भक्तपुरबाट ५७३६ जनाले एसईई दिँदै, प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेक्स र आइसोलेन कक्ष

0
30

भक्तपुर : माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुने भक्तपुरका प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेक्ससहितको आइसोलेसन कक्षको व्यवस्था गरिने भएको छ । हेल्थ डेक्सले परीक्षा दिन आएका परीक्षार्थीलाई ज्वरो वा रुघाखोकी भए नभएको जाँच गर्नेछ । उक्त जाँचमा ज्वरो वा रुघाखोकी आए ती परीक्षार्थीलाई आइसोलेसन कक्षमा राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।

भक्तपुरस्थित जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेक्स र आइसोलेसन कक्ष सञ्चालनमा ल्याउने निर्णय गरेको हो । जसअनुसार भक्तपुरका २३ वटा परीक्षा केन्द्रमा हेल्थ डेक्स र आइसोलेसन कक्षको व्यवस्था हुने शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जनाएको छ ।

केन्द्रका प्रमुख खेमराज पोखरेलले जिल्ला स्वास्थ्य कार्यालयको संयोजनमा भक्तपुरका २३ वटै परीक्षा केन्द्रमा स्वास्थ्यकर्मीसहितको हेल्थ डेक्स र आइसोलेसन कक्षको व्यवस्था गरिने बताए ।

‘हेल्थ डेक्सले परीक्षार्थीमा ज्वरो आए नआएको तथा रुघाखोकी भए नभएको जाँच गर्नेछ, ‘उनले भने, ‘जाँचको क्रममा कसैलाई ज्वरो वा रुघाखोकीको लक्षण देखिएको उनलाई आइसोलेसन कक्षमा राखेर परीक्षा दिलाइनेछ ।’

परीक्षार्थीले परीक्षा दिन नसक्ने बताएमात्रै उनलाई फिर्ता गरिने उनको भनाइ थियो ।प्रमुख पोखरेलले हेल्थ डेक्समा ज्वरो, रुघाखोकीका औषधिको समेत व्यवस्था हुने स्पष्ट पारे ।

बिहीबारदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु हुँदैछ । भक्तपुरका ५ हजार ७ सय ३६ विद्यार्थीले एसईई दिँदैछन् । जिल्लाका १ सय ९० विद्यालयका परीक्षार्थीका लागि भक्तपुरमा २३ वटा परीक्षा केन्द्र निर्धारण गरेका छन् । जसअनुसार सबैभन्दा बढी भक्तपुर नगर क्षेत्रमा ११, मध्यपुर थिमि क्षेत्रमा ८ र चाँगुनारायण तथा सूर्यविनायक नपाका दुईदुई वटा परीक्षा केन्द्र तोकिएका छन् ।

जसअनुसार भक्तपुर नगर क्षेत्रमा वागीश्वरी मावि, सरस्वती विद्यागृह मावि, आदर्श आजाद मावि, शान्ति निकेतन मावि, मेधा मावि, विद्यार्थी निकेतन मावि, पद्म मावि, शारदा मावि, बासु मावि, प्रभात इंगलिस सेकेण्डरी स्कुल र एभरेस्ट इंगलिस स्कुलमा परीक्षा केन्द्र तोकिएको छ ।

त्यस्तै मध्यपुर थिमि नगर क्षेत्रमा भक्तपुर इंगलिस मावि, आदर्श मावि, गणेश मावि, बोडे मावि, एसओएस हर्मन माइनर मावि, आदर्श जनप्रेमी मावि, चाणक्य मावि र बालसुधार गृह माविमा केन्द्र निर्धारण गरिएको छ ।

सूर्यविनायक नपाका परीक्षार्थीका लागि अरनिको मावि र महेन्द्र शान्ति मावि तथा चाँगुनारायण नपा क्षेत्रको लागि चाँगुनारायण मावि र कृष्ण माविमा परीक्षा केन्द्र तोकिएको छ । एसईईमा प्राविधिक धारतर्फ भक्तपुरका ८१ परीक्षार्थी सहभागी हुने प्रमुख पोखरेलले बताए । उनका अनुसार साधारणतर्फ ५ हजार ६ सय ६५ परीक्षार्थी रहेका छन् ।

प्रमुख पोखरेलले एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको सुनाए । सम्पूर्ण परीक्षा केन्द्रका परीक्षा पुस्तिका तथा प्रश्नपत्र पुर्‍याइसकिएको उनको भनाइ थियो ।

Loading...