सेतो टीका निधारमा टलक्कै टल्कियो : कसरी शुरु भयो सेतो टीकाको चलन?

0
336

काठमाडौंको व्यस्तताबाट केही दिनको बिदा मिल्छ दशैंमा। यही अवसरमा ८५ वर्षे हजुरबुवाको हातबाट सेतो टीका र अशीष थाप्न म सिन्धुपाल्चोकको इन्द्रावती आइपुगेको छु।

नभए वर्ष दिनमा झन्डै ८५ किलोमिटर नजिकको दुरीको गाउँ पुग्न हम्मे हुन्छ मलाई। बाआमा, इष्टमित्र र साथीभाईसँग भेट्ने सुनौलो मौका पनि यही नै रहेछ। म भन्दा धेरै दिनअघि तामाङहरु दशैं मनाउन काठमाडौंलगायतका शहरबाट गाउँगाउँ पुगिसकेका थिए।

यद्यपि,हाम्रो समूदायमा दशैं विरोधाभाषपूर्ण छ। कोही दशैं मनाउनै नहुने तर्क गर्छन्। कोही दशैं (म्हेनङ) हाम्रै पर्व भएको बताउँछन्। दशैं मनाउन हुन्न भने टीका लगाउने कुरा पनि भएन। मनाउनेले सेतो टीका लगाएर दशैं मनाउँछन्।

त्यसैले म पनि ‘सेतो टीका’ लगाउने वर्गमा परेँ। सेतो टीका होस् या अन्य रंगको, विजया दशमीमा लगाउनेसबै टीकाहरुले दशैंको झल्को दिन्छ नै।

तामाङमात्र हैन, मगर, गुरुङ, राई, लिम्बु, थारुलगायतका प्रमुख आदिवासी जनजाति पनि दशैंमा सेतो टीका नै चलाउँछन्। रातो टीका दशैंको पहिचान बन्दा किन जनजातिहरु सेतो टीका लगाउँछन् त?

दशैंमा जनजातिको सेतो टीका सम्बन्धमा प्रमुख जनजातिका अगुवा तथा संस्कृतिविद्हरु पनि फरक फरक धारणा राख्छन्। यसै सन्दर्भमा संस्कृतिविद्, समाजशास्त्रीहरुको ‘सेतो टीका’ सम्बन्धी धारणा यस्ता छन्:

दशैंलाई ‘एडप्ट’ गर्दा सेतो टीका

राज्यले दशैं मनाउनुपर्छ भनेर उर्दी जारी गरेपछि आफ्नै समूदायअनुसार यसलाई अनुशरण गरेको बताउँछन् तामाङ संस्कृतिविद् एवं मानवशास्त्री डा मुक्तसिंह थोकर। भन्छन्, ‘दुई शताब्दीसम्म राज्यले लादेपछि आफ्नो हिसाबले एडप्ट (ग्रहण) गर्‍यो। टीका आफ्नै तरिकाले ढल्कायो। भोलिन्टरी हिसाबले रमाइलो गर्ने हिसाबले अघि बढाएको छ दशैंलाई।’

तामाङ समुदायमा अधिकांशले जमरा पनि राख्दैनन्। यसो त टीका लगाउँदा दक्षिणा दिने चलन पनि कमै पाइन्छ। यसलाई रमाइलो गर्ने पर्वका रुपमा मात्र हेरिने थोकरको भनाई छ। उनी दशैंलाई राजनीतिक चाडकै रुपमा व्याख्या गर्छन्। भन्छन्, ‘यो राजनीतिक चाड हो। सामन्ती सत्ताको टीका लगाउने चलन थियो। जनजाति आन्दोलनले यसलाई अलिकति हिर्काएको छ।’

