भक्तपुरमा पहिलो पल्ट धल्चा भजनहरुको बिस्तृत अध्ययन प्रतिवेदन तयार

0
27

० कृष्ण प्रजापति
करिब ५०० वर्ष अगाडिदेखि निरन्तर चलिरहेको भजन बारे पहिलो पल्ट भक्तपुरमा अध्ययन गरिएको छ । गत वर्ष नेपालमण्डल टेलिभिजन च्यानलले उपत्यकाका सम्पूर्ण भजनहरुलाई समाबेश गरी उपत्यकाब्यापी भजन सम्मेलन गरी सुरु गरेको लगतै गत श्रावण महिनादेखि मंसीरसम्म ५ महिना लगाएर भक्तपुरमा प्रचलित भजनहरुको अध्ययन गरिएको हो । अध्ययनले तत्कालीन समयमा २०० वटा जति भजनहरु भएको भएपनि हाल भक्तपुरमा मुश्किलले मात्रै ५० वटा जति भजनको अस्तित्व रहेको देखाएको छ । जसमध्ये अध्ययनकर्ताले भने २९ वटा अर्थात् ५८ प्रतिशत भजनको मात्रै विवरण उल्लेख गर्न सकिएको छ । निकै पुराना भजनको चलन बोकेको भक्तपुरमा आजभन्दा २५० वर्ष अगाडि गोरखाका राजा पृथ्वीनारायण शाहले बन्दूक लिएर आइकन यहाँ आक्रमण गर्न आउँदा पनि भक्तपुरका राजा रजौताहरु भजन गरी बसेका थिए भनिन्छ । त्यसैले पनि नेवार समाजमा अहिले पनि ‘नेपः जुजुयाय् नँनँ ः गोरखा जुजुयाय् ध्वंध्वं’ भन्ने उखान प्रचलनमा आएको पाइन्छ ।
भजन र कीर्तन गर्नको लागि विभिन्न खालका देवालय शिवालय र मथ मन्दिरहरुको बन्दोबस्त भएको भक्तपुरलाई अनुसन्धानकर्ता जगदीश शमशेर राणाले ‘नाचगानको राजधानी’ भनी उल्लेख गरेका थिए । त्यसै अनुरुप भक्तपुरका एक राजनीतिक अगुवा नारायणमान बिजुक्छेँ रोहितले निकाल्नु भएको ‘सय वर्ष पछिको भक्तपुर’ भन्ने परिकल्पना पुस्तकमा पनि सो कुरा उल्लेख गर्नु भएको छ । नाच र गानको लागि भक्तपुर राजधानी हो भन्ने कुरा अहिलेसम्म रहेका विभिन्न नाच र भजनहरुले पनि प्रदर्शन गरिरहेका छन् । त्यसमा पनि पुराना र बुझ्न समेत अत्यन्तै कठीन रहेका मौलिक भजनहरुले यो कुराको पुष्टि गर्दछ । बिहान र बेलुका भजनहरु गाएर रमाउने नेवाः समाजको प्राचीन चलनलाई आधुनिक जगतले त्यति चासो देखाएको पाईदैन । तर टोल टोलमा भजनका लागि दबू, पाटी र भजनघरको बन्दोबस्त भने अहिले पनि छँदैछ । भक्तपुर गोल्मढीमा रहेको रामझपली, दतात्रयमा रहेको मन्दिर भित्रको भजन स्थल, पाटी, टौमढीको भैरव मन्दिर प्रांङनमा रहेको पाटी र दबू, नासमनामा रहेको भजनघर लगायत टोल टोलका पाटी पौवा यसै प्रयोजनका लागि बनाएका थिए ।
कुनै बखत जर्मन नागरिक डा. वाग्नरले भक्तपुरमा अस्तित्वमा रहेका भजनहरुको नाम र नाइकेको नाम संकलन गर्ने कार्य गरेको थियो । आज त्यो भन्दा ४० वर्ष पछि पुनः डा. इन्दुल के.सी.