लिम्पियाधुरामा अविलम्व नेपाली झण्डा गाड्नुपर्नेः गोसाई

0
111

ठूला लगानीका सञ्चारमाध्यम शासकहरुको दबाब र प्रभावमा परी मिलेनियम च्यालेन्ज कर्पोरेसनको समर्थनमा

सुर्खेत । नेपाल मजदुर किसान पार्टीको ४६ औं स्थापना दिवसको अवसरमा नेमकिपा सुर्खेतले श्रमिक साप्ताहिक २७ औं वर्ष प्रवेशको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सोमबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा नेमकिपा, कर्णाली प्रदेश संयोजक तथा श्रमिक साप्ताहिकका प्रकाशक सरोजराज गोसाईले शासक वर्गले ठूला लगानीका सञ्चारमाध्यमका पत्रकारले शासकहरुको दबाब र प्रभावमा परी मिलेनियम च्यालेन्ज कर्पोरेसनको समर्थनमा लेख्न थालेको बताउनुभयो । उहाँले तथाकथित राष्टिय तथा मुलधारका पत्रिकाले काठमाडौंको समाचारमात्र लेखेको भन्दै जिल्ला तथा गाउँको वास्तविक समस्या उजागर गर्न नसकेको धारणा राख्नुभयो । उहाँले दुई तिहाइको सरकार प्रमुख आफ्नो असक्षमता ढाकछोप गर्न सम्पादकको मुटु नभएको भन्ने टिप्पणी गरेको भन्दै अधिकांश पत्रकार शासक वर्गकै समर्थक रहेको बिचार राख्नुभयो ।
संयोजक गोसाईले कर्णाली प्रदेश भौगोलिक रुपमा विकट भए पनि प्राकृतिक रुपमा समृद्ध रहेको तर शासक वर्गको नालायकीले गर्दा जनताले दुःख खप्न परेको भन्दै लिम्पियाधुरामा अविलम्व नेपाली झण्डा गाड्नुपर्ने तर्क गर्नुभयो । उहाँले मिचिएको भूमिसहित तत्काल नेपालको नक्सा सार्वजनिक गर्न माग गर्दै भूमि रक्षाको निम्ति अन्तर्राष्टिय अदालतमा मुद्दा हाल्नुपर्ने बिचार राख्नुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले श्रमिक साप्ताहकले श्रमिक वर्गीय आन्दोलनको पक्षमा लेख्दै आएको भन्दै आदर्श र सुसंस्कृत समाज स्थापना गर्न श्रमिकको भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।
केन्द्रीय सदस्य कोइरालाले नेमकिपाले पञ्चायती व्यवस्थाको विरुद्धको संघर्षमामात्र नभई प्रजातन्त्र र जनअधिकारको निम्ति सञ्चालित हरेक आन्दोलनमा सक्रिय सहभागी भएको बिचार राख्नुभयो । उहाँले नेमकिपाले जनमत संग्रहको उपयोगदेखि प्रतिक्रियावादी संघसंस्था भित्र गई जनताको सेवा गर्ने क्रान्तिकारी संसदवादी सिद्धान्तअनुसार निर्वाचनमा भाग लिएको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य जग्यबहादुर शाहीले कामदार वर्ग मुक्त नभएसम्म श्रमिक साप्ताहिकको महत्व रहने भन्दै देशघाती सन्धिसम्झौतामा नेपाली कांग्रेस र नेकपा एकै स्थानमा रहेको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, एमसीसी सम्झौतामा नेका र नेकपा एकै स्वरमा बोल्छन् । उद्योग निजीकरणमा एकै मत राख्छन् ।
नेमकिपा जुम्ला जिल्ला अध्यक्ष शिवलाल डाँगीले कर्णालीमा नेमकिपाले नै सबभन्दा पहिले क्रान्तिकारी झण्डा गाडेको भन्दै राजनीतिक परिवर्तनमा नेमकिपा अग्रपंक्तिमा रहेको बिचार राख्नुभयो ।
उहाँले पञ्चायती व्यवस्थाको निर्मम दमनविरुद्ध पटक्कै नझुकी संघर्ष गरेको इतिहास स्मरण गर्नुभयो ।
मध्यपश्चि विश्वविद्यालय, मानविकी शास्त्रका पूर्व डीन पीताम्वर ढकालले संघीयता र विकेन्द्रिकरणको वकालत गर्नेले कर्णाली प्रदेशका बैठक काठमाडौंमा गर्नु उपयुक्त नभएको भन्दै बजेट फ्रिज गर्नेले प्रदेशको बैठक प्रदेशभित्रै गर्नसक्थ्यो भन्नुभयो । उहाँले नागरिकमा चेतनाका अभाव हुँदा शासक पार्टीहरुले मनलागी गर्न पाएको धारणा राख्नुभयो ।
नेमकिपा सुर्खेत जिल्ला अध्यक्ष हरिबहादुर बोहराको सभापत्विमा सम्पन्न कार्यक्रममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विक, जिल्ला कोषाध्यक्ष गोविन्दनाथ योगी, वीरेन्द्रनगर नगर समितिका अध्यक्ष शेरबहादुर शाही, उपाध्यक्ष गणेश खड्का, नेपाल प्राध्यापक समाज, नेपाल क्रान्तिकारी महिला संघ सुर्खेत जिल्ला अध्यक्ष तुल्सी खड्का, सुर्खेतका सदस्य टीकाप्रसाद पोखरेल, नेपाल क्रान्तिकारी किसान संघका प्रेम थापामगर, नेपाल क्रान्तिकारी युवा संघका लालबहादुर थापा, नेमकिपा जिल्ला सदस्य अकलबहादुर राणालगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

Loading...
SHARE
Previous articleयहि माघ ९ गते भक्तपुरमा ध्यासी अर्थात भुत भगाईंदै
Next articleबृहत साँस्क्कृतिक कार्यक्रम सहित खार्पाचोकमा सप्ताहब्यापी ल्होछार मनाईने