त्यसो त दशैंलाई सामाजिक सम्बन्ध नवीकरण गर्ने पर्वका रुपमा समेत अर्थ्याए डा थोकरले। उनले भने, ‘राज्यले आम रुपमा छुट्टी दिन्छ। दाजुभाइ र परिवार भेट्ने समय यही हुन्छ। यसको महत्व नयाँ जेनेरेसनले रमाइलो गर्ने हो। सामाजिक सम्बन्ध रिन्यु हुन्छ। यस्तो हुनुराम्रो पनि हो।’

दशैं हिन्दुहरुको विभिन्न देवीदेवताको कथासँग जोडिए पनि तामाङको दशैं मनाउने शैली आफ्नै भएको संस्कृतिविद् थोकरको दाबी छ। भने, ‘तामाङले दशैंलाई ‘म्हेनिङ’ पनि भन्छन्। यो असोज महिना हो। म्हेनिङ पूर्णिमा हो। यो पूर्णिमामा तामाङले आफ्नो देवदेवतालाई पूजा गर्छ।’

सेतो टीकाबारे डा थोकर भन्छन्, ‘हाम्रो सबै राम्रो कार्यमा सेतै टीका लगाइन्छ। बिहेमा पनि सेतै टीका लगाइन्छ। फूल पनि टोटलाको फूल हुन्छ। प्राचीन बोन परम्पराको निरन्तरता पनि यही नै हो। शान्तिको प्रतीकको रुपमा र शुभ रंगका रुपमा यसलाई लिने गरिन्छ।’

गोरखाली राज्यले टीका लगाउने चलन चलाउँदा पनि तामाङहरुले सेतो रंगको टीका लगाउने गरेको उनको दाबी थियो।

लिम्बु समूदायमा छैन सेतो टीकाको अर्थ

पूर्वको लिम्बु समुदायलाई पनि दशैंको रन्कोले उत्तिकै छोएको छ। लिम्बु समुदायमा पनि अधिकांश घरमा सेतै टीका चलाइन्छ। तर, सेतो टीकाको खासै अर्थ नहुने बताउँछिन् कवि तथा सञ्चारिका समूहकी महासचिव विमला तुम्खेवा।

भन्छिन्,’लिम्बुहरुले टीका नै लगाउँदैन। टीकाको कुनै सम्बन्ध छैन। मुन्दुममा कतै पनि छैन दशैंबारे। टीका लगाउनु भनेर उल्लेख गरिएको नै छैन।’

सामाजिक सम्बन्धलाई निरन्तरता दिन र धार्मिक सहिष्णुता कायम गर्नमात्र लिम्बुहरुले दशैं मनाउने गरेको उनको कथन छ।

तुम्खेवा भन्छिन्, ‘समाजमा अरुले पनि मनाउँछन्। बाहुन क्षेत्री सबै मिलेर बसेका छन्। उनीहरुलाई साथ दिन पनि दशैं मनाएको हुन सक्छ। पहिले त रातै लगाउँथ्यो नि हिन्दुले जस्तै। पछि गोरेबहादुर खपाँगीलगायतको आन्दोलनले सेतो टीका लगाउन थालेका हुन्।’

दशैं निरन्तर मनाउनु छुवाछुत प्रथाजस्तै भएको उनको भनाई छ।

‘समाजमा प्रभाव र एडप्टका कारण यस्तो भएको हो। छुवाछुत प्रथाजस्तै भएको छ दशैं पनि। जनजातिले दशैं मनाउन हुँदैन भनेर, टीका लगाउन हुँदैन भनेर थाह हुँदाहुँदै लगाउन छाड्ने को छन् र?,’प्रश्न थियो तुम्खेवाको।पृथ्वीनारायण शाहसँग सम्झौता गरी ‘कोल्याब्रेसन’ भएको हुनसक्ने अग्रजहरुले बताउने गरेको उनले बताइन्।

थारु समूदायमा सेतै टीका, टीका एक दिनमात्र

थारु समुदायमा पनि दशैंको टीकाका दिन निधारमा सेतै टीका टल्किन्छ। संस्कृतिविद् एवं थारु समूदायका अध्येता कृष्णराज सर्वहारीले सेतो रंग शान्तिको प्रतीकका रुपमा लिने गरेको बताए।

