प्रदेश नामाकरणले केही हुन्न

0
60

० कृष्ण प्रजापति
यो समयमा नेकपा प्रदेश नम्बर ३ को नाम बागमती र प्रदेशको राजधानी हेटौडालाई नै कायम राख्ने दौडमा छ । त्यसको लागि हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेल पनि हेटौडामा रहनु भएको छ । आफ्नो पार्टी कार्यकर्ता तथा सांसदहरुलाई कन्भिन्स गर्नका लागि ती नेताहरु हेटौडा पुग्नु भएको हो । कुनै बखत ३ नम्बर प्रदेशको नाम नेवाः ताम्सालिङ वा नेपालमण्डल रहनु पर्दछ भनेर विशेष जोड थियो । नेवाः समुदाय मात्रले नेपालमण्डल रहनु पर्दछ भनी केही वर्ष अगाडि नै दशरथ रंगशालामा भेला भएर आफ्नै किसिमले नेपालमण्डल राज्य घोषणा पनि गरियो । तर संविधान निर्माणका बखत भने त्यसले मूर्त रुप लिन सकेन । संविधान मुतावित स्थानीय र प्रदेशको चुनाव पनि भयो । तर पनि नाम र राजधानी भने अझ अन्यौल रहेको छ । कर्णाली प्रदेश, गण्डकी प्रदेश भनी केही प्रदेशले आफ्नो नाम आफै राख्ने काम पूरा गरेका छन् । तर ३ नम्बर प्रदेशको नामाकरण ढिलो भएको छ ।
यस्तो स्थितिमा नेकपाले बागमती सभ्यतालाई जोड दिएर नाम पनि बागमती राख्ने र राजधानी पनि सर्वसुलभ स्थानको रुपमा हेटौडालाई राख्न जोड दिएको छ । ३ नम्बर प्रदेशका मूख्यमन्त्री डोरमणि पौडेल आफै पनि हेटौडा राजधानी बनाउने पक्षमा सुरुदेखि लागिपर्नु भएको ब्यक्तित्व हुनुहुन्छ । त्यसैले पनि निहुँ नभएको निहुँ बनाएर ३ नम्वर प्रदेशमा एक मात्रै नेवाः मन्त्री केशव स्थापितलाई निलम्वन गरेको छ । हेटौडालाई प्रदेश राजधानी बनाउन र नाम पनि नेपालमण्डल वा नेवाः ताम्सालिङ रहनबाट बचाउने त्यो नै राम्रो उपाय थियो । केन्द्रीय सरकार, नेकपा र ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल आफैले पनि ३ नम्बर प्रदेशको नाम बागमती राख्ने र आफ्नै सोच अनुसार राजधानी हेटौडा मै बनाउने भएपछि भने अब पार्टी एकै साथ कन्भिन्स भइसकेको अवस्था छ । त्यसैले पनि एकसाथ त्यो निर्णय हाल आएर गर्न गइरहेको छ । बहुमतको आधारमा निर्णय गर्ने हो भने बागमती नाम र हेटौडा राजधनी हुने प्राय निश्चित नै छ । ह्वीप जारी गरेर गर्ने काम वा कम्युनिष्ट पार्टीमा हुने अनुशासनको पालनाले गर्ने निर्णय भन्दा जनताको लागि मान्य हुने नाम र राजधानी उपयुक्त हुन्थ्यो ।
नेपालमण्डल ऐतिहासिक नाम हो । उपत्यका लगायत १३ जिल्लालाई समेटेर त्यो बेला नेपालमण्डल राजधानी काठमाडौं उपत्यका बनेको थियो । साथै त्यसको वरपर डाँडाकाँडा नै तामाङ बस्ती थियो । तुलनात्मक रुपमा नेवाः समुदाय भन्दा तामाङ समुदाय बहुमत थियो । त्यसैले पनि उपत्यका र नेपालमण्डल कायम रहेको १३ जिल्ला नेवाः र तामाङ जातिको बाहुल्यता भएको स्थान भएका कारण यो स्थानको नाम नेवाः ताम्सालिङ हुनु उपयुक्त थियो । ऐतिहासिक पृष्ठभूमि उपत्यका लगायतका स्थान नेपालमण्डल नाम रहेको भएपनि तामाङ जातिको बाहुल्यता भएको स्थानको हिसावले नेवाः ताम्सालिङ नाम हुनु उपयुक्त थियो । तर ती दुबैलाई उछिनेर हाल खस् बाहुनहरुको सदनमा बाहुल्यता भएकै आधारमा खोजेर ल्याएको नाम जस्तो गरी नदीको आधारमा वागमती सभ्यताको आधारमा नाम बागमती राख्ने निर्णय भयो । त्यो स्थानीय नेवाः र तामाङ समुदायको हितमा रहेन ।