ले भक्तपुरमा प्रचलित भजनहरुको एक अध्ययन प्रतिवेदन तयार गर्नु भएको छ । त्यसमा हाल चलिरहेका साधारण नेपालभाषा बुझ्ने नागरिकले पनि सहजै बुझ्न सक्ने धल्चा भजनहरुको पनि अध्ययन भएको पाइन्छ । धल्चा भजनका लेखक तथा संकलन र धल्चा भजनलाई आजको रुपमा प्रतिस्थापित गर्ने भक्तपुर त्वाचा निवासी दलबहादुर प्रजापतिको केही वर्ष अगाडि निधन भैसकेको छ । त्यसको केही वर्षमा भएको यस अध्ययनले वहाँ जस्ता धल्चा भजनका सुरुवात गर्ने ब्यक्तिलाई पनि यहाँ सम्मान गर्न खोजिएको पाइन्छ । सयौं धल्चा भजनका लेखक वहाँले जनमानसले बुझ्ने भाषामा भजनहरुको लेखन र संकलन गर्नु भएको मात्रै होइन कि हस्तलिखित रुपमा फोटोकपी समेत बाँढ्ने र त्यसको लागि समिति निर्माण समेत गर्नु भएको थियो ।
भजन र संगीतको कुरा उठ्दा अध्ययनको सुरु गरेको स्थान भक्तपुर सूर्यमढी टोलको बाकुपति चाँगुनारायण नौबाजा भजन अगं्र पंक्तिमा आउँछ । जुन भजनको लागि यो लेखकले पनि दुई वटा थ्यासफू अर्थात भजनको पुस्तकहर पनि लेखेर प्रदान गरेको थियो । आफ्ना बुवा बुलाल प्रजापति सो भजन खलःको अभिन्न अंगको रुपमा निर्माण भएको चिभाः भजन खलःको नाइके वा प्रमुख छँदा २०५६ साल र २०५८ साल गरी दुई पल्ट दुई वटा भजनको पुस्तक वर्ष दिन लगाएर हस्तलिखित पत्र तयार गरेर भजनलाई निरन्तरता दिनको लागि सहयोगी भूमिका निभाएको कुरा यहाँ स्मरण गर्न चाहन्छु । त्यसैगरी भजनको लागि स्थान बनाउन नगरपालिकाले हालै पुनःनिर्माण गरेको पाटीमा बिहान बेलुकी भजन गायनमा निरन्तर सेवा गरिरहने मेरा बुवाले तौमढी , गोल्मढी, दत्रातय लगायतका विभिन्न स्थानहरुका अग्रजहरुलाई समेत भजन सिकाउने गर्नु भएको मात्रै होइन कि आफू कुनै पनि बाजा औपचारिक रुपमा नसिकेको वा नाथमा गएर अभ्यास समेत नगरेको भएपनि सम्पूर्ण खालको छालाको बाजामा पोख्त रहेको उल्लेखनीय छ । सोही कारण पछि वहाँलाई नयाँ पुस्ताका युवाहरु आएर धिमे, धाँ जस्ता छालाका बाजाहरु सिकाइदिनु प¥यो भनी आउँदा आफूले त सिकेको छैन भनी आफू भन्दा उमेरले अग्रज सबैलाई घरमा बोलाएर टोपी र बेताली (फेता) एउटा एउटा प्रदान गरी त्यसपछि घरमै दाफा भजनका साथै सम्पूर्ण बाजा सिकाउने गरेको यो लेखकलाई पूर्ण रुपमा ज्ञात छ ।
भक्तपुरको भजनको कुरा गर्दा पुराना भजन र नयाँ वा धल्चा भजन अलग्ग अलग्ग अध्ययन गर्नु आवश्यक थियो । किनभने धल्चा भजन भन्ने नयाँ खालको भजन ज्ञानमाला भजन जस्तै आधुनिक वा १०० वर्ष हाराहारी मात्रै पुरानो भजन हो । त्यस्तो खाले नयाँ भजन गाउने परम्परालाई नीति, नियम र जग्गा जमीनको समेत ब्यवस्था गरी मल्ल राजाहरुको पालामा स्थापना गरी तयार पारी प्रचलनमा ल्याएको परम्परागत प्राचीन भजनसंग संगै अध्ययन गर्दा कुनै खिचडी भएको महसुस भएको छ । अध्ययनकर्ताले त्यस विषयमा थप ध्यान दिनु आवश्यक देखिन्छ ।