सर्वहारीका अनुसार पहिलेपहिले रंग नभएर पनि सेतो टीकाबाट शुरुवात भएको हुन सक्ने बताउँछन्। ‘पहिले ब्ल्याक एन्ड ह्वाइट जिन्दगी। हाम्रो पोशाक पनि सेतो हुन्छ। पगरी, जामा, भोटोसबै सेतै देखिन्छ,’सर्वहारीले भने।

थारुहरु दशैंलाई ‘दशिया’ भन्छन्। कतिपय ठाउँमा बलि दिइदैन। तर, पश्चिममा भने बली दिने प्रथा बढ्न थालेको उनले बताए। थारु संस्कृतिविद् सर्वहारीले भने, ‘पूर्वमा बलि दिइँदैन। पश्चिममा बलि दिनेको संख्या बढ्न थालेको छ। थारुहरुको माघी नम्बर एक एक हो। यो धुमधामसँग मनाइन्छ। दशिया मुल नेपालीहरुले मनाउने भन्दा भिन्न तरिकाले रमाइलैसँग मनाइन्छ।’

टीका लगाउने दिन गुरुबाकहाँ गएर टीका लगाउने र त्यसदिनबाट गुरुबासमेत नवीकरण हुने सर्वहारीले बताए।

‘गुरुबा धामीकहाँ टीका लगाउन गइन्छ। धामी हरेक वर्ष फरक हुन्छ। गुरुबाहरुको नाच हुन्छ। नयाँहरु पनि नाच्छन्। नवीकरण हुन्छ दशैंको,’ उनले बताए। थारु समुदायमा अधिकांशले सेतै टीका लगाए पनि देखासिकी गरेर रातो टीका पनि भित्रिन थालेको उनले बताए।

राईहरु सेतो टीकालाई शान्तिको प्रतीक मान्छन्

जनजातिको ठूलो हिस्सा राई समूदायले पनि ओगटेको छ। मुख्यत: उद्यौली उभौलीलाई प्रमुख चाड मान्ने राईहरुले पनि दशैंलाई अँगालेको छन्। यसमा विवाद नभएको भने हैन।

विवादकाबीच पनि राई समुदायमा धेरै दिनसम्म दशैं मनाउन प्रवृत्ति रहेको भाषाकर्मी एवं लेखक पदम राई बताउँछन्। शुरुमा दशैं मनाउन हुन्न भनेर विद्रोह गरेकाहरुले समेत अहिले मनाउन थालेको उनको भनाई थियो। भन्छन्, ‘प्रायले मनाउँदै आएका छन्। २०४६ सालको परिवर्तनपछि एक दुई वर्ष मनाउन पनि छाडेका थिए केहीले। छाड्नेहरु अल्पसंख्यकमा परे। अहिले त उनीहरुले पुन: टीका लगाउन थाले।’

अरु जनजातिमा आफ्नै शैलीमा ढालेर दशैं मनाउने चलन रहेपनि राईमा भने हिन्दुले जस्तै मनाइने गरेको पाइएको उनी बताउँछन्।

‘पृथ्वीनारायण शाहले पठाइदिएको तरबार र बन्दुकलाई नै पुज्ने गरिन्थ्यो, पहिले घटस्थापनासम्म। हिन्दु परम्परा अनुसार नै मनाइरहेको अवस्था छ। अभियन्ताहरुले बुझाउन नसकेको हो कि भन्ने पनि छ,’ राईले भने।

राज्यले फकाउँदै मनाउन लगाएको चाडका रुपमा बुझेका छन् उनले। भने, ‘जातीय राज्य कैंयौपटक आक्रमण गरेर जितेको हो नि। तर राज्यले फकाएर मनाउन लगाइयो। मनोवैज्ञानिक कारण पनि हो। बजार नपुग्दा मीठा खान चाडबाड नै पर्खनुपर्ने हुन्थ्यो। मीठो खान राम्रो लगाउन दशैंतिहार नै पर्खनुपर्ने भयो।’

