आजदेखि श्रीस्वस्थानी व्रतकथा सुरुः शालीनदीमा एक महिना मेला लाग्ने

0
19

काठमाडाैं ।

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उहाँको कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

आजदेखि व्रत बस्ने प्रत्येकले महिनाभरि नुहाई मध्याह्नमा श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाह अनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकांक्षा पूर्ण भएको र पछि उनले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गरेकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

यस अवधिभर पशुपति, गौरीघाट, गणेशमन्दिर, शालीनदी तथा सतीदेवीको अङ्ग पतन भएको स्थानमा पूजाआजा गरेमा पनि मोक्ष मिल्ने धार्मिक विश्वासका साथ ती स्थानमा भक्तजनको घुइँचो लाग्ने गर्छ । एकतीस अध्याय रहेको यस कथाको बाह्रौँ अध्यायमा श्रीस्वस्थानीको महिमाबारे वर्णन गरिएको र श्रद्धापूर्वक श्रीस्वस्थानीको व्रत बसी कथा वाचन तथा श्रवण गरेमा दुःख तथा रोगव्याधि नाश हुने एवं मनले चिताएको पुग्ने कुरा पार्वती, गोमा र नवराजजस्ता पात्रका माध्यमबाट देखाइएको छ ।

कसैले पनि अभिमान र अवहेलना गर्न नहुनेजस्ता नैतिक शिक्षा पनि दक्षप्रजापति र चन्द्रावतीजस्ता पात्रका माध्यमबाट समाजलाई दिन खोजिएको छ । व्रतकथामा सधैँ सत्यको जीत र असत्यको हार हुन्छ भन्ने कुरा मधु–कैटभ, तारकासुर, जालन्धर र त्रिपुरासुरजस्ता दैत्यहरूको पराजयबाट पनि चित्रण गरिएको छ ।

स्थानीय भक्तजनका अनुसार परम्परादेखि नै श्रीस्वस्थानीको व्रत र उपासना गर्ने प्रचलन रहेको शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जल, प्रसाद ग्रहण गरी पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गर्ने चलन छ। सो मन्दिर पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महीना मात्र खोली प्रत्यक्ष पूजाआजा गर्ने प्रचलन छ ।

स्कन्दपुराणको केदारखण्डमा सूर्य मकर राशिमा प्रवेश गरेपछि लाग्ने माघी मेलामा समयका प्रभावले पानी शुद्ध र स्वच्छ हुने उल्लेख गरिएकाले यस अवधिमा पनि सात्विक भोजनका साथ बिहान स्नान गरी श्रीस्वस्थानीको पूजापाठ गर्नाले ठूलो फल मिल्ने उल्लेख छ ।

एक महिनापछि व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने १०८ रोटी, १०८ पान, १०८ कुड्का सुपारी लगायतका सामग्रीमध्ये आठ–आठवटा रोटी, सुपारी र पान लगायतका सामग्री आफ्ना श्रीमानलाई, श्रीमान् नभए छोरालाई, छोरा पनि नभए मितछोरालाई दिने र मितछोरा पनि नभए मेरो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयंले खाने प्रचलन छ ।

Loading...
SHARE
Previous articleसामाजिक सञ्जालमा दुई प्रदेशबीचको विवाद लेखे पनि जन्मकैद
Next articleत्रिविले तोक्यो स्ववियु निर्वाचनको मिति