मेरो त काँक्राको घर

0
292

भक्तपुर । इन्द्रावती गाउँपालिका–११ स्थित न्यौपाने टारमा बस्छिन् कालिका दङ्गाल । थर दङ्गाल भए पनि उनी दङ्ग पर्न भने सकेकी थिइनन् । कारण– पेशाले किसान भए पनि जग्गा भने शून्य । अर्थात घर ठडिएको जग्गामात्र । जग्गा हुँदै नभएकोचाहिँ हैन तर बढी कमाइ हुने आशले श्रीमान् त्यही बेचेर वैदेशिक रोजगारमा गएका थिए । विडम्बना, काम गर्ने क्रममा लडेर घाइते भएछन् । न जग्गा रह्यो न त पैसो नै आयो । उल्टै घाइते श्रीमान्लाई पो कसरी झिकाउने भन्ने समस्या आइलाग्यो ।
२ छोरी र १ छोराकी आमा कालिकालाई उनीहरूको लेखाइपढाइ गराउनुपर्ने जिम्मेवारीसमेत थपियो । धेरै विकल्प सोचिन् उनले जीविका सहज तुल्याउने । तर केही सिप लागेन । उनी भन्छिन्– जब प्रयासका सर÷मेडमसँग भेट भयो, त्यसपछि बल्ल मेरा आँखा खुले । उहाँहरूले भनेअनुसार गर्न थालेपछि भने जीवन रमाइलो होला होला जस्तो लाग्न थालेको छ ।
के गरिन् त कालिकाले युरोपेली निकायको मानवीय सहायता विभाग (इको) को आर्थिक सहयोगमा केयर नेपाल र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले इन्द्रावती गाउँपालिकामाप्रयास दोस्रोका सर÷मेडमसँग भेट भएपछि ? उत्तर उनकै शब्दमा– ‘उहाँले तरकारी, काँक्रो खेती गर्न सुझाउनुभयो । अनि ३ दिनसम्म तालिम पनि दिनुभयो । तालिम सकेर फर्कने बेलामा बीउहरू पनि दिनुभयो ।’ त्यसपछि के चाहियो र ? के गरौँ भन्ने मेलोमेसो नपाएर अक्क न बक्क परेकी कालिका तालिममा सिकेको र त्यसपछि पाएको बीउको सदुपयोग गर्न थालिहालिन् ।
उनी यतिबेला निकै हौसिएकी छिन् । नहौसिउन् पनि किन ? ९१ हजार रुपियाँको त काँक्रो नै बेचिन् । यति धेरै फल्यो कि गाउँ त के, नजिकको सिपाघाट र मेलम्ची बजारबाट समेत सबै उठाउने कोही नभेटिएपछि काठमाडौँको कालीमाटी बजारबाट मान्छे बोलाएर काँक्रो पठाउनुप¥यो । काँक्रोबाट एकै सिजनमा यति धेरै आम्दानी भएपछि अहिले उनी निकै हौसिएकी छिन् । र त अर्को आम्दानीका लागि तयारी पनि सुरु गरिसकेकी छिन् ।
अघिल्लो दसैँको कुरा हो । भूकम्पपछि भत्केको घर बनाउन सरकारले दोस्रो किस्ता उपलब्ध गराएको थियो । तर दसैँ मान्ने कुनै उपाय नभएपछि उनले घर बनाउन आएको यही पैसा खर्च गरिन् परिवारको दसैँ रमाइलो तुल्याउन । त्यसपछि घर अधुरै । धन्न, उनलाई तरकारी खेतीमा सघाएको प्रयास दोस्रो परियोजनाले नै व्यापारीसँग समन्वय गरेर घर बनाउने सामान जुटाइदियो । पछि तेस्रो किस्ता आएपछि तिर्नेगरी । झ्याल, ढोका, बालुवा र गिट्टी भने यही काँक्रो बेचेको पैसाले किनिन् । त्यसैले आफ्नो घरमा प्रयोग भएका सामान देखाउँदै हँसिलो मुद्रामा भन्छिन्– मेरो घर त काँक्रोले बनेको हो ।
उनले काँक्रो खेतीबाट यति धेरै आम्दानी गरिन् भन्ने थाहा पाउनेहरू जिब्रो टोक्छन् र सोध्छन्– आम्मै, तिनको जग्गा छ र भन्या यति धेरै खेती गर्न ? हो, उनको जग्गा जग्गा छैन तर उनले वर्षको २० हजार रुपियाँ तिर्नेगरी करिब साँढे २ रोपनी जमिन भाडामा लिएकी छिन् । जसमा गरिएको खेतीबाट उनी यतिबेला नामी काँक्रो कृषकमा गनिन सकेकी छिन् । सोधखोज गर्ने जोकोहीलाई सुनाउँछिन्– मेहनत गर्नेलाई आफ्नै जग्गा नभए पनि खेती गर्न छेकिँदो रहेनछ ।
शारदा तिमिल्सिना र नेत्रप्रसाद न्यौपाने गरी २ जनाको जग्गा भाडामा लिएर खेती गरिरहेकी कालिका यसअघि जमिन भाडामा लिएर खेती गर्ने कल्पनासमेत गर्न सक्दिनथिइन् । तर सही सल्लाह र परिस्थिति पनि त्यस्तै आइपरेकाले जग्गा भाडामै लिएर भए पनि खेती गर्दा निकै राम्रो आम्दानी लिन सकिने निष्कर्षमा पुगिन् उनी ।
आफूले यसरी राम्रो नाफा लिन सक्नुको श्रेय अरुलाई पनि बाँडचुँड गर्न चाहन्छिन् कालिका– पहिलो कुरा त मलाई प्रयास दोस्रोका कर्मचारीले आँखा खुलाइदिए । दोस्रो, त्यतिबेलै गाउँमा आएको कुलोले निकै भरथेग भयो । तेस्रो, प्रयासले नै कृषि प्राविधिक उपलब्ध गराइदिएकाले समस्याहरू खासै झेल्नुपरेन । यसरी सबैथोक मिल्नु नै आफू राम्रो आम्दानी लिन सफल हुनुको कारण बताउँछिन् उनी । त्यसैले त थप्छिन्– अब यसैलाई निरन्तरता दिने हो । आफूले जाने÷बुझेको काम गर्दा चुनौती कम आउँछन् र फाइदा पनि बढी लिन सकिन्छ भन्ने लाग्छ ।
छोराछोरीको पढाइलेखाइ, बिहे, दैनिक घर खर्च आदि कसरी चलाउने होला भन्ने चिन्तामा रहेकी कालिकामा यतिबेला भने दरिलै आत्मविश्वासले घर गरेको देखिन्छ । श्रीमान्लाई जग्गा बेचेर विदेश पठाउनुभन्दा बरु त्यतिबेलादेखि नै तरकारी, काँक्रो जस्ता खेती गर्न पाएको भए जग्गा पनि बच्ने र श्रीमान् पनि स्वस्थ भइरहने कल्पना उनको मनमा आइरहन्छ रे बेलाबखत । ‘तर के गर्नु ? हुनु भइसक्यो अब यसरी नै झन् बढी क्षेत्रफल भाडामा लिएर काँक्रो र तरकारी खेती गरेर समस्याहरू टार्दै जानुपर्ला’– अब प्रयास दोस्रोले देखाइदिएको मार्ग पछ्याउने प्रतिबद्धता यसरी व्यक्त गर्छिन् उनी ।

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...