दशैंमा टीका भने सेतै लगाइने गरेको उनले बताए। भने, ‘राईहरु सेतो टीका नै लगाउँछन्। यही भनेको शान्तिको प्रतीक। पवित्रताको प्रतीक मानिन्छ। सेतै पगरी लगाउने भएकोले कलर कम्बिनेसन पनि हुनसक्छ। रातो चाहि पराजित भएको हिसाबले नलगाउने हुन्छ।’

मगर पनि सेतै टीका लगाउँछन्: तर, कलरलाई ‘सिम्लाइज’ गर्न हुन्न

मगर समूदाय पनि प्रमुख आदिवासी जनजातिमा पर्छ। यही समुदायमा पनि दशैं धुमधामका साथ मनाइन्छ। देशका कतिपय शक्तिपीठहरुमा त मगर समुदायबाटै पूजारी रहेका छन्।

यस्तो अवस्थामा मगर समुदायको दशैंप्रतिको दृष्टिकोण के त? समाजशास्त्री झकेन्द्र घर्तीमगरका अनुसार मगर समुदायले पनि दशैंलाई चटक्क छाड्न नसकेको स्वीकार्छन्।

‘२४० पछि बल्ल धर्मनिरपेक्षको कुरा भयो। तर, संविधानले हिन्दु धर्मलाई गाइडेड गरेको छ। दशैं हाम्रो हो भनेर हिन्दुहरुको पक्षमा लागेका जनजाति पनि छन्। जबरजस्ती पनि मनाउनुपर्छ। बीचमा दशैं परित्याग गर्ने भनेर गोरेबहादुर खपांगीहरु, कृष्ण भट्टचनहरु लागे। विरोध गरे तर विकल्प दिएनन्। बिदाका कारण दशैं मनाउन बाध्य छन्,’ उनले भने।

राज्यद्वारा लादिएको भए पनि कोटहरुमा पूजा चलाउने मगर नै भएको उनी बताउँछन्। भन्छन्, ‘पूर्णिमाको दिन मेला लाग्छ गाउँगाउँमा। कोतहरुमा पूजा चल्छ। २२-२४ राज्य भएको बेला हतियार संकलन भएका थिए। मनकामनामा मगर छ। मगर पूजारी हुन्छ। कोतमा हतियार संकलन गरेर राख्नुका कारण मगर इमान्दार भए। विश्वासका कारण कोटको जिम्म मगरले पाए। ती कोत पछि शक्तिपीठमा रुपान्तरण भए।’

यति हुँदा पनि मगरले दशैंलाई जितहारको पर्वको रुपमा नलिने उनी बताउँछन्। ‘मगरले दशैंलाई जितहारको रुपमा लिँदैनन्। हामी पितृहरुको सम्झना गर्छौ। प्रार्थना गरेरमात्र खाने हो,’ उनले भने।

सद्भाव भातृत्वका रुपमा दशैं मनाइने भए पनि मनाउने तरिका फरक हुने उनले बताए।

टीकाको रंगबारे उनको धारणा भने फरक रहेको छ। रातो टीका हिन्दुमा विजयका रुपमा हेर्छन्। जितको सिम्बोल रगतका रुपमा लिन नहुने उनको तर्क छ। उनी भन्छन्,’जिम्बाबेका पूर्व प्रधानमन्त्री रोबर्ट मुगाबेले यही कलरबारे भन्नुहुन्थ्यो। सिम्बोल कन्स्ट्रक्टेड हुन्छ। गाडीको टायर किन कालो हुन्छ? बैंकमा कालो सूचीमा किन राखिन्छ। वेस्टमा कालोलाई नेगेटिभ र ह्वाइमा पोजिटिभ भनेर सिम्बोलाइज भयो। रातोलाई विजयको रुपमा ल्यायो हिन्दुले।  राम-रावणको कुरा हो। यो हाम्रोमा मिल्दैन।’

