अकस्मात् किन रोकियो एसईई ?

0
18

भक्तपुर । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तिम समयमा आएर रोकेको छ । सरकारले बिहीबार सुरु हुने एसईई परीक्षा स्थगित गर्ने निर्णय बुधबार बेलुका मात्रै गरेको छ ।

बुधबार बोलाइएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकपछि सरकारले एसईई रोक्ने निर्णय गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।

यसअघि बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले भने परीक्षा सुरक्षित एवं व्यवस्थित रूपमा सम्पन्न गर्ने गरी प्रत्येक केन्द्रमा स्वास्थ्य जाँचसहितको हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको थियो । तर, बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने बताएको थियो ।

तर, साँझ प्रधामन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकपछि सरकारले एसईई परीक्षा रोक्ने निर्णय लियो । एसईई रोक्ने निर्णय प्रधामन्त्री केपी शर्मा ओलीको पहलमा लिइएको हो ।

नेकपा सचिवालय स्रोतका अनुसार एसईई रोक्ने बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो रखेका थिए । उनले सबैभन्दा पहिला विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस त्रासका बीच एसईई के हुन्छ भनेर सोधेका थिए । यस्तो अवस्थामा एसईई कसरी चल्छ भन्दै प्रश्‍न पनि गरेका थिए ।

प्रधामन्त्रीले चासो राखेपछि सचिवालयका अधिकांश सदस्यले उपप्रधानमन्त्रीसमेत रहेका सचिवालय सदस्य पोखरेललाई एसईई स्थगन गर्न सुझाव दिएका थिए । सुझावलगत्तै पोखरेलले गरेको यो निर्णय शिक्षामन्त्रीले सञ्चारमाध्यमबाट थाहा पाएको भन्दै गुनासोसमेत गरेका छन् ।

प्रधानमन्त्री ओलीले एसईई परीक्षा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको उपप्रधानमन्त्री पोखरेलले बताए । उनका अनुसार अर्को सूचना जारी नहुँदासम्मका लागि परीक्षा स्थगन भएको हो ।

एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुँदै छन् । विद्यार्थीहरू भोलिबाट सुरु हुन परीक्षाको तयारी पूरा गरेर बसेका थिए । परीक्षा बोर्डले स्वास्थ्यकर्मीसहित परीक्षाको सम्पूर्ण तयारी पूरा भएको जनाएको थियो ।

नेकपा सचिवालय बैठकमा कोरोना त्रासको प्रभाव देखिन्थ्यो। बैठकमा उपस्थित सबै सदस्यले माक्स लगाएर सहभागिता जनाएका थिए । शिलापत्रबाट

Loading...
SHARE
Previous articleविश्वविद्यालयका परीक्षा पनि स्थगित
Next articleसिञ्जा गाउँपालिकाका अध्यक्षलाई धुलाई