भक्तपुरमा जहिले पनि र अहिले पनि त्यतिकै चल्दै आएको चिभाः भजन खलः बारे कुनै कुरा उल्लेख नहुँदा खल्लो महसुस भएको छ । प्राप्त विवरणका आधारमा मात्रै अध्ययन पूरा गरेकाले अध्ययनमा निकै धेरै त्रुटि देखिएका छन् । स्थलगत अध्ययन भनिएपनि फारम दिएर त्यतिकै संकलन गरी भजनहरुको नाम तयार गरेको देखिन्छ । यदि त्यसो होइन भने वाकुपति नारायण नौबाजा भजनको नाम उल्लेख हुने तर त्यो संगै पाटीमा रहेको अर्को भजन चिभाः भजन खलःको नाम समेत उल्लेख नभएको किन ? त्यसैगरी अध्ययनकर्ताले ब्रम्हायणी रास भजनलाई नेपाल संवत १०० देखि स्थापना भएको उल्लेख गर्नु भएको छ । त्यो हिसावले आज भन्दा १०४० वर्ष अगाडि नै उक्त भजनको अस्तित्व सुरु भएको हुनुप¥यो । तथ्य खोज्न अल्छि गरेकाले र भनेको भरमा वा फारममा उल्लेख भएको भरमा मात्रै सो कुरा उल्लेख गरेको पाइन्छ ।
भक्तपुरको मूल नासः द्यः वा नित्यनाथ आज भन्दा ४४२ वर्ष मात्रै अगाडि स्थापना भएको उल्लेख छ । नासः कुलांचामा रहेको अभिलेखबाट सो कुरा थाहा हुन्छ । नेपाल संवत ७९८ उल्लेख भएको सो नासद्यः संगै भक्तपुरको पूर्वी भेगमा भजन कीर्तन र गायनको परम्परा सुरु भएको देखिन आउँछ । करिब ५०० वर्ष अगाडिदेखि भक्तपुरमा हाल प्रचलनमा रहेका भजनहरुको सुरुवात भएको पाइन्छ । दाफा भजन खलःहरु भने २०० वर्ष अगाडिदेखि सञ्चालनमा आएको भनी उल्लेख गरेकोलाई मनासिब मान्न सकिन्छ । अधिकांश भजनहरुको स्थापना २०० वर्ष वरपर देखिएकाले पनि १०४० वर्ष अगाडि नै उक्त स्थानमा भजनको अस्तित्व भएको कुरालाई भने पत्याउन गाह्रो छ । अध्ययनबाट पछि इतिहास कोर्ने भएकाले पनि अध्ययन गर्नेले अलि बढी सोधखोज गर्नु पर्ने देखिन्छ । भक्तपुरको माथिल्लो भागमा अहिले पनि भजनका ज्ञाताको रुपमा लक्ष्मीनारायण कुसी जिउँदै छ । त्यसैगरी तेह्रौं शताब्दीमा आनन्ददेवले भक्तपुर शहरको सुरुवात गरेको कुरा उल्लेख भएकाले पनि त्यो भन्दा अगाडि अर्थात् नवौ शताब्दीदेखि भजन सुरु भयो भनी उल्लेख गर्नुलाई त्रुति नभनी बसिरहन सकिन्न ।
अन्त्यमा, भक्तपुरमा भजन र कीर्तनका बारे अध्ययन अनुसन्धान नभइरहेको बेलामा भएको यो ब्यक्तिगत प्रयासलाई उच्च मूल्यांकन गर्नु पर्दछ । तर पनि हामीले सही र गलत छुट्याएर अध्ययन गर्न सकेको खण्डमा मात्रै अध्ययनको महत्व रहने कुरामा भने दुई मत रहन्न । भक्तपुरको भजनको अध्ययन गर्नका लागि २० वर्ष नागेका, ४० वर्ष नागेका, ६० वर्ष नागेका र ८० वर्ष नागेका टोली बनाएर उनीहरुसंग विभिन्न परामर्श लिएर मात्रै सो कुरा थालेको भए अझ राम्रो निष्कर्ष निकाल्न सकिने थियो । आगामी थप अध्ययन अनुसन्धानमा टोल टोलका बुढापाकाहरु र भजनका अगुवाहरुकोसमेत नाम उल्लेख गर्ने गरी बाँकी कार्यहरुलाई पूर्णता दिन सकेको खण्डमा सुनमा सुगन्ध हुने देखिन्छ ।

Loading...