पत्रकार महासंघका पूर्व महासचिव उजिर मगर भने सेतो टीकासँग आमाको साइनो रहेको बताउँछन्। उनी भन्छन्,’हामी दशैंमा दहीमा मुछेको टीका लगाउँछौ।आमाको दूध सबैले खान्छन्। मगर समुदायमा भैसी र गाईको दुधलाई पनि आमाको दूध समान मान्छ। ती दुधबाट बनेका दही सेतो हुन्छ। त्यसैले आमालाई सम्झेर सेतो टीका लगाउने गरिन्छ।’

पहिले सबै सेतै टीका लगाउँथे: जगमान गुरुङ

नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा जगमान गुरुङले भने दशैं मनाउने सबै जातिले आरम्भमा सेतै टीका लगाउने गरेको बताउँछन्। गुरुङ भन्छन्,’पहिले रंग कहाँबाट पाउनु? बाहुन क्षेत्रीको पनि सेतै हुन्थ्यो। पछि भारतबाटै ल्याएर लगाएका हुन् उनीहरुले पनि। दुल्लुतिर दहीमा चामलमा बेसार मुछेर लगाइन्छ। तनहुँका एकथरी अधिकारीको कुल पूजामा सेतो टीका चलाउनुपर्छ। अर्थसचिव कर्णध्वज अधिकारी।(थामी अधिकारी) उहाँहरुको कुल देवताको पूजामा सेतो चल्छ।’

बजारीय हिसाबले रातो रंगको टीका नेवारले शुरु गरेको उनको दाबी छ। उनी भन्छन्,’व्यापारमा नेवारहरु अघि रहेकोले उनीहरुले शुरु गरेका हुन् रातो टीका लगाउन।’

यसो त रातो टीका जनजातिहरुकै भएको गुरुङको तर्क रहेको छ। भन्छन्, ‘रातो हाम्रो हो। स्याङ्जा पर्वतको मगर गुरुङहरु नागको पूजा गर्दा कुखुरा चढाउँछन्। ‘अयँर-भयँर देउराली जे’ पूजा गरेपनि पशु पर्सेपछि मार हान्ने वा रेट्ने चलन छ। त्यो पशुको टाउको भोग दिएपछि अक्षेता भएको थालमा राखिन्छ। अनि चुहेको रगतले मुछेको टीका हामीले लगाइन्छ।’

त्यसैले रातो र सेतो टीका भनेर विवाद गरेर बस्ने समय यो नभएको उनको भनाई छ। गुरुङ भन्छन्, ‘रातो टीका भनेर विवाद गर्नै भएन नि। यो राम्रो होइन। दशैं मनाउने आआफ्नै परम्परा छ। रातो हाम्रो हैन भनेर भन्नु अलि गलत हो। एकप्रकारले ह्विम जारी गरेको छ। पढेर बूझेर अध्ययन गरेरमात्र बोल्नुपर्छ भन्ने ठान्छु म।’

हरेक जातिमा दशैं मनाउने शैली फरकफरक भएको गुरुङले बताउँछन्। भने, ‘गुरुङले मान्ने पनि फरक तरिका छ। आफ्नै परम्पराले मनाउने चलन छ। दशैंमा गुरुङले पितृ र वायुको पूजा गर्छ।’

गुरुङ समूदायले विहान वायुको पूजा गरेपछि दिउँसो पुरोहितले पितृलाई निम्तो गर्ने र खाँड पूजा गर्ने बताए। राज्यले बिदाबोनसलगायतको सुविधा दिएर मनाउन लगाएको विषयलाई जनजातिले लादिएको भन्ने विषयलाई भने नकार्न नसकिने उनले बताए। भने, ‘लादिएको भन्ने कुरा राज्य व्यवस्थाले मान्नुपर्छ भनेर सुविधा दिएको छ। यसअर्थमा यो सही पनि छ।’पहिलोपोष्टको सहयोगमा

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...