कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा उनलाई बिजुक्छेँको सन्देश के छ सन्देशमा हेर्नुहोस

0
95

भक्तपुर ।
कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापनाको दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ रोहितले कोरियाली मजदुर पार्टीका अध्यक्ष मार्सल किम जङ उनलाई शुभकामना सन्देश पठाउनुभएको छ । सन्देशको नेपाली अनुवाद यस्तो रहेको छ ।

महामहिम मार्सल किम जङ उन
अध्यक्ष, कोरियाली मजदुर पार्टी
अध्यक्ष, प्रजग कोरिया राज्य मामला आयोग
सर्वोच्च कमान्डर, कोरियाली जनसेना
प्योङयाङ, प्रजग कोरिया ।
महामहिम,
कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी केन्द्रीय समिति, सबै पार्टी कार्यकर्ता र सदस्यहरूको तर्फबाट महामहिमज्यू र कोरियाली मजदुर पार्टीका सबै सदस्यहरूप्रति न्यानो शुभकामना र हार्दिक बधाई ज्ञापन गर्न चाहन्छौँ ।
पितृभूमि मुक्ति युद्ध, समाजवादी क्रान्ति र समाजवादी निर्माण तथा जटिल विश्व परिस्थितिबीच क्रान्तिकारी पार्टी निर्माणमा कोरियाली मजदुर पार्टीले हासिल गरेका ऐतिहासिक उपलब्धि र सफलता देख्दा र अनुभव गर्दा हामीलाई गौरव र खुसी महसुस भएको छ । महान नेता किम इल सङले राख्नुभएको कोरियाली मजदुर पार्टीको साङ्गठनिक र वैचारिक जग दिनानुदिन बलियो बन्दै गएकोमा कोरियाली मजदुर पार्टीको मित्रपार्टी हुनुको नाताले नेपाल मजदुर किसान पार्टी खुसी व्यक्त गर्दछ । क्रान्तिकारी जुछे विचारधारा साथमा बोकेर कोरियाली मजदुर पार्टीले हासिल गरिरहेको गति हाम्रो लागि गौरवको विषय हो । बलियो वैचारिक आधार, जनताबीच एकमनको एकता र प्रतिभाशाली नेतृत्वले कोरियाली मजदुर पार्टीलाई जुछेमा आधारित कामदार जनताको क्रान्तिकारी पार्टी बनाएको छ । कोरियाली मजदुर पार्टीले दिलोज्यानले समाजवादी विचारधाराको रक्षा गर्दै आएको छ ।
वीर कोरियाली जनता जापानी उपनिवेशवाद र संरा अमेरिकी साम्राज्यवादविरुद्ध दसकौँदेखि लड्दै आएका छन् । कोरियाली मजदुर पार्टीको अपराजयी रातो झन्डामुनि अन्तिम विजयसम्म कोरियाली जनता लडिरहनेछन् । कोरिया प्रायःद्विपको शान्तिपूर्ण पुनः एकीकरण गर्ने महान नेता किम इल सङको सपना र नेता किम जङ इलको दृढ इच्छा अझै पनि साकार भइसकेको छैन । महामहिमको गतिशील नेतृत्वमा कोरियाली मजदुर पार्टीले यो सपना साकार पार्न अघि बढ्ने हामी दृढ विश्वास व्यक्त गर्दछौँ ।
संरा अमेरिकासँग यसअघि भएका हरेक वार्तामा र चालू वार्तामा प्रजग कोरियाको दृढ अडानले प्रजग कोरियामा शान्ति स्थापना हुने, राष्ट्रिय स्वाधीनताको विवेकपूर्वक रक्षा हुने र कोरिया प्रायःद्विपमा युद्धको अवस्था अन्त्य हुनेमा हामी बलियो विश्वास व्यक्त गर्दछौँ । संरा अमेरिकी साम्राज्यवाद र अरू क्षेत्रीय युद्ध उत्तेजक शक्तिविरुद्ध वीर कोरियाली जनताले अथकरूपमा गरिरहेको सङ्घर्षप्रति हामी ऐक्यबद्धता व्यक्त गर्दछौँ । संरा अमेरिकाले प्रजग कोरियामाथि थोपरेको क्रुर र अन्यायपूर्ण नाकाबन्दी अन्त्य हुनुपर्नेमा हामी जोड दिन चाहन्छौँ । एसियामा शान्ति सुनिश्चित गर्न दक्षिण कोरियामा तैनाथ संरा अमेरिकी सेना निशर्त तत्काल फिर्ता गर्नुपर्छ । एउटा सार्वभौम देशको रूपमा आफ्नो राष्ट्रिय स्वाधीनता रक्षा गर्ने शक्ति बलियो बनाउन प्रजग कोरिया स्वतन्त्र रहेकोमा हामी प्रस्ट छौँ । प्रजग कोरिया विश्व शान्ति र एसियामा शान्ति कायम गर्न प्रतिबद्ध रहेको संसारलाई थाहा छ ।
कोरियाली मजदुर पार्टीको ७४ औँ स्थापना दिवस धुमधामसँग मनाइरहेको बेला नेपाल मजदुर किसान पार्टी महामहिमज्यूप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौँ । हामी विजयी समाजवादी कोरिया र शान्तिपूर्ण तथा समृद्ध कोरियाली समाज निर्माणमा सफलताको कामना गर्न चाहन्छौँ । नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा अझ गहिरो र बलियो हुनेमा हामी विश्वास व्यक्त गर्दछौँ ।
नेपाल मजदुर किसान पार्टी र कोरियाली मजदुर पार्टीबीचको मित्रता जिन्दावाद
न्यानो अभिवादनसहित
नारायणमान बिजुक्छेँ रोहित

https://sambahak.com/wp-content/uploads/2019/05/gyalmu-jee-ko-badai.png
Loading...