नेवाः स्वायत्त राज्यको माग अपूरो

0
38

० कृष्ण प्रजापति
कुनै बखत नेवाः समुदायले अत्यन्तै चंख भएर नेवाः स्वायत्त राज्यको माग गरेको थियो । आफूहरु मात्रै बसी लाखौं लाख नेवाः समुदाय दशरथ रंगशालामा भेला भएर नेवाः स्वायत्त राज्य नेपालमण्डल घोषणा पनि गरेको थियो । तर सो घोषणा वास्तविक रुपमा कार्यान्वयनमा आउन सकेन । कुनै पनि चाहना र माग संविधानमा किटान गराउनका लागि सदन मार्फत् पारित गराउन सांसदहरुलाई बुझाउनु पर्ने थियो । संविधान निर्माण प्रक्रिया भनेको हजारौं वर्षमा एक पल्ट आउने चीज हो । एक युगमा एक पल्ट आउने चीज नेपालमा भने दुई पल्ट एकैसाथ आइदियो । ६०—७० वर्षको संघर्षले आएको परिणामले पनि नेवाः समाजको माग अनुरुप नेवाः स्वायत्त राज्य भने कायम भएन । नेवाः एक्लै मात्रै अगाडि बढेको खण्डमा नेवाः स्वायत्त राज्य कायम हुने छाँट नदेखिएपछि बिस्तारै नेवाः भन्दा अलि बढी जनसंख्या भएको यही वरपर बस्ने तामाङ जातिसंग मिलेर नेवाः ताम्सालिङ प्रदेश नाम माग्ने काम पनि नेवाःहरुले गर्न थाले । त्यसको लागि नेवाः जातिको राष्ट्रिय संगठन नेवाः देय् दबू र तामाङ जातिको राष्ट्रिय संगठन नेपाल तामाङ घेदुङ मिलेर पनि नेवाः ताम्सालिङ प्रदेशको नाम माग भयो ।
दुई पल्ट संविधानसभाको चुनाव भएर संविधान तयार भएर पनि कुनै पनि प्रदेशको नाम र प्रदेश राजधानी निर्धारण भएन । आखिर नाम र प्रदेश राजधानी निर्धारण गर्ने जिम्मेवारी स्थानीय प्रदेशलाई दिएर संविधान घोषणा भयो । त्यसको दुई वर्षमा बल्ल गण्डकी प्रदेश, सुदूर पश्चिमाञ्चल प्रदेश र कर्णाली प्रदेशले आफ्नो नाम र राजधानी निर्धारण गरेको अवस्था छ । हाल आएर ३ नम्बर प्रदेशले पनि राजधानी हेटौडा र बागमनी नाम कायम गरेको छ । यो पंचायती नामसंग झण्डै मिल्दो जुल्दो नाम हुन पुगेको छ । नेवाः जातिले इतिहास बनाएको स्थान भएका कारण यहाँको नाम नेवाः जातिले पहिले देखि कायम गरेको नेपालमण्डल हुनुपर्ने जिकिर गरेको थियो । तर बहुमत सांसदहरु गैर नेवाः भएको र उनीहरुले नेवाः भावनालाई कुनै हालतमा प्रतिविम्वित गर्न नसकेका कारणले पनि नेवाः जातिले प्रस्तावको रुपमा ल्याएको नेपालमण्डल एवं नेवाः र तामाङ जातिले नामाकरण गरेको नेवाः ताम्सालिङ प्रदेश दर्ता समेत गर्न दिएन । यसको लागि बागमती एक मात्रै नाम दर्ता गराएर हेटौडा राजधानी गर्ने सत्ताशीन पार्टीको निर्णयलाई नै सबैले समर्थन गरेको पाइएको छ । यो धेरै दृष्टिले उपयुक्त पनि थियो ।
नेवाः देय् दबू जस्तो नेवाःहरुको राष्ट्रिय संगठनले ललितपुरमा दुई दिनसम्म नेवाः राष्ट्रिय सम्मेलन गरी नेवाः स्वायत्त राज्य नेपालमण्डलको अवधारणा अगाडि सारेको थियो । विभिन्न संघ संस्था मिलेर एकमतले त्यो बेला नेवाः स्वायत्त राज्य नेपालमण्डलको अवधारणा अगाडि ल्याएर तीन मुख्य शहर काठमाडौं, भक्तपुर, ललितपुर लगायत १३ जिल्लालाई स्वायत्त प्रदेश नेपालमण्डलले समेट्ने भनेको थियो । त्यसको औपचारिक घोषणा रंगशालामा नेवाः समुदाय भेला भएर दश वर्ष अगाडि गरेको थियो । तर त्यो संविधानमा उल्लेख गर्न भने सकिएन । त्यसपछिका नेवाः संघ संस्था र तामाङ जातिको संघ संस्थाले भने आफ्नो ठेगाना राख्दा नेपालमण्डल स्वायत्त प्रदेश भनी नाम राख्ने चलन सुरु गरेको थियो । तर त्यसलाई अब बैधानिक ढंगले लागू गर्न नसकेपछि नेवाः स्वायत्त राज्य नेपालमण्डलको अवधारणा भने छायामा पर्न गएको छ । त्यो बेला संघर्षमा अगाडि परेका संयोजक नरेन्द्रभक्त हाडा, मल्ल के. सुन्दर लगायत महेशमा श्रेष्ठहरुले नेवाः समुदायलाई दिएको आश्वासनलाई पूरा गर्न सकिएन ।
