्य, प्रेस चौतारी नेपाल भक्तपुरका सदस्य तथा अनेरास्ववियू पूर्वकेन्द्रीय सदस्यसमेत रहेका थिए ।

पूर्वप्रधानमन्त्री एवं एमालेका नेता माधवकुमार नेपालले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जलि अर्पण गर्दै ढकालको निधनले अपूरणीय क्षति पुगेको बताए । ढकालकी आमा, एक श्रीमती र एक छोरा रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।