नेवाः र तामाङ समुदायको बाहुल्यता भएको र ऐतिहासिक रुपमा नेवाः समुदायले सभ्यता सुरु गरेको स्थान नेपालमण्डललाई हाल आएर बागमती नामाकरण गरी विवाद अन्त्य गर्ने प्रयास भएको छ । वास्तवमा नामले केही हुने होइन । स्थानीय जनताको हित र प्रदेशका जनताहरुको भावना, मर्म र धारणालाई प्रतिविम्वित गर्न सकेको खण्डमा नाम जे सुकै राखेपनि राम्रो काम गर्न सकिन्थ्यो । यहाँका जनताको सुख, शान्ति र प्रगति हुने खालका नीति नियमहरु पारित गरी नयाँ प्रदेश कानूनहरुको ब्यवस्था ३ नम्बर प्रदेशले गर्न सकेको खण्डमा त्यो भन्दा राम्रो अरु के नै हुन सक्छ र ? त्यसैले पनि हाल नेकपाले जोड तोड दिएर पार्टी कार्यकर्ताहरुलाई ह्वीप जारी गरेर बागमती नाम र हेटौडा राजधानी गर्नको लागि जोड दिइरहेको बखत नेपालको इतिहासमा एक नम्बर सभ्य जाति नेवाःहरुको मर्म विपरित काम हुन लागेको महसुस हुने गरेको छ । नेपालको नामाकरणमा समेत नाम जोडेको नेवाः समुदायलाई हेला होचा गरी भएको सभ्यता र संस्कृति विनाश पार्न सहयोग गर्ने गरी यहाँ स्मार्ट सिटी र मेट्रो सिटीको नाम दिएर नयाँ नयाँ शहर स्थापना गरी स्थानीय बाहुल्यता भएको जाति नेवाःहरुलाई अल्पमतमा पार्ने षडयन्त्र सफल पार्नको लागि पनि नेकपाले हाल नेवाः र तामाङ जातिलाई उपेक्षा गरेर नामाकरण र राजधानी बनाउने देखिन्छ ।
तामाङ बढी भएको स्थान काभ्रे वा गाउँलाई राजधानी बनाउने हो भने एउटा नयाँ राजधानी शहर निर्माणको सम्भावना थियो । हेटौडा आफै पनि विकास भएको र तराई जस्तो सुलभ स्थान हो । त्यसैले त भीमफेदी सदरमुकाम भएको स्थान बदलेर हेटौडा सदरमुकाम सारियो । अब त्यो जस्तै नयाँ एउटा शहर निर्माणको सोृच बनाएर काभ्रेको कुनै खुल्ला, ठूला क्षेत्र ओगट्ने धेरै जमीन भएको डाँडालाई सदरमुकाम वा केन्द्र बनाउन सके देशमा एउटा थप शहरको सम्भावना हुन्थ्यो । भोलि हेटौडा पनि हाल काठमाडौं शहर जस्तै धेरै मानिस भएको, फोहर र स्वास फेर्न समेत निकै मुश्किल पर्ने शहरको रुपमा विकास नहोला भन्न सकिन्न । किनभने हाल सालै हेटौडा राजधानी हुने भयो भने पछि नै त्यहाँका भूमाफियाहरुले जग्गा जमीनको चलखेलका कामलाई निकै धेरै अगाडि बढाई सकेको अवस्था छ ।
नेपाल जस्तो सुन्दर शान्त देशमा एक जातिले अर्को जातिलाई दमन, शोषण र हेला होचा गर्नु ठीक छैन । त्यसैले पनि तराई, मधेशी, पहाडी र उपत्यकाका नेवाः जाति आापसमा मिलेर बस्न सके यो देश चाँडो विकास हुने गर्दछ । होइन, पंचायती कालमा जस्तै तराई र पहाड बस्ने भनी एक अर्का बीच हेला होचा गरेर बसेको खण्डमा सत्ताधारी शक्तिले जहिले पनि जनतालाई सक्दो पेल्ने काम दोहो¥याई रहनेछ । हालको अवस्था हेर्दा पनि नेवाःहरुले नेपालमण्डल र तामाङहरुले ताम्सालिङ नाम मागिरहेको बखत नेवाः र तामाङ दुबै मिलेर यो प्रदेशको नाम नेवाः ताम्सालिङ हुनु पर्दछ भनी नाम प्रस्ताव भइरहेको हो । प्रदेश सभामा दर्ता समेत भइसकेको सो प्रस्ताबलाई बेवास्ता गरी त्यसमा छलफल नै गर्न नदिइकन एकैपल्ट नाम बागमती प्रदेश भनी राख्ने भन्ने जुन हल्ला आएको छ । त्यसको विरोधमा काठमाडौं उपत्यका र प्रस्तावित राजधानी हेटौडामा समेत प्रदर्शन हुनुले पनि यो बेला जनताको भावना र मर्म के हो भन्ने बुझ्नु जरुरी छ ।

Loading...
SHARE
Previous articleपाइप विच्छाउन खनेको खाडमा परि तेमालमा एक तामाङको मृत्यु
Next articleराप्रपा संस्थापक नेता एवं समाजसेवी मदनकृष्ण हाडाको निधन