हिमाल, पहाड र तराई क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई विभिन्न रुपमा विभाजन गरी शासन गर्ने परिपाति पंचायती कालदेखि चल्दै आएको थियो । अहिले पनि सो परिपातिले निरन्तरता पाएको छ । देशमा हिमाल, पहाड र तराईलाई समेटेर राज्य पुनसंरचना गर्नु पर्ने थियो । त्यसो हो भने मात्रै दक्षिणी शक्ति भारतले विभाजनको रेखा कोर्ने प्रयाास गर्ने थिएन । हाल २ नम्बर प्रदेश नेपाल हो वा भारत हो भने जस्तो देखिएको छ । भोलि त्यो भारतसंग मिल्न जान सक्ने सम्मको सम्भावना देखा परिरहेको छ । साथै तराईको ८—१० जिल्लामा यात्रा गर्दा भारतमा छुँ वा नेपालमा छुँ भन्ने जस्तो अवस्था सिर्जना हुने गर्दछ । त्यसबाट बच्ने मूल उपाय भने हेटौडा नै राजधानी कायम गरी बागमती नाम राख्नु सही छ । नेमकिपाले २०६४ सालमा संसदको राज्य पुनःसंरचना समितिका दिएको सुझावमा नै बागमती नाम र हेटौडा राजधानी हुनु पर्ने कुरा उल्लेख थियो ।
आज भन्दा १२ वर्ष अगाडि नेमकिपाले ल्याएको अवधारणामा नेपाली कांग्रेस र एकिकृत नेकपा समेत सहमत भएको छ । त्यो हिसावले भारतको प्रवाह न्यून गर्नका लागि हिमालदेखि तराईसम्म छुने गरी प्रदेश बाँढ्ने र ३ नम्बर प्रदेशको नाम बागमती र राजधानी हेटौडा गराउनु उपयुक्त थियो । नेपालमण्डल नाम राख्ने बखत भोलि नेवाः समुदायले नै बहुमत छ भन्ने गरेको तामाङहरुले त्यसको बिरोधमा असन्तोषको आगो बाल्ने सम्भावना पनि प्रबल रहेको छ । साथै नेवाः ताम्सालिङ भनी नामाकरण गर्ने हो भने पनि भोलि नेवाः हटेर ताम्सालिङ मात्रै पर्न जान सक्ने सम्भावनालाई पनि नकार्न सक्ने स्थान भएन । त्यसैगरी हेटौडाको सत्ता अन्य बिकल्प खोज्ने हो भने केन्द्रमा सरकारको संकुचन हुँदै जाने र तराई झन् एक्लिने र भारतको लागि त्यो राम्रो अवसरको रुपमा पनि हुन जान सक्ने सम्भावनालाई पनि नकार्न नसक्ने अवस्था सिर्जना भएको छ । त्यसैले पनि हेटौडा राजधानी र बागमती प्रदेश भनेर नामाकरण गर्दा कसैलाई केही आपत्ति हुने कुरो भएन । नेवाः समुदायको लागि मात्रै हेर्न वा तामाङ समुदायको लागि मात्रै ध्यान दिने गर्दा अन्य समुदाय अन्यायमा पर्न सक्ने कुरोलाई पनि प्रदेश सरकारले ध्यान दिनु पर्ने थियो । वास्तवमा यो घोषणाले राम्रो संस्कार दिलाएको छ ।
प्रदेश सदनमा नेमकिपाले कस्तो लाइन लिने होला भन्ने निकै ठूलो चासो थियो । कतिपय सांसदहरुलाई समेत आज भन्दा १२ वर्ष अगाडि सदनमा दर्ता भएको बागमती नाम र हेटौडा राजधानी भनी उल्लेख भएको दस्ताबेज बारे थाहा नै थिएन । तर दूरदर्शी पार्टी नेमकिपाले जब आफ्नो सही धारणा अगाडि सारे, त्यसको पछि पो आफूहरु लागेका रहेछौं भनी नेपाली कांग्रेस र नेकपाले महसुस गर्न पुगे । त्यसैले पनि पार्टी ठूलो हुँदैमा सही धारणा अगाडि सार्न सकिन्छ भन्ने होइन । सही धारणा अध्ययन र अनुसन्धान तथा लामो समयसम्मको अनुभवले दिलाउने हो । परिपक्व नेता र सैद्धान्तिक ज्ञान भएका बुद्धिजिवीहरुले मात्रै सही निष्कर्ष निकाल्न सन्छ । सोच विचारले मानिसलाई परिचालन गरिने हो । नेकपाले पंचायती भूतले ग्रष्ट भएर मात्रै बागमती र हेटौडा नामाकरण गर्न चाहेको थियो । जहिले पनि एमाले र कांग्रेसको विपक्षमा उभिने नेमकिपा यो पालि किन हेटौडा र बागमतीमा गला मिलाए भनी सोच्नेहरुले पनि त्यसैगरी बुझे । वास्तवमा हेटौडा किन राजधानी गर्नु पर्ने हो र बागमती नाम नै किन दिनु पर्ने भयो भन्ने विषयमा नेकपा र कांग्रेसका सांसदहरुमा तर्क नै थिएन ।

Loading...